धरान : भोजपुर षडानन्द ९, दिङ्लाका ४५ बर्षीय भिमबहादुर तामाङलाई असोज ४ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइपुर्याउदा उनलाई हर्ट अट्याक(हृदयघात) भएको २४ घण्टा बितिसकेको थियो ।

हृदयघात भएपछि जतिसक्दो चाडो अस्पताल पुर्याउनुपर्छ । भोजपुरको दुर्गम ठाउँबाट धरान पुग्दा धेरै समय लागेको थियो । बीपी आइपुग्दा तामाङको होस पनि राम्रो थिएन । डा.प्रशान्त साह र उनको टिम उपचारमा जुट्दा तामाङको ज्यान बचाउन सकिन्छ कि सकिदैन भन्ने निश्चित थिएन । डा.साहका अनुसार उनको मुटुको धडकन २० मात्र थियो भने फोक्सोमा पानी जम्न थालिसकेको थियो । अक्सिजनको मात्रा पनि ज्यादै कम थियो । परिवारका सदस्यहरु काठमाण्डौं वा दिल्ली लैजादा पो हुन्छ कि भन्दै थिए । यो अवस्थामा त्यता पठाउन पनि सम्भव थिएन ।

हर्ट अट्याक भएर आएकाहरुमध्ये १५ प्रतिशतको उपचारको क्रममा नै ज्यान जाने गरेको छ । तामाङ त झन् जोखिम अवस्थामा आइपुगेका थिए । डाक्टरलाई पनि उनलाई बचाउन सकिएला कि नसकिएला भनेर भन्न गाह्रो थियो । तिनै मुटुका विरामी तामाङ बुधबार भने सकुशल भेटिए । त्यतिमात्र होइन, उनी नर्मल व्यक्ति झै हिडडुल गर्न सक्ने भएपछि अस्पतालबाट पनि डिस्चार्ज भए । बच्छ कि बच्दैन भन्ने अवस्थाबाट उपचारपछि सामान्य भएका तामाङ र उनका परिवारले बुधबार डिस्चार्ज भएपछि तिनै डाक्टर प्रशान्त साहलाई क्याथ ल्याबमा भेट्न पुगे । जसले ससुराली जादै गरेको अवस्थामा पनि फर्किएर तामाङको उपचारमा जुटेका थिए । उनले विरामी र उपचार सेवामा पुर्याएको समर्पण भावकै कारण तामाङको ज्यान जोगिएको थियो । तामाङ र उनका परिवारले डा.साहलाई घर फर्किनुअघि बुधबार सम्मान गरे ।

मुटु रोगी तामाङ र उनका परिवार, आफन्तजनले डा.साहलाई खादा ओढाएर धन्यवाद दिए । मायाको चिनो स्वरुप बुद्धको प्रतिमा पनि प्रदान गरे । ‘म बच्छु भन्ने आशा कसैलाई थिएनछ, उहाँ मेरो लागि भगवान भन्दा पनि ठुलो व्यक्ति भएर आइदिनुभयो, यो गुन म यो जुनि मात्र होइन, कयौं जुनिसम्म म र मेरो परिवारले विर्सने छैन,’सम्मान गर्दै तामाङले भने,‘म उहाँको फोटोलाई ठुलो बनाएर घरमा राख्छु, र गाउँभरि प्रचार गर्छु । यहाँ यस्तो राम्रो उपचार हुदो रहेछ ।’

डा. साहका अनुसार तामाङको मुटुमा रगत लैजाने धमनी सतप्रतिशत ब्लक भएको थियो । मुटुमा कृत्रिम पेसमेकर राखेर आफु र आफ्नो टिम निरन्तर उपचारमा जुट्दा र भगवानको कृपाले गर्दा पनि तामाङ बच्न सफल भएको डा.साहले बताए । ‘हाम्रो टिमको निरन्तरको प्रयास र भगवानको कृपाले पनि उहाँलाई बचाउन सक्यौं, अहिले धेरै सुधार भयो र अवस्था नर्मल छ,’डा.साहले भने,‘यो उहाँ र परिवारको लागि खुशीको कुरा हो, हाम्रो लागि गर्वको कुरा हो ।’ डा. साह भारतको एम्सबाट कार्डियोलोजीमा डि.एम. कोर्ष गरेर आएका बिशेषज्ञ चिकित्सक हुन् । उनी एम्समा पढेर आएपछि प्रतिष्ठानले विगत ३ बर्षदेख एनजिओग्राफी, एनजिओप्लाष्टिकलगायत उपचार सेवा दिइरहेका छन् । प्रतिष्ठानमा ओपन हर्ट(वाइपास) सर्जरी सेवा पनि भइरहेको छ । डा.लोकेश जैयसवालले वाइपास(ओपन हर्ट) सर्जरी गर्छन् । जसले गर्दा अब पुर्वका मुटु रोगीहरु काठमाण्डौं, दिल्लीतिर उपचार गर्न जानुपदैन । ‘मुटुको लागि सबै सेवा हामी बीपीमा नै दिन्छौं, काठमाण्डौं, दिल्लीतिर जानुपर्दैन,’उनले भने ।