धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि आज १२ बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डिसिसिएमसीको आज बसेको बैठकले गरेको निर्णय अनुसार अर्को सूचना जारी नभसम्मको लागि सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरीलगायत भिडभाड हुने सबै प्रकारका कार्यक्रमहरूमा माघ १५ गतेसम्म सञ्चालनमा पूर्ण रोक लगाएको छ । बैठकले माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिसहरू भेला हुने कार्यक्रमहरू पनि रोक लगाएको छ ।

जिल्लामा सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरूमा रोक लगाएको छ । यसै गरी जिल्लामा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका क्रियाकलापहरू, सार्वजनिक निकायहरूमा सेवाग्राहीहरूले अनिवार्य रूपमा कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा फोटो भए पनि हुने व्यवस्था अनिवार्य रूपमा लागू गर्ने पनि निर्णय गरेको छ ।

सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलहरू एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने कुनै पनि सामानहरू अनावश्यक रूपमा नहुने, दुई व्यक्तिको बिचमा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य उचित प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग लगायतका तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी गराइ सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

पूर्व निर्धारित खेलकुदका कार्यक्रमहरू गर्दा एक पटकमा कुल क्षमताको एक तिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने यही माघ ७ गते पश्चात् त्यस्ता खेलकुद कार्यक्रममा खोपको मात्रा पूरा गरेका व्यक्तिहरूलाई मात्र खोप कार्डको आधारमा रङ्गशाला प्रवेश गर्न दिने, धार्मिक वा सांस्कृतिक जात्रा पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक, परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने गरी तोकिएका जनस्वास्थ्यका मापदण्डहरूको पालना गरी स्वजनमा मात्र सीमित भएर सञ्चालन गर्ने गराउने भनिएको छ ।

सार्वजनिक यातायात सञ्चालनमा सिट क्षमता भन्दा बढी यात्रु नराखे, सबै यात्रु र कर्मचारीहरूले मास्कको प्रयोग गर्ने गराउने, सावरी साधनको ढोकामा र सवारी साधन भित्र स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने, सहचालकले अनिवार्य रूपमा मास्क र फेस–सिल्ड लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रूपमा निसङ्क्रमित गर्नु पर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले मास्क लगाउन प्रेरित गर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिने, लामो दुरीका सार्वजनिक यातायातहरुले बीचबाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्य देखि अन्तिम गन्तव्य सम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण तयार गरी सुरु गन्तव्य र अन्तिम गन्तव्यको ट्राफिक प्रहरी कार्यालय मार्फत जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्ने आदेशमा उल्लेख छ ।

यसै गरी लामो दूरीका सवारी साधन वा हवाईजहाजबाट यात्रा गर्नु पूर्व खोप कार्ड वा कोभिड–१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण आफ्नो साथमा राखेर सो अनुरूप मात्र यात्रा अनुमति दिने, होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रूपमा मास्क, फेस–सिल्ड लगाउने, होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीहरूलाई अनिवार्य रूपमा मास्कको उचित प्रयोग गर्नुपर्ने, कूल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने, होटेल तथा रेष्टुरेण्टहरुमा प्रत्येक टेबल तथा कोठामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने, होटेल तथा रेष्टुरेष्टलाई नियमित रूपमा नि सङ्क्रमित गर्नु पर्ने, यही माघ ४ गते पश्चात् खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीहरूलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने, जिल्लामा सञ्चालित होटेलहरुले कोभिड विरुद्धको खोप लगाएको कार्ड वा २४ घण्टा भित्रको एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट लिई आएका सेवाग्राहीहरूलाई मात्र चेक–इन गरी सोको विवरण अद्यावधिक गरेर मात्रै राख्ने, सबै प्रकारका रेष्टुरेण्ट सञ्चालन गर्दा राती ९ बजे सम्म मात्र सञ्चालन गर्न सकिने बाजागाजा बजाउने कार्य पूर्ण रूपमा रोक गरिएको छ ।

संस्थाको साधारण सभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपूरक सङ्ख्या मान्ने, कोभिड– १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारबाट जारी आदेश र यस आदेशको पालना गराउन सबै सार्वजनिक निकायहरूमा सेवाग्राहीहरूले अनिवार्य खोप लगाएको कार्ड देखाउने व्यवस्था लागु गर्ने पनि प्रशासनको आदेशमा छ ।

Adesh-1 Adesh-2