तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसार। आज यस समुदायले आ-आफ्नै तरिकाले सोनाम ल्होसार मनाउदैछन् ।

सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्ष हो । मञ्जुश्री पात्रोअनुसार आजदेखि 'मुसा वर्ष' पूरा गरी ‘गाई वर्ष'मा प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ ।

ल्होसार अर्थात् ल्होसारमा ‘ल्हो’ को अर्थ वर्ष वा साल अथवा सम्वत् हो भने ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसरी ‘ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको हो ।

प्रकृति प्रेमी समुदायका रूपमा रहेको तामाङहरू समुदायले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । आजको दिन छोरी-चेलीहरूलाई बोलाएर टिका लगाइदिने चलन छ ।

ल्होसार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरू १२ वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छन् र यो चक्र दोहोरिरहन्छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिको प्रदर्शनी गरिनेछन् ।

सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण आज सार्वजनिक बिदा समेत रहेको छ भने राष्ट्र प्रमुख देखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ ।