धरान:डिजेल प्लान्टबाट शव जलाउने शवदाह सँस्कारस्थल धरानमा निर्माण हुदैछ । झीगु समाज धरानको अगुवाईमा सेउती किनारको खत्रीधारामा डिजेल प्लान्टको शवदाह सँस्कारस्थल निर्माण भएको हो ।

उक्त डिजेल शवदाह सँस्कारस्थलमा ट्रष्ट निर्माण गर्न धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले झीगु समाजलाई आर्थिक सहयोग गरेको छ । बुधबार समाजको भवनमा आयोजित एक कार्यक्रममा बैंकले समाजलाई १ लाख ५० हजार सहयोग गरेको हो । बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्के र प्रमुख कार्यकारी अधिकृत(सिइओ) तुलसीप्रसाद वस्तीले समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितलगायत पदाधिकारीलाई चेक हस्तान्तरण गरेका थिए ।

सिइओ वस्तीले मृत्यु सँस्कारलाई सरल बनाउन समाजले दाहसँस्कारस्थललाई प्रविधियुक्त र आधुनिक बनाएर महत्वपुर्ण एवं सह्रानीय काम गरिरहेकोले सहयोग गर्न पाउदा खुशी लागेको बताए । साथै, जनताबाट निक्षेप संकलन गरेर, ऋण लगानी गरी नाफा कमाएको बैंकले समाजको लागि पनि उत्तरदायित्व वहन गर्न बंैकले सहयोग गरिरहेको उनले बताए । ‘तपाईहरुकै, यही समाजको मायाले, सहयोगले गर्दा बैंक चलेको छ । तपाईहरुबाट निक्षेप उठाउछ, लगानी गर्छ, र नाफा कमाउछ,’सिइओ वस्तीले भने,‘त्यसैले यही समाजलाई पनि बैंकले सहयोग गरिरहेको छ । विद्यालयमा कम्प्युटर वितरण, विपन्नलाई पनि बैंकबाट सहयोग दिएका छौं ।’

IMG_8645

समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितले दाहसँस्कारस्थलमा अझै धेरै काम बाँकी भएकोले सहयोगी दाताहरुसँग सहयोको अपिल गरे । ‘मितेरी बैंकबाट पाएको सहयोगले हामीलाई धेरै राहत मिलेको छ, अझै धेरै काम बाँकी भएकोले यस्तै सहयोगको खाँचो हामीलाई छ,’उनले भने । दाह सँस्कारस्थलका संयोजक मोहनकाजी शाक्यका अनुसार सुर्य मेटलले डिजेल प्लान्ट सहयोग गरेपछि नेपालकै पहिलो डिजेल शवदाहसँस्कारस्थल पनि सञ्चालनमा आउन लागेको छ । ‘यो नेपालकै पहिलो डिजेल प्लान्टको दाहसँस्कारस्थल हो, डिजेलबाट आगो निकाल्ने र शव जलाउने तयारी भइरहेको छ,’निर्माण समितिका संयोजक शाक्यले भने,‘जम्मा ४ वटा शव एकैपटक जलाउन सकिने ठाउँ बनेको छ ।’

आधा घण्टाभित्र शव जल्ने अनुमान गरेर डिजेल शवदाहसँस्कारस्थलको तयारी भइरहेको संयोजक शाक्यको भनाई छ । झीगु समाजको सक्रियतामा २०६६ सालदेखि खत्रीधारामा आधुनिक शव दाहसँस्कारस्थल निर्माण थालिएको थियो । २०६६ सालमा १ करोड ६० लाख रुपैया लागत स्टिमेट भएको थियो । विभिन्न संघसंस्था, दाताहरुको सहयोगबाट निर्माण हुने भएकोले समय लागेको र लागत पनि बढ्दै गएको उनले बताए । हालसम्म नगरपालिकाले उपलब्ध गराएको जमिनमा आधुनिक आरसिसि शव दाहसंस्कारस्थल, अर्काे ट्रष्टको शवदाहसँस्कारस्थल, ट्वाइलेट, चेन्जिङ रुम, ढुंगेधारा, शवको खुट्टा डुबाउन कमल पोखरी, कम्पाउण्ड वाललगायत संरचनाहरु बनिसकेको छ ।

IMG_20190619_094347