हिउँ झरेको पहाडमा जस्तै, दशैं आउँदा हाम्रो मनमा सेतो उल्लास ओसारिन्छ । आँगनमा फूल फुल्छन्, ढकमक्क पात फुल्ने जमरा जमिनमै हरियो हुन्छ । गाउँघरमा मादलको ताल बज्छ, शहरमा किनमेलको भीड पसारिन्छ । आकाशभरि पिङ खेल्ने बालबालिकाको हाँसो गुञ्जिन्छ । दशैं हाम्रो जीवनको त्यो मिठो अध्याय हो  जसले परिवारलाई जोड्छ, समुदायलाई एक बनाउँछ र संस्कृतिलाई जोगाउँछ।

तर यसै उल्लासको छायामा एउटा अँध्यारो पनि घुमिरहेको हुन्छ । त्यो अँध्यारो हो- अपराध । अपराधीहरूका लागि दशैं भनेको रमाइलो होइन, अवसर हो ।  हाम्रो ढोका खुलेको, हाम्रो घर खाली भएको, हाम्रो ध्यान उल्लासमा मात्र व्यस्त भएको क्षणलाई उनीहरूले शिकार बनाउन खोज्छन् ।

यसैबीच, एउटा घटनाले हाम्रो संवेदनशील आत्मालाई झस्काइदिएको छ । साँझको धुम्म घाममा, अभिभावक नभएको घरमा एक अपरिचित मानिस पस्यो । भित्र पढिरहेकी बालिकालाई सोध्यो-'तिम्रो घरमा को को छ ?' उसले सजिलै उत्तर दिइन्- “म मात्र छु” त्यसपछि उसले पानी माग्यो । निरपराध भावले बालिकाले गिलास बोकेर आउँदै गर्दा देखिन् अपरिचित व्यक्तिले रुमालमा केही लुकाएर छर्कन खोज्दैछ । क्षणभरमै खतरा बुझिन्, हिम्मत जुटाइन्— गिलास फालिन्, ढोका पार गरेर भागिन् र आफ्नो जीवन जोगाइन् । यो घटना कुनै काल्पनिक होइन-वास्तविक हो ।

कस्तो साहस ! कस्तो जागरण !

तर यस कथाभित्र के देखिन्छ भने- अपराध हाम्रो घरको ढोकासम्म आइपुगिसकेको छ । त्यो छायाँ केवल एक बालिकाले मात्र होइन, हामी सबैले देख्नुपर्ने सत्य हो।

दशैंको दुई अनुहार :

आउन लागेको दशैंको उज्यालो अनुहार-उमङ्ग, परिवार, संस्कृतिको उत्सव ।

दशैंको अँध्यारो अनुहार-चोरी, डकैती, घरफोडी र आपराधिक गतिविधि ।

हामी कुन अनुहार देख्छौँ भन्ने हाम्रो चेतनामा निर्भर हुन्छ । यदि हामी असावधान छौँ भने- उज्यालो अँध्यारोले ढाक्छ । यदि हामी सतर्क छौँ भने- उज्यालो अझ दिप्यमान हुन्छ ।

सुरक्षा चेतना : हाम्रो सामूहिक दीप

- बालबालिकालाई सिकाऔं- अपरिचितसँग सहजै व्यवहार नगर्नु, शङ्का लागे तुरुन्त भाग्नु।

- अभिभावकले घरलाई मजबुत बनाऔँ- ढोका, झ्याल, ताल्चा सबै भरपर्दो होस्।

- गाउँ–टोलमा सामूहिक गस्ती चलाऔँ, सुरक्षा समिति सक्रिय गराऔँ।

- प्रहरीसँग हातेमालो गरौँ, शङ्कास्पद गतिविधिलाई तुरुन्त जानकारी दिऔँ।

समाजका लागि आह्वान: दशैंको उल्लास अपराधीहरूको अवसर नबनोस् । दशैंको घर आँगनमा डरको छायाँ नपरोस् । दशैं केवल हर्षको पर्व होस्, त्रासको होइन । घटनामा एक बालिकाले साहस देखाएर आफ्नो जीवन जोगाइन् । तर भोलि अरूले भाग्यसँगै त्यस्तो अवसर पाउँछन् भन्ने छैन । त्यसैले अब चेतनाको दीप बाल्नैपर्छ । आउन लागेको दशैलाई उज्यालो र सुरक्षाको पर्व बनाऔँ। समाजलाई सुरक्षित बनाउनु नै भविष्यलाई सुरक्षित बनाउनु हो । यसैमा सबैको कल्याण हुनेछ ।