इटहरी : कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमा फैलिइसकेको छ । यसअघि कोरोना विरुद्ध अभियान चलाएका स्थानीय सरकारले यस पटक भने गम्भीरताका साथ तयारी थालेका छैनन्। समुदायस्तरमा भाइरस फैलिए पनि स्थानीय सरकारको चासोमा परेको छैन। 'ओमीक्रोन' कमजोर भाइरस भएको बुझाइमा नागरिक देखी सरकार सम्म ढुक्क देखिएका छन् ।

ओमीक्रोन अघिल्ला भेरियन्ट भन्दा कमजोर भएको भन्दै स्थानीय सरकारको चासो नबढेको हो। यसअघि आइसोलेसन देखी कन्ट्याक ट्रेसिङलाई प्राथमिकता दिएका स्थानीय तह अहिले ढुक्क देखीएका छन् । धरान उपमहानगरपालिकामा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । रुघाखोकी लागेका र केही लक्षण मिल्ने बिरामीको परीक्षणमा ९० प्रतिशत पोजेजीभ देखिएको स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले बताए ।

उनका अनुसार परीक्षण पछि बिरामी घरैमा रेस्ट गर्ने गरेका छन् । सङ्क्रमण फैलिने दर डेल्टा भेरियन्टको भन्दा बढी भए पनि सिकिस्त हुनेको सङ्ख्या ज्यादै कम भएको उनको भनाई छ। उपमहानगरले अक्सिजन देखी एम्बुलेन्स सम्मको व्यवस्थापन चुस्त राखेको कारण धेरै आत्तिनु नपर्ने उनले बताए ।

पछिल्लो समय परीक्षणको दायरा समेत बढाइएको उनले प्रस्ट पारे । हरियाली सामुदायिक वनमा आइसोलेसन तयारी अवस्थामा राखिएको र अव धरानमा परीक्षणको दायरा बढाउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पिसिआर परीक्षणका लागि समन्वय गरिरहेको प्रमुख मेहेताले बताए । एन्टिजेन परीक्षण भने धरानमा बढाइने बताइएको छ ।

यसअघि इटहरी उपमहानगरपालिकाले पनि छुट्टै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो। इटहरी उद्योग वाणिज्य सङ्घ र प्रेस युनियनले पनि छुट्टै अक्सिजन सहितको आइसोलेसन चलाएका थिए। तर अहिले उपमहानगरले माइकिङ गर्ने देखी बाहेक अन्य तयारी थालेको छैन।

आइतबार बसेको उपमहानगर स्तरीय सर्वपक्षीय बैठकले माइकिङ गर्ने र सचेतना जगाउने निर्णय मात्रै गर्‍यो । स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले सचेतना जगाउने काम सुरु भएको बताए । यसअघिका दुई भेरियन्ट भन्दा कमजोर भाइरस भएकाले नागरिक सचेतना नै महत्त्वपूर्ण औषधी भएको उनको भनाई छ।

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरले पनि कुनै तयारी थालेको छैन। सीमावर्ती क्षेत्र समेत भएकाले सङ्क्रमणको दर वृद्धि भइरहेको छ । होल्डीङ सेन्टर समेत सञ्चालनमा नआएकाले सङ्क्रमणको दर बढ्दै गएको छ । तथापि सङ्क्रमितको उपचार र सङ्क्रमणको दर रोकथाममा कुनै प्रयास भएको छैन ।

सङ्घीय सरकारको आदेश पर्खिरहेका स्थानीय तहले स्वतः कुनै कार्यक्रम सञ्चालनमा ल्याएका छैनन्। फिल्म हल, सार्वजनिक जमघट र विद्यालय मात्र बन्द भएको अवस्थामा अन्य व्यवसाय खुल्ला रहेका छन्। विना रोकटोक बजार पसल खुल्ला गरिएको छ। जसको कारण सङ्क्रमणको दर उकालो लागिरहेको छ।

यति मात्रै नभएर सर्वसाधारणले समेत सामान्य स्वास्थ्य मापदण्ड समेत नअपनाएको कारण पछिल्लो समय ओमिक्रोन भाइरस सङ्क्रमण बढेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।