आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशी, वर्षमा चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक एवम् वैदिक परम्परा रहेको छ। परम्परा छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यो ठुलो एकादशीका नामले परिचित छ । यसै दिनबाट चतुर्मास पूरा हुन्छ। 

वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने दिनका रूपमा लिइन्छ । एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । सामान्यतया भगवान् विष्णुलाई अक्षता चढाइँदैन । तसर्थ एकादशीका व्रत बस्नेले अन्न ग्रहण गर्दैनन् र गर्नुहुँदैन ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिनबाट भगवान् विष्णु सुत्ने, हरिपरिवर्तनी एकादशीका दिन कोल्टो फेर्ने र हरिबोधिनी एकादशीका दिन जागा हुने विश्वास गरिन्छ ।

भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधिनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी रहेको छ । यसैअनुसार वैदिक धर्मावलम्बीहरूले बिहानै नुहाई धुवाई गरी व्रत बसेर भगवान् विष्णुको पूजा आराधना गर्छन् ।

अन्य एकादशीमा व्रत नबस्ने वा बस्न नसक्ने वैदिक धर्मावलम्बीहरू यो एकादशीका दिन भने व्रत बस्दछन् । ८ वर्ष पूरा भएका ८० वर्षसम्मका अर्थात् अशक्तदेखि बाहेकले आजको दिन व्रत बस्नै पर्ने पौराणिक कथन छ ।

आजकै दिन गत असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रूपमा पनि लिने गरिन्छ ।

पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसैदिन सन्ध्याकलामा तुलसी विवाह सम्पन्न गराइएको स्कन्दपुराण वैष्णव खण्ड कार्तिकमास माहात्म्यमा उल्लेख गरिएको छ।

वाणैवाणहरूको शैयामा सुतेका भीष्मको अनुरोधमा अर्जुनले यसैदिन आफ्नो वाणको बेगले पातालगंगाबाट गङ्गा अवतरित गरी पानी निकाली उनको प्यास बुझाइदिएको महाभारतमा किंवदन्ती रहेको छ।

"हरिबोधिनी एकादशी विशेष महत्त्व"

Tulasi-bibaha

हरिबोधिनी एकादशी एउटा महत्त्वपूर्ण एकादशी हो र यसको महिमाको कारण पनि यसलाई ठुली एकादशी पनि भनिन्छ। कोजाग्रत पूर्णिमाबाट बाल्न सुरु गरेको आकाशे बत्तीलाई आजबाट बाल्न बन्द गर्ने चलन पनि छ।यस एकादशी को दिन भगवान् विष्णु प्रति समर्पित दिन हो,र हरिशयनी एकादशीमा चिर सागरमा सुत्नु भएका भगवान् आजको दिन उठ्नु हुन्छ भन्ने जनविश्वास पनि छ।

धार्मिक,सांस्कृतिक अनि वैज्ञानिक रूपमा अति उपयोगी मानिने तुलसीको पनि आज विशेष महत्त्व छ।आँगन छेउको तुलसीको मोठ विवाह, व्रतबन्ध र मृत्युशय्या सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ। हजारौँ वर्ष पहिला देखिनै सनातन सस्कारीहरु प्रातकालमा नै उठेर तुलसीमा पानी चढाएर नमन गरेर मात्र आफ्नो काममा लाग्थे अनि तुलसीको पत्ता राखेर भगवान् लाई सेवन गरेर मात्र भोजन र फलाहार लिने चलन अझै पनि कयौँ घर अनि परम्परामा विद्यमान छ।आजको दिन तुलसीको मोठको चारै तिर बासको लिङ्गो गाडेर सिङारिन्छ।हरिशयनी एकादशीमा रोपेको तुलसीको बिरुवालाई आज पिपल सङ विवाह गर्ने चलन पनि छ।

पुराणमा बिन्दा देवीले विष्णु भगवान् लाई पतिको रूपमा पृथ्वीमा आएर गरेको तपस्या सङ तुलसीको महत्त्वलाई गाँसिएको छ।त्यस्तै श्रीमद्भागवत को ३को ५ को १९ औ खण्डमा तुलसीको दैविक गुणलाई व्याख्या गरेको पाइन्छ। सदैव भोजनमा तुलसीको पत्र राखेर मात्र भोजन गर्ने भगवान् श्रीकृष्णलाई तुलसी सङ जोडिएका प्रसङ्गहरू धेरै छन्। गौतमिय तन्त्र अनुसार भक्तहरूले हत्केला भरीको पानी र तुलसीको पत्र मात्र सफा ह्र्दयले अर्पण गरेमा श्रीकृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ।स्कन्द पुराणले पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ।

भगवान् विष्णु लाई नारायण पनि भनिन्छ र यिनै नारायण र काठमाडौँको बारेमा एउटा परम्परागत र परापुर्वकालिन सम्बन्धको पनि चर्चा पाइन्छ। परापुर्वकालमा काठमान्डु माथि भगवान् विष्णुको अनुकम्पा रहिरहोस् भनी उपत्यकाको चारै कुनामा भगवान् विष्णुको प्रतिमा राखिएको हो। काठमाडौँको पूर्वमा चाँगुनारायण , पश्चिममा इचाङगुनारायण , उत्तरमा बिसन्खु नारायण ,अनि दक्षिणमा शेष नारायणका रूपमा भगवान् विष्णुले काठमाडौँलाई हेरिरहनु भएको भन्ने जनविश्वास छ।पहिले पहिले भक्तहरू खाली खुट्टा हिँडेर सूर्य उदाउँदा देखि अस्ताउने बेला पूजापाठ गरेर बस्ने चलन थियो।यस क्रममा भक्तजनहरू उपत्यकाको चारै नारायण एकै दिनमा हिँडेर पुग्ने गर्दथे भन्ने कथन पनि पाइन्छ।यसरी हिँडेर चार नारायण पुग्ने त्रितालुहरू अन्त्यमा शेष नारायण पुगेर आफ्नो तिर्थाट्न समापन गर्ने गर्दथे।

यसरी चार वटै नारायण दर्शनार्थ पुग्न नसक्ने भक्तालुहरूको लागि पाट्नको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो। आजको दिन भक्तालुहरू बिहानै देखि नुहाई धुवाई गरी चोखो भएर व्रत बस्ने अनि फलाहार तथा कन्दमूल चोखोनितो खानेकुरा खाने चलन छ।