आज फेब्रुअरी १४ तारिख अर्थात् प्रणय दिवस भ्यालेन्टाइन डे विश्वभर मनाइँदै छ । विशेष गरी युवा-युवतीले आजको दिनलाई माया साटासाट गर्ने विशेष अवसरका रूपमा मनाउने गरेका छन् ।आजको दिनमा प्रेमी-प्रेमिकाले प्रेमको प्रतीक रूपमा रातो गुलाब साटासाट गर्ने र औपचारिक रूपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ।
आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो । पश्चिमा देशहरूबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै मौलाएको पाइन्छ । यो प्रणय दिवससँग विभिन्न कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न तथ्यहरू पनि छन्।
भ्यालेन्टाइन डे को औपचारिक  सुरुवात सन् २६९ रोमनबाट भएको मानिन्छ। जति बेला तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।
उनको मत अनुसार अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ तर प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुनसक्छ र विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउँछ भन्ने धारणाले सम्राट् क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राट्को नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए।
उनले यस प्रतिबन्धलाई उल्लङ्घन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराईदिए। तब सम्राट्ले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेल चलान गरिदिए।
भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनको एक जेलरकी छोरी सँग मन मिल्न गयो । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । केही समय पछि उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलो पटक ग्रिटिङ दिएका थिए । एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, 'फर योर भ्यालेन्टाइन'। जुन उद्धरण  आजको दिनमा पनि प्रयोग गरिन्छ ।
उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवस भ्यालेन्टाइन-डे मनाउन सुरु गरिएको हो।