धरान : प्रदेश १ को नामकरणका लागि प्रदेश सरकार मौलिक आधारको खोजीमा लागेको बुझिएको छ । 

प्रदेशसभाको छलफलहरूले पनि प्रदेशको नाम जुराएको छैन । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले भने प्रदेशको नाम किरात नै रहने भनी आफ्नो भनाई दोहोर्याउदै  आएका छन् । यसै बिच प्रदेश सरकार किरात सभ्यताको मौलिक आधारको खोजीमा लागेको बुझिएको हो । प्रदेश सरकारले कोसी सभ्यताको मौलिक आधार पनि खोजी गराएको बुझिएको छ ।

सभ्यताको इतिहास खोज्दा अहिले सम्म स्थापित पुरानै आधारहरूलाई लिइने गरिएको छ । नेपालका जातिहरूको उत्पति, छुट्टै सभ्यताको विकासका तथ्यहरू ओझेलमा छन् । प्रदेश सरकारले किरात सभ्यता र संस्कृतिका बारेमा अध्ययनका लागि सञ्चालन गरेको छोटो अवधिको परियोजनाले ओझेलमा परेका तथ्यहरूको प्रतिवेदन तयार गर्नेछ । दस्ताबेजको रूपमा निर्माण हुने प्रतिवेदनले प्रदेशको आदिवासीका बारेमा थप अध्ययनका आधार पनि तयार गर्ने विश्वास गरिएको छ ।

धरानमा आइतबार आयोजित प्रदेश सरकारको उक्त परियोजनाको जानकारी तथा अन्तरक्रियामा किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष तथा त्रिविका उपप्राध्यापक प्रेम येक्तेनले भने ‘किरात सभ्यताको मात्र नभएर यो अध्ययनले चार जाति राई, लिम्बु, याक्खा, सुनुवारको उत्पति उनीहरूको आफ्नै सभ्यताको विकास बुझ्न अध्ययनका आधार  तयार गर्नेछ ।’ छलफल किरात सभ्यता: लिम्बु÷याकथुङ आदिबासीहरुको सर्वेक्षण अध्ययन विषयमा भएको हो । 

अध्यक्ष येक्तेन अध्ययन परियोजनामा चुम्लुङ तर्फका संयोजक हुन । उनका अनुसार अध्ययन परियोजना गहन र वृहत् छ, तर समय निकै छोटो भएकाले चुम्लुङले यसलाई सन्दर्भ समाग्रीहरुको अध्ययन, स्थलगत सर्वेक्षणको प्रक्रियाबाट सम्पन्न गर्न द्रुत गतिमा काम गरिरहेका छ । यो अध्ययनका लागि तयार गरिएका विषय सूचि छुट्टा छुट्टै अध्ययन परियोजना सञ्चालन गर्न सकिने उद्देश्यले चयन गरिएको उनले बताए ।

अध्ययन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट गराइएको हो । अध्ययन उक्त चारै जातिका संस्थाहरू किरात राई यायोक्खा, किरात याकथुङ चुम्लुङ, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाजले गर्दैछन । चार वटै अध्ययन प्रतिवेदन चालु आर्थिक वर्षको असार मसान्त भित्र प्रदेश सरकारलाई बुझाइने बताइएको छ । उक्त चारै प्रतिबेदनलाई  समावेश गरी प्रदेश सरकारले किरात सभ्यताका मौलिक अवधारणा तयार गर्ने सम्भावना छ ।

किरात याकथुङ चुम्लुङले गर्ने अध्ययन लिम्बु÷याकथुङ जातिको सभ्यताको विकासमा केन्द्रित रहने छ । छलफलमा चुम्लुङ सङ्घीय वरिष्ठ उपाध्यक्ष डा.कमल तिगेलाले अध्ययनका लागि ४ खण्डमा विभाजित सूचि तयार गरिएको बताए । पहिलो खण्डमा लिम्बु सभ्यतामा लिम्बु मुन्धुम देखी बसोबासका १० विषयमा अध्ययन गरिने छ । दोस्रो खण्डमा इतिहास र दस्तावेजका ८ वटा सूचि छन् । 

यसै गरी लिम्बु समाज, संस्कृति, भूगोल तथा ऐतिहासिक स्थलहरूका बारेमा ६ वटा सूचिमा दुई दर्जन उपसूचिहरूमा अध्ययन हुने बताइएको छ । भाषा, लिपि, साहित्य र कलाका ८ वटा सूचि तयार गरिएका छन् । त्यसमा ५७ वट सम्म विषयहरू प्रतिवेदनमा उल्लेख गरिने छ । सबै विषयहरूका बारेमा स्थलगत रूपमा अन्तरक्रिया, छलफल गरी तुम्याहाङहरुका सुझाव समावेश गरिने उनले बताए । डा.तिगेलाका अनुसार धरान सहित हाल सम्म ५ ठाउँमा स्थलगत छलफल गरिसकिएको छ ।    

धरानमा आइतबार भएको छलफलमा प्रदेश १ का प्रथम प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङले अध्ययनको विषय सुचीहरू अत्यन्तै महत्त्वपूर्ण भएको बताए । समाज विकासको क्रममा सभ्यताको प्रभावले राई–लिम्बुलाई कुटुम्बेरी समाजको रूपमा स्थापित गरेको बताउँदै उनले याक्थुङ लिम्बु समुदायको इतिहास, भाषा, संस्कृतिले यो जातिको सभ्यता निर्माण गरेको कुरा अध्ययनबाट स्थापित गर्नुपर्नेमा जोड दिए ।

डा.रामनारायण कन्दङवाले अहिले सम्म पढिएका किरात सभ्यताको इतिहास हिन्दु धार्मिक मान्यतालाई स्थापित गर्ने उद्देश्य पाइएको बताउँदै मुन्धुममा उल्लेख नभएकोले किरात भन्दा अघि याक्थुङ लिम्बु सभ्यता थियो भन्ने खोज्न जरुरी भएको बताए । चुम्लुङ जिल्ला सचिव ताजुब लिम्बुले भने ‘मुन्धुम अघि किरात सभ्यता थियो कि मुन्धुम पछि यो सभ्यता विकास भएको हो, स्पष्ट गर्न सके राम्रो धारणा राखे । सहप्राध्यापक चन्द्र सुब्बा फोम्बोले अध्ययन महत्त्वपूर्ण हुने बताए । 

चुम्लुङका सल्लाहकार हर्ष सुब्बाले समानान्तर सभ्यता थियो भने तुलनात्मक अध्ययन गर्न सुझाव दिए । सल्लाहकार दुर्गामाया लिम्बु, अमरबहादुर पन्धाक, केन्द्रीय सदस्य सङ्गीता सुब्बा, जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, सल्लाहकार हेमलाल लिम्बु लगायतले सल्लाह सुझाव दिएका थिए । अन्तरक्रिया सञ्चालन जिल्ला सदस्य शिव सुब्बा इस्वोले गरेका थिए ।

KYC-1