अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामाको प्रडक्सन कम्पनीले तयार गरेको डकुमेन्ट्री फिल्म ‘अमेरिकन फ्याक्ट्री’ नेटफ्लिक्सले बुधबार रिलिज गरेको छ । गत वर्ष मेमा ओबामाले ‘हाइयर ग्राउन्ड प्रडक्सन कम्पनी’ लन्च गर्दै नेटफ्लिक्ससँगको सहकार्यमा फिल्म रिलिज गर्ने घोषणा गरेका थिए ।

वर्ग र रंग, प्रजातन्त्र, मानवअधिकारलगायत सामाजिक विषयवस्तुमा फिल्म बनाउने उनको घोषणा थियो । समीक्षकहरूले यस डकुमेन्ट्रीको तारिफ गरेका छन् । एक घन्टा ५० मिनेटको यस डकुमेन्ट्रीलाई चर्चित निर्देशक जुलिया रेचर्ट र स्टेभेन वोन्गरले निर्देशन गरेका हुन् । यो चिनियाँ तथा अंग्रेजी भाषामा बनेको छ ।

चिनियाँ भर्सेस अमेरिकी

यसले विश्वव्यापी अर्थतन्त्रको चुनौतीलाई उजागर गरेको छ । सन् २००८ मा ओहियो राज्यको मोराइनस्थित जनरल मोटर्स ट्रक एसेम्बली बन्द भएपछि दुई हजारभन्दा बढी कामदार बेरोजगार बनेका थिए । ६ वर्षपछि चिनियाँ खर्बपति चो ताक वोङले स्वामित्व खरिद गरेर आफ्नो विश्वचर्चित कम्पनी फुयाओ ग्लास ९अटोमोबाइलका सिसा तयार गर्ने कम्पनी०का रूपमा यसलाई अघि बढाएपछि बेरोजगारहरूमा फेरि नयाँ आशा पलायो । वोङले चिनियाँ र अमेरिकी कामदार दुवैलाई जागिर दिए । त्यसपछिको उतारचढाव फिल्मको मुख्य कथा हो । कामदारहरूबीच कसरी सामाजिक–सांस्कृतिक विवाद निम्तिन्छ रु चिनियाँ कामदारले अमेरिकीहरूको ठूलो आत्मविश्वासबाट के पाठ सिक्छन् रु कामदारहरूले कसरी व्यवस्थापनबाट फाइदा लिएका हुन्छन् ।

आफ्नो जागिरको सुरक्षाका लागि राजनीति गर्नुपर्दैन भनेर व्यवस्थापनले कसरी कर्मचारीलाई आश्वस्त पार्छ रु कसरी मेसिनले मानिसको जागिर खोस्छ रु यी र यस्तै जिज्ञासा फिल्मसँगै अघि बढ्छ । केही कर्मचारी र खर्बपति मालिक स्वयंका केही भावनात्मक कथासँगै हाँसो, रोदन र निराशा डकुमेन्ट्रीले देखाउँछ । सेन्ट्रल न्यारेटर नभएको यस फिल्मले पात्रहरूलाई आफ्नो कथा सुनाउन स्वतन्त्र छाडिदिएको छ । फिल्म कम्पनीले कसरी यस्ता विषय खोतल्न सक्यो भन्ने जिज्ञासा पनि दर्शकलाई हुन्छ ।

चौतर्फी प्रशंसा र अवार्ड

सार्वजनिक प्रदर्शनमा आउनुअघि नै विभिन्न महोत्सवमा यसले धेरैलाई आकर्षित गरेको थियो । जनवरी २५ मा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको यस फिल्मले त्यहाँ निर्देशकीय विधाका लागि पुरस्कार जितेको थियो । अप्रिलमा यसले रिभर रन इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट फिचर डकुमेन्ट्रीको अवार्ड जित्यो । ‘यो अमेरिकी र चिनियाँ उद्योगहरूबीचको असान्दर्भिकताका विषयमा उत्कृष्ट ट्र्याजिक कमेडी हो,’ इरिट कोनले इन्डिवायरमा लेखेका छन् ।