प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदै छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता पर्दैन।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गा पूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजा कोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।
शास्त्रमा देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्गयुक्त डरलाग्दो स्वरूप भएकी, शिरको कपाल बिग्रिएको, गोला र ठुला त्रिनेत्र भएकी तथा मस्तकमा अर्धचन्द्र भएकी स्वरूपको उल्लेख गरिएको छ। उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारबाट आतङ्कित या भयभीत हुनुपर्दैन भन्ने मान्यता छ। कालरात्रिलाई विशेष गरी राता तथा सबै प्रकारका सुगन्धित पुष्प चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ।
यस दिन आठ वर्षकी कन्यालाई 'शाम्भवी देवी'का नामले पूजा गरी विशेष रूपमा छाता र फूलमाला चढाउने परम्परा छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
धर्मशास्त्र अनुसार :
रम्भाकच्चु हरिद्रा च जयन्ती विल्वदाडिमौ।
अशोकौ मानकश्चैव धान्यानि नवपत्रिका।
’अर्थात् केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्ती नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख छ। यी फूलपाती साइत हेरेर दशैँघरमा भित्र्याउने गरिन्छ।
यी नौ पातहरूमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक-एक गरी आह्वान गरेर सोह्र सामाग्रीले पुजिन्छ । एक समयमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए ।
यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैँ घरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई हनुमान ढोका दरवारमा भित्र्याइन्छ । त्यसैगरी धरानको विजयपुर स्थित दन्तकाली मन्दिरमा पनि आज विशेष विधिबाट फूलपाती भित्र्याइदैछ। कालरात्रीको स्वरूप भयानक भए पनि माता भवानीले आफ्ना भक्तहरूलाई अत्यन्तै शुभ फल प्रदान गर्नु हुन्छ।
कालरात्रीको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिशाच तथा नकारात्मक ऊर्जा नाश हुने विश्वास लिइन्छ। कालरात्रि भगवतीको ध्यान गर्ने मन्त्र ' ॐ देवी कालरात्र्यै नम:' अथवा 'ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:' हो र उहाँको बाहान गधा रहेको छ।आजको दिनदेखि सरकारी तथा निजी क्षेत्रहरू पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सम्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको पूजा आराधना गर्दछन्। आज देखि बिदा हुने भएकाले माता दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आफ्नो पुर्ख्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्दछ।