धरान : नेपालको प्रमुख आदिवासी जनजाति लिम्बु याक्थुङ समुदायमा धर्म, भाषा र जातिको नामलाई लिएर उत्पन्न विवादले उनीहरू भित्र बढेको तीव्र ध्रुवीकरणलाई रोक्न जरुरी भएको लिम्बु याक्थुङ अगुवाहरूले बताएका छन् ।
संस्थागत रूपमा ध्रुवीकरण बढेर गए सांस्कृतिक मौलिकता र विकास क्रमका बारेमा लिम्बु समुदाय दोविधामा फस्ने उनीहरूले बताए । यसको दुरागामी असर समुदायको परम्परागत सामाजिक, सांस्कृतिक सद्भावमा पर्ने चेतावनी उनीहरूले दिएका छन् ।
विद्यमान विवाद बारे किरात याक्थुङ चुम्लुङद्वारा सोमवार गरिएको छलफलमा अगुवा तुम्याहाङहरुले त्यस्तो सुझाव दिएका हुन् । विवादको तारो अहिले चुम्लुङ बनेको छ । चुम्लुङको एघारौँ महाधिवेशन फागुन ९ गते बोलाइएको छ । महाधिवेशनमा उठ्न सक्ने सवालहरूका बारेमा परामर्श लिन छलफलको आयोजना गरेको हो । पूर्व प्रदेश १ प्रमुख प्राध्यापक डा.गोविन्द तुम्बाहाङले भने ‘अहिले लिम्बुहरू तिन तिर लागेका छन् ।’
एक थरी सत्यहाङमापन्थीहरु आफूलाई किरात जाति घोषणा गरी परम्परागत संस्कारलाई हिन्दुकरण गर्न लागि परेका छन् । चुम्लुङ किरात भनेता पनि सत्यहाङमा पन्थबाट आफूलाई अलग बाटोमा हिँडेको देखिन्छ । पछिल्लो समय यी दुवै पक्षले मौलिकतालाई ध्वस्त बनाएको भन्दै युमा साम्यो पुनर्जागरणमा लागेको देखिन्छ । प्रा.डा. तुम्बाहाङले भने ‘लिम्बुहरूको विवाद राजनीतिक कारणले पनि बढेको बुझिन्छ ।’
यस्तो स्थितिले लिम्बु समुदाय द्विविधाग्रस्त भएको उनले बताए । हिन्दु धर्मको तुलनामा धेरै देखिनु किरात समुदायमा लिम्बु जातिलाई गणना सामेल गराउन चुम्लुङ अघि बढेको छ । समुदायको विकास क्रम अघि बढाउने चुम्लुङको उद्देश्य हुनसक्छ । युमा साम्योले भने कालान्तरमा यो विकासको क्रम लिम्बु याक्थुङ सभ्यताको लागि जोखिम बढेर अहिले हिन्दुकरण भनिए जस्तै किरातकरण हुनसक्ने भनेको बुझिन्छ । यो विवादको निकास चुम्लुङले दिन सक्नुपर्नेमा उनले जोड दिए ।
सह–प्राध्यापक डा. मोहन तुम्बाहाङले लोककथाको उदाहरण दिँदै लिम्बु समुदाय बिचको विवाद काटेर टुक्रा टुक्रा बनाउने कैँची जस्तो बनाउने हो कि सबैलाई जोड्ने सियो जस्तो बनाउने दायित्व लिम्बुजन्य सङ्गठनहरूको भएको बताए । अहिले भइरहेका बहसहरू लिम्बु जातिकै हितका लागि भइरहेको बताए । उनले अर्को कथाको उदाहरण दिँदै भने ‘अण्ड कताबाट फुटाउने जस्तो विवाद जति नै गरे पनि त्यसभित्रको वस्तु एउटै हो ।’ लिम्बु समुदायको प्रतिनिधि मुलुक संस्था हो भने चुम्लुङले यसलाई निकास दिन सक्नु पर्दछ ।
पछिल्लो समय सिरिजङगा लिपिका बारेमा बढेको विवादका बारेमा उनको स्पष्ट भनाई थियो ‘कुनै लिपि कुनै पनि भाषामा प्रयोग गर्न कसैको स्वीकृति चाहिन्न ।’ सिरिजङगा लिपि लिम्बु भाषा लेख्न प्रादुर्भाव गरिएको भएता पनि यसलाई आफ्नो अनुकूल बनाएर जुनसुकै भाषीले प्रयोग गर्न सक्छन् । भियतनाममा कुनै समय चिनिया लिपि प्रयोग हुन्थ्यो, पछि भियतनामी भाषा लेख्न निकै कठिन भएकाले अङ्ग्रेजी अक्षरलाई उनीहरूको अनुकूल थपघट गरेर चलाउन थालेको बताउँदै उनले भने ‘अहिले भियतनामी लेखाई भाषा झट्ट हेर्दा सुन्दा अङ्ग्रेजी जस्तै लाग्न सक्छ ।’
किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्र थेगिमले लिम्बुहरू पहिले किरात त्यसपछि मात्र लिम्बु भएको बताए । उनले प्रदेश १ नाम किरात हुनुपर्ने त्यसमा लिम्बुवान जोडन नहुने समेत सुझाव दिए । लेखाई र दैनिक जीवनमा लिम्बु भाषा प्रयोग गर्ने सम्प्रदाय सत्यहाङमा पन्थ भएको दाबी गर्दै सिरिजङगा लिपिमा वर्ण विन्यास थप घट गर्दा सङ्घलाई नसोधिएकोमा आपत्ति जनाए । उनले भने ‘लिपिको समायोजन भनिएकोमा पनि हाम्रो सहमति छैन, यसलाई व्यवस्थापन भनिनु पर्दछ ।’
युमा साम्योले उठाएका सवालहरूमा चुम्लुङले सम्बोधन नगरे सम्म असहमति यथावत् रहने साम्योका केन्द्रीय महासचिव प्रा.डा. रमेश इजमले दोहोर्याए । लिम्बु जातिको मौलिकताको रक्षाका लागि युमा साम्योले पुनर्जागरण अभियान सुरु गरेको बताउँदै किरातको नाममा लिम्बु जातिको अस्तित्व समाप्त गर्ने कार्यमा सहमति गर्न नसकिने उनको भनाई थियो ।
साम्योले जनगणना देखी लिम्बुहरू मौलिक रूपमा जाति याक्थुङ (लिम्बु) भाषा याक्थुङ, धर्म युमा साम्यो भएको अडान राख्दै आएको छ । पछिल्लो समय चुम्लुङले सिरिजङगा लिपिको अगाडि किरात थपेको आरोप लगाउँदै सिरिजंग लिपिमा वर्ण, व्यञ्जन थप्ने कार्य स्वीकार्य नभएको जनाएको छ । अन्य आदिवासीले भने सिरिजङगा लिपिकै नाममा आफ्नो अनुकूल प्रयोग गर्न सकिने कुरामा साम्यो सहमत छ । प्रदेश १ को नामकरणको सवालमा भने लचिलो बनेको बताउँदै उनले भने ‘प्रदेश १ को नामकरण लिम्बुवान, किरात लाई युमा साम्योले सहज रूपमा लिएको छ ।’
पूर्व क्याम्पस प्रमुख चन्द्र लिम्बु फोम्बोले प्राज्ञिक र बौद्धिक विषयका बहसलाई सम्बद्ध विषयका तुम्याहाङहरुलाई राखेर व्यवस्थापन गर्ने कार्यमा चुकेको हुँदा सामाजिक सञ्जालमा विवाद बढेको धारणा राखे । उनले भने ‘लिम्बु समुदाय बिचको कुरा सञ्जालमा छताछुल्ल बनाउनु राम्रो होइन ।’ पक्ष विपक्षले व्यक्तिहरू उपर आक्षेप लगाउँदै मृत्यु भएका व्यक्तिलाई दिने श्रद्धाञ्जली दिएकाले जान्ने बुझ्ने बौद्धिक वर्ग आफ्नो भूमिकाबाट अलग बसेको उनको भनाइ छ । उनले भने ‘म आफै पनि अहिले चुपचाप छु, आफ्नो धारणा राख्ने बित्तिकै पक्ष विपक्षमा लागेको ठहरिने अवस्था छ ।’ उत्पन्न विवादलाई चुम्लुङले सही ढङ्गले सम्बोधन गर्नु आवश्यक भएकोमा उनले जोड दिए ।
धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबोले लिम्बु समुदायमा उत्पन्न विवाद दुर्भाग्यपूर्ण भएको बताए । सभ्यताको विकास बदलिँदो युग अनुसार हुने कुरालाई स्वीकार गर्नुपर्ने बताउँदै किरात शब्दको बारेमा लिम्बुहरूले हच्किनु नहुने उनको भनाई थियो । चुम्लुङले किरात शब्द प्रयोग गर्नु स्वाभाविक रहेको बताउँदै किरात समुदाय भित्रको एक जाति लिम्बु भएको कुरामा आफू सहमत रहेको बताए । चेम्जोङ वंश उत्थान सङ्घका केन्द्रीय सचिव सुमन चेम्जोङ याक्थुङबाले लिम्बु जातिको इतिहासलाई नामेट गरेर किरातकरण गर्न नहुने बताउँदै प्रदेशको नामकरण समेत लिम्बुवान मात्र हुनुपर्ने सुझाव दिए ।
छलफलमा पूर्व उपमेयर मीनकुमार सुब्बा, किरात धर्म तथा साहित्य उत्थान सङ्घको राष्ट्रिय समिति अध्यक्ष इन्द्र कुमार सेर्मा, युमा साम्यो केन्द्रीय सदस्य देव इजम, लिम्बु विद्यार्थी मञ्च केन्द्रीय उपमहासचिव सरगम सागर चेम्जोङ, याक्थुङ युवा मञ्चका केन्द्रीय कोषाध्यक्ष घनश्याम थेबे, लिम्बु पत्रकार सङ्घका कुशल कुरुम्भङ खजुम, लिम्बु सांस्कृतिक परिषद्का केन्द्रीय उपाध्यक्ष कुमार हुक्पा चोङबाङ, केन्द्रीय सचिव महेश हुक्पा चोङबाङ, याक्थुङ चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष नवीन मेन्याङबो सहभागी थिए ।
यस्तै राजनीतिक दलका आइन्द्र विक्रम बेघा, जेण्टल लावती, विष्णु थाम्देन पनि सहभागी थिए । चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाको सभापतित्वमा भएको छलफलमा चुम्लुङका सल्लाहकारहरू हर्ष सुब्बा, नर प्रसाद लुम्फुङवा, दुर्गामाया लिम्बु, चन्द्र माया माबो, केन्द्रीय सदस्यद्वोय सङ्गीता सुब्बा, उत्तम लिङ्थेप, जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ, सचिव ताजुब लिम्बु, नगर अध्यक्ष पद्मा लिम्बु, सचिव जय तुम्बाहाम्फे, पत्रकार सिंह मादेन, उमेशचन्द्र पारघरी, दिलु वनेम सहभागी थिए ।