इटहरी : नेकपा एमाले मोरङको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । जेन-जी पुस्ताका प्रदर्शनकारीको समूहले विराटनगर पाञ्चालीस्थित एमालेको कार्यालयमा आगजनी गरेका हुन् । 

आन्दोलनकारीहरू कोशी प्रदेश सभा भवनमा पनि प्रवेश गरेर प्रदेशसभा भवनमा आगजनी गरेका छन् ।

विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा भवन अगाडि बिहानदेखि नै झडप भइरहेकोमा प्रहरीको सुरक्षालाई पन्छाउँदै प्रदर्शनकारी प्रदेशसभाभित्र प्रवेश गरेका हुन् ।

विराटनगरमा जारी भएको कर्फ्युको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूहले ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरे ।

विराटनगरका चौतर्फी प्रदर्शनको कारण सुरक्षाकर्मीको नियन्त्रण बाहिर परिस्थिति पुगेको छ । 

हिजो सोमबार आगलागी भएको इटहरी उपमहानगरपालिकामा थप आगलागी भएको छ । प्रदर्शनकारीको समूहले इलाका प्रहरी कार्यालय इटहरी र इटहरी उपमहानगरपालिकालाई घेराबन्दी गरेका छन् । 

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको घरमा समेत आगो लगाएका छन् । प्रदर्शनकारी सामु सुरक्षा निकाय निरीह बनेको छ ।