धरान : हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औँसीको दिन वैदिक सनातन धर्मावलम्बीहरूले यस दिनलाई विशेष श्रद्धाका साथ लिने गर्दछन् ।
आमाले नौ महिना सम्म गर्भमा धारण गरेर सन्तान जन्माएकी हुन्छिन् । आमाविना सृष्टिको कल्पनासम्म पनि गर्न सकिँदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी/नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् । तसर्थ आमालाई महान् मानेर सनातन संस्कृतिमा भनिएको छ 'न मातुः परदैवतम् '। अर्थात् माता भन्दा पर देवता पनि छैनन् ।
अहिलेको आधुनिक र व्यस्त समाजमा यसको महत्त्व अझै बढेको छ । पहिला हुने संयुक्त परिवारको संरचनामा औँसीको महत्त्व थिएन । त्यो समयमा विशेष गरी विवाह गरेर जाने छोरीहरूको लागि मात्र पर्वको महत्त्व थियो । तर अहिले समयले कोल्टे फेरेको छ । पढाई, जागिरको सिलसिलामा सन्तानहरू घर बाहिर बस्ने गर्दछन् । कतिपयले वृद्ध भएको आमा बाबुलाई आश्रममा लगेर राख्ने गरेका छन् । औँसी मनाउने चलनले टाढा भएका सन्तानलाई एक दिन भए पनि आफ्ना आमालाई स्मरण गराउने भेट्ने बाटो खुलाएको छ ।
संस्कृतमा आमा बुझाउने माता शब्द अत्यन्त प्रिय छ । "मात्रा भवतु संमनाः" भन्ने अथर्ववेदको ऋचाले गर्भमा शरीरको धारण गर्ने आमाको महत्ता बुझाउँछ । यस्तै "आपदि मातैव शरणम्" अर्थात् विपतका समयमा आमाको सम्झना गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हरेकको मुखबाट ऐया आमा ! भन्ने वाक्यांश अनायास निस्किन्छ । किनभने हाम्रो अचेतन मनमा पनि आमाले दह्रो डेरा जमाएकी हुन्छिन् ।
आमा धरती हुन् किनभने उनले धर्तीझैँ सहनशील भएर बालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन् । आमाले जसरी सन्तानप्रति कुनै कारणविना नै स्नेह प्रदान गर्ने व्यक्ति अरू कोही हुँदैनन् । त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन रहेको छ ।
त्रेता युगमा भगवान् विष्णुको सातौँ अवतार मानिने मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै एक दिन मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाहरूबिच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष तिर्खाले आकुल-व्याकुल भए ।
त्यही बेला माता सीतालाई पनि प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् रामले गंगामाताको स्तुति गरे-"माता गंगासमो तीर्थ पिता पुष्कर मे वचः" भन्ने मन्त्रोच्चारण तीन पटक गर्दै रामले जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गामा कोरिन पुग्यो ।
कुनै बेला घना जङ्गल रहेको त्यो ठाउँमा गोठालाहरू गाई चराउन आउँथे । उनीहरू त्यही कुण्डको नजिकै बसेर खाजा खान्थे । ती गोठालाहरूमध्ये एउटा गोठालो खाजा नखाई कुण्ड भएतिर मात्र जान्थ्यो ।
उसले त्यहाँ रहेको कुण्डमा आफ्नी आमाको दर्शन पाउने गर्दो रहेछ । एक दिन ऊ घर फर्कने वेलामा एक्लै फर्कन नमानेको र आमालाई पनि सँगै लाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख कृष्ण औँसीको दिन यो तीर्थमा आउनू भनी छोरालाई सम्झाई–बुझाई घर पठाइन् र त्यसै दिनदेखि त्यो ठाउँको नाम मातातीर्थ रहन गयो । तसपछि आजको दिनमा काठमाडौँको पश्चिमी भेगमा रहेको माता तीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिधा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको छ ।