इटहरी:२०७५ कात्तिक २६ गते इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरी वडा नं. १३ का तत्कालिन वडासचिव बालकुमार पोखरेल र वडा नं. १९ का सचिव सञ्जीव खड्काले प्रयोग गर्दै आएको सेतो नम्बर प्लेटको मोटरसाईकलको चाबी खोसे ।

उनले सबै वडा सचिवलाई बाईक नभएको र इटहरी उपमहानगरपालिकाको योजना शाखामा भने बाईकको आवश्यक परिरहेकाले बाईक खोसेको बताए । यसअघि पटक–पटक वडा सचिवलाई बाईक बुझाउन आग्रह गरेपनि बाईक नबुझाएपछि खोस्न बाध्य भएको मेयर चौधरीले बताए । मेयर चौधरीले मोटरसाईकलको चाबी मात्रै खोसेनन्, सामाजिक सञ्जालमा इटहरी वडा नं. १९ का तत्कालिन वडासचिव सञ्जीव खड्काको घर राखेर स्टाटस लेख्दै एउटा कर्मचारीले ठूलो घर बनाउन नसक्ने उल्लेख गरे । उनले लेखे–‘एउटा कर्मचारीको तलबले यति ठूलो घर बन्छ ?’

००००

२०७५ वैशाख २६ गते चौधरीले इलाका प्रहरी कार्यालय इटहरीमा ३ जना सर्वसाधारणबिरुद्ध जाहेरी दिए । इटहरी वडा नं. ५ तुलसा टोलका बासिन्दाले खेतीखोला संरक्षण गर्नका लागि सिफारिस लिएर आउँदा मेयरले तर्केर हिडेँपछि स्थानीय मानिसले घेरा हालेर सिफारिसमा हस्ताक्षर गर्नुपर्ने बताएका थिए । तर, मेयर चौधरीले आँफूमाथि दुव्र्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरे । स्थानीय पूर्णकृष्ण श्रेष्ठ, राजकुमार खड्का र सन्तोष अधिकारीबिरुद्व सार्वजनिक मुद्दा दायर गरेर प्रहरीलाई पक्राउ गर्न लगाए ।
००००
इटहरी २ का मानबहादुर भुजेललाई गत कात्तिक १७ गते एउटा खुशी थपियो । त्यो खुशी थियो इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आँफूलाई जागिर दिने वचन । इटहरीको जनता बहुमुखी क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत भुजेलले आफूँले जागिर पाउने भएपछि निकै हर्षित भए । तर, उनको त्यो हर्ष दीर्घकालीन हुन सकेन । क्षणिक समयका लागि मात्रै हर्षित बन्नुप¥यो भुजेलले । मेयर चौधरीले दिने भनेको जागिर अहिलेसम्म भुजेलले नपाएपछि उनी यतिबला निराश त छन् नै तर त्यो भन्दा बढी पीडा उनलाई मेयरले दिएको झुठो आश्वासनले भएको छ । उनी शारीरिक अपाङ्ग हुन् । सानै उमेरदेखि पोलियो रोगले च्यापेपनि आफ्नो अध्ययनलाई निरन्तरता दिदैँ आएका छन् ।
००००
२०७६ जेठ ८ गते इटहरी उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कलाई भ्रष्टाचारी भन्दै उपमहानगरपालिका परिसरबाट मेयर चौधरीले गलत्याएर निकाले । सब ओभरसियर खड्काले सेवाग्राही रीता पोखरेलसँग घुस लिएको भन्दै गलत्याएर निकाले । पीडित भनिएकी पोखरेलले भने २०७५ बैशाखमै घर सम्पन्न गरेको र घुस नदिएको स्वयम् बताईन् । वैशाखमा घर बनाएकी पोखरेलले बताएसँगै उनै पोखरेलसँग घुस लिएको भन्दै निकालिएका खड्का भने २०७५ साउनमा मात्रै इटहरी उपमहानगरपालिकामा आएको पुष्टि भईसक्यो ।

२०७५ वैशाख २४ गते घर सम्पन्न भएको प्रमाण लिदाँ खड्काको स्थानमा मनोज चौधरी रहेको भएपनि अपुष्ट प्रमाणका आधारमा दुव्र्यवहार गरिनु खेदजनक भएको कर्मचारीहरु बताउँदै आएका छन् । मेयर चौधरीले भ्रष्टाचार गरेको ठहर भएमा कानुन अनुसार कारबाही गर्नपर्ने भएपनि सार्वजनिक रुपमा दुव्र्यवहार गर्नु अनैतिक रहेको कर्मचारीको भनाई रहेको छ ।

मेयर चौधरीले सब ओभरसियरलाई दुव्र्यवहार गरेकै दिन इटहरी १९ नं. का वडा सचिव मनोज दाहाललाई उपमहानगरपालिकाको कार्यालयमा बोलाएर हातपात गरे । भ्रष्टाचार गरेको भन्दै उनले दाहाललाई आफ्नै कार्यालयमा बोलाएर सीसी क्यामेरा बन्द गरि हातपात गरेको आरोप लागेको छ । कर्मचारीमाथि हातपात गर्नु गलत रहेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिए । आन्दोलनमा उत्रिएपछि मेयर चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय बिकल रेग्मी र कृष्ण बहाब भट्टराईमाथि सोही दिन उनले दुव्र्यवहार गरे । करीब १० मिनेट सम्म भएको कुराकानीमा मेयर चौधरीले पत्रकार भट्टराईलाई आफ्नो छोराको उमेरसँग तुलना गर्दै लोपारे ।

उनले पत्रकारलाई लोपारेपछि तीब्र आलोचना भयो । सामाजिक सञ्जालमा तीब्र आलोचना भएपछि मेयर चौधरीले हातले मात्र नभएर अब लातले नै हान्ने भन्दै गैरजिम्मेवारी पूर्ण जवाफ दिए । उनको यो अभिव्यक्तिले पनि आम मानिसमा चौधरी प्रतिको हेराई फरक रहेको छ । सामाजिक सञ्जालमा पनि मेयर चौधरीले तल्लो स्तरको गाली गलौज गर्दै कमेन्ट लेखे ।

itari-mayor

रमेश पोखरेलले एउटा स्टाटसमा कमेन्ट गर्दै लेखे–‘उदेश्य कसरी गलत छैन, सिएफएल काण्डमा अख्तियारमा यहि बयान दिएको भए हुँदैनथ्यो ? मेयर साबले बोल्ने हैन, गर्ने हो । भ्रष्टाचार भएको छ भने ग्रेड रोक्ने, बर्खास्त गर्ने, स्पष्टिकरण सोध्ने प्रक्रियाहरु छैनन् ?’ सोही कमेन्टको तल रिप्लाई दिदैँ मेयर चौधरीले लेखे–‘रमेश पोखरेल तैँले सिकाउनु पर्छ ?’ त्यस्तै सामाजिक सञ्जालमै उमेश पोखरेलले आफ्नो पदको हेक्का नभई हातपात गर्नु दादागिरी रहेको र मानसिक रोगी भएको ईङ्गित गर्दै उपचार गराउनु पर्ने लेख्दा मेयर चौधरीले तल्लो स्तरमा उत्रिदैँ लेखे–‘तेरो बाउको उपचार गर ।’
००००
भ्रष्टचारमुक्त अभियान राम्रो तर प्रक्रिया गलत

karmachari-aandolan 1

इटहरी एउटा विकसित नगरका रुपमा उदाउँदै गरेको सहर हो । तर, नगरप्रमुख नै यस्ता काममा अल्झिएका कारण भने सर्बसाधारण मानिसहरु निराश बनेका छन् । नगरप्रमुख नै सामाजिक सञ्जालमा तल्लो स्तरको गाली गलौज र हातपातमा संलग्न हुनुले जनप्रतिनिधिहरु उत्तरदायी नभएको औल्याउँन सकिन्छ ।
नगरको अभिभावकत्व गर्ने नगरप्रमुख नै यस्ता साना कुरामा अल्झदाँ काममा बाधा त हुन्छ नै तर आम मानिसमा पनि नकारात्मक असर पर्ने गरेको छ । यसका निम्ति अभिभावकत्व गर्ने नगरप्रमुखले गम्भीर भएर सोच्नु आवश्यक छ । यस्त घटना दोहोरिन नदिनका लागि र यहाँको समग्र विकासका निम्ति नगरप्रमुखको परिपक्क व्यवहार हुन आवश्यक छ । ‘उपमहानगरपालिकाको जनप्रतिनिधि भनेको ऐन कानुनलाई कार्यान्वयन गराउने जिम्मेवारी व्यक्ति हुन्,’ अधिवक्ता समेत रहेका रमेश पोखरेलले भने,‘अस्तिका गतिविधि गर्नुका कारण के हुन् बुझ्न सकिएन, मेयर साबले जुन गतिविधि गर्नुभयो उहाँ अपरिपक्क रहेको पुष्टि हुन्छ ।’

भ्रष्टाचार भएको पुष्टि नै नगरी जथाभावी बोल्दै हिड्नु र दुव्र्यवहार गर्नु पदीय हिसाबले ठिक नभएको उनको टिप्पणी छ । अनुसन्धान गरेर दोषी देखिए कानुनी कारबाही गर्ने बाटो छ । ‘कि मेयर साबले मैले जथाभावी बोल्दै हिड्छु भन्नुपर्यो, होईन भने उहाँको यो अपरिपक्कताले अहिले आँफै अफ्ट्यारो अवस्थामा हुनुहुन्छ,’उनले भने, ‘कर्मचारीहरुले पनि नगरपालिकामा जाँदा काम नगर्ने र अल्झाउने काम गरेका कारण आक्रोशित जनताले कारबाही हुनुपर्छ भन्नु स्वभाविक हो, तर त्यो भन्दा पनि पहिलो कुरा त जनप्रतिनिधि आएपछि महंगो राजश्व तिर्नुपरेका कारण पनि कर्मचारीप्रति जनता आक्रोशित भएका हुन् ।’

भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा, घुस मागेको खण्डमा तत्काल कारबाही गर्ने हटलाईन नम्बर राख्नुपर्ने र अख्तियारलाई पनि खबर गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘कुनै कर्मचारीले घुस मागेको खण्डमा जनताले तत्काल हटलाईनमा सम्पर्क गर्नुपर्यो, त्यतिबेलै कारबाही गर्न सक्नुपर्यो । त्यहिँ पक्राउ गरेर कानुनी कारबाही गर्ने अधिकार मेयरलाई हुन्छ, तर हातपात गर्नु गलत हो ।’ नगरबासी भ्रष्टाचार निवारण गर्नुपर्छ भन्ने पक्षमा भएपनि सबैलाई एकजुट बनाएर अभियान चलाउनुपर्ने उनको सुझाव छ । आँफूले बोलेका कुरा पुष्टि नहुँदा आफैँ माफी माग्नुपर्ने स्थिति आएकाले पनि मेयरको बोलीमा प्रश्नचिन्ह खडा भएको उनले सुनाए । ‘मान्छेको काम उसको लगनशील र व्यवहारले गर्छ उसको उमेरले निर्धारण गर्दैन,’उनले भने,‘उहाँका बितृष्णा र आक्रोश जनता र कर्मचारीलाई पोख्ने हैन, आँफूले प्रमाणित नहुने कुरा बोल्ने हैन, इटहरीको मर्यादाको क्रममा एक नम्बर व्यक्ति उहाँ उत्तरदायि बन्नका लागि सबैलाई समेटेर सत्यको पक्षमा उभिनु पर्छ ।’

यता, नेपाल निजामति कर्मचारी संघका केन्द्रीय सदस्य प्रकाश राईले पनि मेयर चौधरीले गरेका काम गलत रहेको औँल्याए । उनले भने,‘यो घटनालाई दुर्भाग्य रुपमा लिनुपर्छ, हिंसाको संस्कृतिलाई नेपाली समाजले चिन्तन गर्नुपर्छ ।’ उनले मुलुकमा हिंसाको संस्कृति फष्टाईरहेको बताउँदै मुलुकले राम्रो निष्कर्ष निकाल्नका लागि समय र प्रक्रिया लाग्ने बताए । उनी भन्छन्, ‘भ्रष्टाचार मुक्त इटहरी बनाउन सकारात्मक अभियान हो, यो निष्कर्श निकाल्न प्रक्रिया चाहिन्छ, प्रक्रियाका लागि समय चाहिन्छ ।’

करारमा नियुक्त भएका कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रमको आवश्यकता रहेको राईको भनाई छ । मेयरले व्यक्तिगत प्रहार भन्दा माथि उठेर काम गर्नुपर्ने उनको सुझाव छ । केन्द्रीय सदस्य राईले उत्तेजना र आवेशमा आएर काम गर्न नहुने तर्क गर्दै भने,‘उत्तेजना र आवेश मिलाएर यसलाई आगोमा घिउ हाल्ने काम बन्द हुन आवश्यक छ, उहाँले (मेयर) सहकर्मीको साथ लिएर इटहरीलाई समृद्धि बनाउनुपर्छ, उहाँलाई नगरपिताको रुपमा जनताले रोजेका छन् त्यो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

सशक्त बन्दै सामाजिक सञ्जाल

पत्रकारमाथिको दुव्र्यवहार गरेको भिडियो फेसबुकमा आउट भएपछि मेयर चौधरीको आलोचना सुरु भयो । अहिले जनप्रतिनिधिलाई उत्तरदायि बनाउनका लागि फेसबुकले पनि सहयोग गरेको छ । कुनै गलत काम गरेमा फेसबुकमा केही क्षणमै भाईरल हुने सम्भावना भएको कारण पनि जनप्रतिनिधिहरुलाई पनि उत्तरदायी हुनुपर्छ भन्ने बनाएको छ । यसले भ्रष्टाचार न्यूनिकरण, सुशासनमा पारदर्शीता तथा विकृति, विसंगतिलाई पनि निर्मूल पार्न सकिने एउटा माध्यम बनेको छ ।

यस्तै, सामाजिक सञ्जालमा तीब्र आलोचना भएपछि र पत्रकार महासंघले पनि अल्टिमेटम दिएछि मेयर चौधरीले प्रेस विज्ञप्तीमार्फत दुःख व्यक्त गरे । सामाजिक सञ्जालले पनि जनप्रतिनिधिलाई उत्तरदायि बनाउन सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण बनेको छ । अनौपचारिक सञ्चार जगतले पनि स्थानीय सरकारलाई सुसूचित र सुशासन बनाउनमा मद्दत पु¥याईरहेको छ । सर्बसाधारण मानिसहरुको गुनासो पोख्ने निकाय फेसबुक माध्यम पनि बनेको छ, र यो प्रभावकारी पनि भएको छ ।