दशैं विशेषगरी नारी जातिको, मातृसतात्मक समाजको महिमा गाइने पर्व हो । 
"यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता" 
अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको मानव सभ्यताको सुरुदेखिकै सनातन वैदिक संस्कृतिले समग्र नारी जातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ । नारीबिनाको पुरुष अधुरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन यस बडादशैंले अहम् भूमिका निर्वाह गरिरहेको छ ।
संस्कृतको पूज्यवाची 'मान्'धातुमा 'तृच्'प्रत्यय लागेर बनेको 'माता'शब्दले पूज्य, स्तुत्य, श्रद्धेय, बन्धनीय व्यक्ति भन्ने अर्थ बुझाउँछ। वस्तुतः यस व्युत्पत्ति अनुसार मात्र होइन उनको त्याग, तपस्या, समर्पण आदि सबै दृष्टिले आमा नमस्करणीय र बन्धनीय हुनुहुन्छ। वैदिक वाङ्मयले मातृशक्तिको महत्तालाई पहिलो प्राथमिकतामा राखेको छ।
त्यसैगरी भगवत्स्तुतिका क्रममा :,
"त्वमेव माता च पिता त्वमेव,
त्वमेव बन्धुश्च सखा त्वमेव।
त्वमेव विद्या च द्रविणं त्वमेव,
त्वमेव सर्वम् मम देवदेवं।।"
यहाँ पनि मातालाई नै अग्रस्थान दिइएको छ।
मातृशक्तिकै आधारमा संसार अडिएको आधारमा समस्त प्राणी मात्रमा विद्यमान मातृसत्तालाई भगवतीको रूपमा स्तुति गरिएका प्रशस्त उदाहरण हाम्रा वैदिक वाङ्मयमा प्रशस्त छन् । महिषासुर दैत्यको अत्याचारबाट बच्नका लागि पूर्वकालमा देवताहरूले समेत जगदम्बा भगवती माताकै शरण परेका थिए भन्ने कथा देवी भागवत लगायतका पुराणहरूमा भेटिन्छन् । दशैँका बेला विशेष रूपमा पढिने "दुर्गासप्तशती" मा आमाको महिमागन स्तुति गाइएको छ। त्यहाँ असुरवध पश्चात् आवेगमा आएकी भगवती दुर्गाको रिस शान्त पार्नका लागि देवताहरूले यसरी प्रार्थना गरेका छन्-
'देवी प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतो$खिलस्य !
प्रसीद विश्वेश्वरी पाहि विश्व त्वमीश्वरी देवी चराचरस्य !'
शरणापन्नको दुःख हरण गर्ने स्वभाव भएकी, चराचर जगतकै आमा रहेकी विश्व चराचरकै आमाका रूपमा रहेकी हे देवी प्रसन्न हुनुहोस्! दुर्गा सप्तशतीमा यसरी वन्दना गरिएको छ :'या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता। नमस्तस्य‌ै नमस्तस्यै नमस्तस्यै नमो नमः।' सम्पूर्ण प्राणी मात्रमा मातृरूपले विद्यमान ती देवीलाई बारम्बार नमस्कार तथा प्रणाम छ।
त्यसैगरी शुक्ल यजुर्वेदमा हामी बस्ने पृथ्वी र सिङ्गो प्रकृति जगतलाई नै आमाका रूपमा सम्मान गर्न आह्वान गरिएको छ :
"तन्नोव्वातोमयो  भुव्वातु भेखजन्न्माता पृथ्वी तत्पिताद्यौः० " 
आदि वेदमन्त्रले पृथ्वीलाई आमा मान्न आदेश दिइएको छ। 
स्कन्दमाता 
भगवान् शिवलाई महेश्वर पनि भनिन्छ, तीनै महेश्वर भगवानकि पत्नी भएकी हुँदा उहाँलाई महेश्वरी पनि भनिएको हो । उहाँको वर्ण गोरो भएकोले उहाँको गौरी नाम पनि लोक प्रसिद्ध छ । स्कन्दमाता हिमालयकी छोरी हुनुहुन्छ त्यसैले उहाँलाई नै पार्वती पनि भनिएको हो । अर्थात् भनौँ भगवान् शिव शङ्करकी पत्नी भनेर जो पार्वती भनेर जान्दछौँ हामी ती पार्वती देवी नै स्कन्दमाता हो जसलाई आजकै दिन आराधना गर्ने परिन्छ।  
माताको कृपाले मूर्ख पनि महाज्ञानी हुन्छ । स्कन्द कुमार "कार्तिकेय" की आमा अथवा माता भएकी हुनाले यिनलाई स्कन्दमाता भनिएको हो ।
स्कन्द माताको विग्रहमा (स्वरूपमा) स्कन्द भगवान् बाल रूपमा काखमा विराजमान भएको शास्त्रोक्त प्रमाण भेटिन्छ। माता स्कन्द विशेषतः चेतना निर्माण सँग सम्बन्धित हुनु भएको हुँदा उहाँ विद्वान, ज्ञानी, महात्मा आदिको अभिवृद्धि हेतु हुनुहुन्छ । महाकवि कालिदासद्वारा विरचित 'रघुवंश महाकाव्य' र 'मेघदूत' उहाँ कै कृपा, अनुग्रहबाट सम्भव भएको हो भन्ने मान्यता पनि रहेको छ ।
स्कन्दमाताको पुरा स्वरूप कस्तो छ त ? 
उहाँ चारभूजाले युक्त हुनुहुन्छ । माताका माथिका दुई हातमा कमल सुशोभित छन् भने तलको एक हातले बालक स्कन्दलाई काखमा राख्नु भएको छ र अर्को हातले आफ्ना साधक तथा उपासक लाई आशीर्वाद दिने मुद्रामा अर्थात् वरमुद्रा धारण गरी कमलको आसनमा विराजित हुनुहुन्छ त्यसैले उहाँलाई पद्मासना पनि भन्ने गरिएको  छ । उहाँको वहान सिंह हो, त्यसैले उहाँलाई सिंह बाहिनी नामले पनि जान्ने गरिन्छ । 
उहाँ पीत वस्त्रधारी अर्थात् पहेँलो वस्त्र धारण गर्नु हुन्छ किनकि माताको प्रिय रङ्ग पहेँलो हो अतः उपासकहरूले आजको दिन स्कन्द माताको प्रसन्नताका लागि पहेँले वस्त्र अर्पण अथवा दान गर्न पनि सक्नु हुनेछ । सौर्य मण्डलकी अधिष्ठातृ देवी भएकी हुँदा उहाँका उपासक अत्यन्त तेज र कान्तिमय हुने गर्दछन्। 
आफ्नो सन्तान स्कन्द सँग अत्यन्त प्रेम भएको हुँदा मातालाई पुत्रको नाम जोडेर स्मरण वा आह्वान गर्दा हर्ष लाग्ने भएको ले नै उहाँलाई पुत्रनाम अर्थात् स्कन्द जोडेर स्कन्दमाता भनिएको हो त्यसैले उहाँलाई ममता र वात्सल्य कि देवी भनेर आराधना गरिन्छ। 
उनको पूजा र उपासना गर्ने व्यक्ति पुत्रलाई प्राप्त गर्दछ। स्कन्द माताको पूजा गर्ने व्यक्ति लाई कुमार कार्तिकेय को पनि पूजा गरेको लाभ प्राप्त हुन्छ । यस्ती  सुख , शान्ति र मोक्षदायिनी माताको बीज मन्त्र "ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नमः" हो। यस मन्त्रले एक, सात अथवा एघार माला जप गरेर शुद्ध वस्तुको हवन गर्नु पर्दछ। उहाँको उपासना गर्ने अर्को मन्त्र  "ॐ स्कन्दमातायै नमः" हो ।