मसँग हिँड्ने केही कसैले दुर्घटना निम्त्याएमा मेरो जबाफदेहिता हुँदैन : नगर प्रमुख साम्पाङ
धरान : आर्थिक वर्ष २०८२/०८२ सुरु भएको दुई महिना पछि बल्ल आज बिहीबार असोज २ गते धरान उपमहानगरपालिका कार्यपालिकाले असोज ४ गते नगर सभामा पेस गर्न बजेट पास गरेको छ ।
बजेटमा लामो विवाद भई समयमा पारित हुन नसक्दा ३ महिना देखी कर्मचारीले तलब पाएका छैनन् । नगरपालिका मार्फत सङ्घीय सरकारको अनुदानबाट वितरण हुने शिक्षकहरूको तलब पनि ३ महिना देखी रोकिएको थियो ।
बजेट आइतबार बोलाइको १७औँ नगर सभामा प्रस्तुत हुने भएको छ । कानुन अनुसार असार १० गते प्रस्तुत गर्नु पर्ने बजेट नीति तथा कार्यक्रम २ महिना पछि हुने भएको हो ।
बजेट २ अर्ब २० करोड
चालु आर्थिक वर्ष २०८२/०८३ उपमहानगरपालिकाले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको अनुमानित बजेट तयार गरेको छ ।
बजेट गत आर्थिक वर्ष ०८१/०८२ को भन्दा ३१ करोड ३१ लाख १० हजार ७ सय २० बढी अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट कुल एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँको थियो ।
यसअघि बनेको विवादास्पद बजेटमा पुँजीगत खर्चबाट १० प्रतिशत घटाउने प्रस्तावलाई पारित गर्दै पुँजीगतबाट १० करोड रकम घटाइएको छ ।
बजेटमा भौतिक पूर्वाधार विकास तर्फ ९७ वटा विकास निर्माणको योजनामा कुल १ अर्ब प्रस्ताव भएकोमा त्यसबाट घटाएर हाल कुल ९० करोड प्रस्ताव गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७४ लाख ५० हजार, सुशासन तथा विकासमा १ करोड ८ लाख बजेट विनियोजन गरिएको छ ।
सहिद मेवाहाङलाई ५ लाख
कार्यपालिका बैठकले जेन-जी आन्दोलनमा काठमाण्डौमा शहदत प्राप्त गरेका धरान-५ का साजन मेवाहाङलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । उक्त रकम मोवाहाङका २ छोरा र छोरीको पढाई खर्चका लागि शैक्षिक कोष खडा गर्ने गरी सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।
बैठकले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेको शहिदरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ।
बैठकले आर्थिक विधेयक २०८२ र विनियोजन २०८२ र पूर्वाधार सडक उपयोग सेवा शुल्क, कवाडी जडीबुटी तथा जीवजन्तु कर, न्यायिक समिति र सार्वजनिक लेखा समिति प्रतिवेदन सामान्य छलफल गरी पारित गरेको छ ।
कर्मचारी सङ्गठन संरचना सम्बन्धी प्रस्ताव पास भने भएन । उक्त प्रस्ताव नगरसभा भन्दा अगाडी कार्यपालिका बैठक बसी पास गरिने भएको छ ।
तोडफोड, आगजनीका नायक नगर प्रमुखका मानिस
कार्यपालिका बैठकमा उपप्रमुख अईन्द्र विक्रम बेघा, धरान-१७ का अध्यक्ष सूर्य बहादुर भट्टराई, धरान-१३ अध्यक्ष नेत्र काफ्ले लगायतले धरानमा भएको तोडफोड आगलागीको घटनामा नगर प्रमुखको नेतृत्वमा कार्यदल गठन गरी अवलोकन गरेर क्षतिपूर्ति दिनु पर्ने प्रस्ताव राखेका थिए ।
वडाध्यक्ष भट्टराईले बैठकमा तोडफोड र अगालागीको मुख्य नायक मिलन बान्तवा, ज्ञानु चाम्लिङ, मीना सिङ्गक लगायत नगर प्रमुखकै दाहिने हात भएको बताएका थिए । उनले भने ‘नगरप्रमुखले कानुनी राज्यको पालना गर्दे घटनामा भएको दोषीहरूलाई कार्यवाही गर्नुपर्छ ।’
नगरप्रमुख साम्पाङले घटना साम्य बनाउन आफ्नो ठुलो भूमिका रहेको दाबी गर्दै जेनजीको आन्दोलनमा आफू सहभागी भएपछि धरानका कुनै पनि सरकारी कार्यालय तोडफोड नभएको बताए ।
आफूसँग हिँड्ने केही कसैले दुर्घटना निम्त्याएमा आफ्नो जबाफदेहिता नहुने नगर प्रमुख साम्पाङले बताए । उनले भने ‘कानुनी राज्यमा कानुनको पालना गर्दे सबै दोषी उपर कारबाही हुनुपर्छ ।’
उनले काँग्रेसको पार्टी कार्यालयको विपीको मूर्ति फोड गर्ने को थिए ? भनी प्रश्न गर्दै भने ‘एक अर्काको पार्टी कार्यकर्तालाई पहिला कारबाही गर्ने हो ?’