काठमाडौँ : दशैँ सुरु हुने बित्तिकै मान्छेले दुईवटा कुरामात्र सम्झन्छन्, लुगाफाटा कि मासु । बजारमा अहिले यी दुइटा कुराको मात्र चर्चा छ । दशैँमा अरु बेलाको तुलनामा नेपाली उपभोक्ताले १० गुणा बढी मासु खान्छन् ।

अरु बेला नखाए पनि दशैँमा ऋण गरेर भए पनि मासु खान्छन् । नेपालीको आयस्रोत कम भए पनि अर्बौं रुपियाँ मासुमा मात्र खर्च गर्ने गरेको देखिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार देशभर मासुका रूपमा मासिक चार लाख ३० हजार खसीबोका खपत हुने गरेका छन् ।

त्यसमध्ये तीन लाख ८४ हजार २०२ खसीबोका स्वदेशमै उत्पादन हुन्छ । बाँकी विदेशबाट आयात हुन्छन् । विदेशबाट आयात हुने खासीबोकामध्ये अधिकांश भारतको हुन्छ ।

सरदर एउटा खसी ३० केजीको हुन्छ । र ३० केजी खसीबाट सरदर २०–२४ केजी मासु तयारी अवस्थामा निस्कन्छ । माछा मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्गी भन्नुहुन्छ, अरु दिनको तुलनामा दशैँमा राजधानीमा मात्र चार गुणा बढी मासु बिक्री हुन्छ । त्यस्तै अरुबेला तीन लाख केजी कुखुराको मासु बिक्री हुन्छ भने दशैँमा एकचोटी तीन गुणा बढेर नौ लाख केजीसम्म पुग्छ ।

देशभर चार लाख ३० हजार खसीबोका खपत हुन्छ भने त्यसबाट सरदर एक करोड तीन लाख १९ हजार केजी मासु तयार हुने गरेको तथ्याङ्कले देखाउँछ । बजारमा औसतमा नौ सय रुपियाँको प्रतिकेजीको दरले मासु बिक्री हुन्छ भने नौ अर्ब २८ करोड ७१ लाख रुपियाँको मासु खान्छन् नेपाली उपभोक्ता । दशैँमा त्यसको १० गुणा खपतको हिसाब गर्दा ९२ अर्ब रुपियाँभन्दा बढीको मासु खान्छन् । राँगाको हिसाब बाँकी नै छ । अरु बेला राजधानीमा मात्र राँगा ४००–५०० वटा काटिन्छ भने दशैँमा ११ सयदेखि १२ सयसम्म पुग्छ ।

चौपाया खरिद बिक्री सेवा सङ्घका संरक्षक दीपक थापाकाअनुसार विगतको तुलनामा मासु खानेको सङ्ख्या बढेको छ । जनसङ्ख्या वृद्धिसँगै खाने परिकारका कारण मासुको खपत बढेको छ । पहिला मासुको झोल पकाएर मात्र खाने नेपाली उपभोक्ता अहिले त्यसको विभिन्न परिकार पकाएर खान थालेका छन् । त्यसले गर्दा मासुको बिक्री बढेको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा सरदर महिनाको ३७ करोड मूल्य बराबरको खसीबोका आयात हुन्छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा मात्र त्यति मूल्य बराबरको खसी बोका आएको हो । विदेशबाट खसी बोका मात्र होइन मासु पनि आयात हुने गरेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा मात्र तीन करोड ५१ लाख ३९ हजार मूल्य बराबरको खसीबोकाको मासु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
कस्तो मासु खाने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्छ, दशैँमा थोरै खाऔँ तर गुणस्तर मासु खाऔँ । विभागका महानिर्देशक सञ्जिव कर्ण भन्नुहुन्छ, दशैँमा सबैभन्दा बढी खसीबोकाको मासु खपत हुन्छ । खानेबेलामा सजगता अपनाइएन भने अस्वस्थकर मासु खान सकिन्छ त्यसैले यो बेलामा सचेत भएर मासु खरिद गर्नुपर्छ । वरिष्ठ खाद्य विज्ञ एवं नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घ (नेफोस्टा) का अध्यक्ष नवराज उपाध्यायले पर्व तिहारको समयमा खानपिनमा सजगता अपनाउनुपर्ने बताउनुभयो । यो बेलामा बढी खपत हुने भएकाले जथाभावी बिक्री वितरण गरिरहेको हुन्छ जसले गर्दा अस्वस्थकर खानेकुरा पर्न सक्ने उहाँले बताउनुभयो ।

खसीबोका ढुवानी गरेर ल्याउने बित्तिकै काटेर खानु स्वास्थ्यका लागि हितकर नहुने बताउँदै उहाँले यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ढुवानी गरी ल्याएका खसी कम्तीमा २४ घण्टापछि मात्र काटेर मासु खानुपर्ने सुझाव दिनुभयो । अर्को कुरा बधशालामा सुधार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, जथाभावी खसीबोका काट्नाले त्यो अस्वस्थकर हुने गरेको छ, त्यसलाई सरकारले तत्कालै रोक्नुपर्छ । सकभर रातो र बोसोयुक्त मासु खान नहुने उहाँको सुझाव छ । मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खान सुझाव दिँदै उहाँले राम्रोसँग नपाकेको मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने जस्ता समस्या हुन सक्ने बताउनुभयो ।

कृषिमन्त्री चक्रपाणि खनाल राजधानीमा पाइने अधिकांश मासु अस्वस्थकर रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, अरु मासुको तुलनामा खसीबोकाको मासु ठीकै छ तर राँगाको मासुको अवस्था दर्दनाक छ । केही दिन पहिले राँगा काट्ने पाँचवटा ठाउँको अनुगमन गर्दा चारवटामा ताला नै लगाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

कृषि मन्त्रालयले हालै उपत्यकामा गरेको एक सर्भेक्षणअनुसार अधिकांश मासु पसलको मासु अस्वस्थकर रहेको पाइएको छ । उपत्यकाका एक सयभन्दा बढी पसलमा गरेका अध्ययनमध्ये १० प्रतिशत पसलको मासुमात्र खान योग्य रहेको छ ।

विभागका पूर्वमहानिर्देशक एवं नेफोस्टाका पूर्वअध्यक्ष जीवनप्रभा लामाले भन्नुभयो, फ्रिजमा राखिएको मासुमा पनि तापक्रम नमिलेर त्यसभित्र पानी जम्न सक्छ । त्यो मासु खाँदा स्वास्थ्यलाई हानी गर्छ । दशैँको बेला उपभोक्ताले मासुलाई फ्रिजमा राखेर खाइरहेका हुन्छन् । यदी त्यसलाई ठीक ढङ्गबाट राख्न जानिएन भने मासु अस्वस्थकर हुनजान्छ ।