चतरा : आज मंगलबार बाला चतुर्दशी अर्थात् शतवीज छर्ने दिन । वराहक्षेत्र धाममा पनि शतवीज छर्ने आउने भक्तजनको भिड लागेको छ । सतवीज छर्ने दिनलाई मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी पनि भनिन्छ । यस दिनमा मृत्युवरण गरेका पितृहरूको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रूपमा लिइन्छ। शतवीज छर्ने दिन सुनसरी वराहक्षेत्र धाम, रामधुनि सहित काठमाडौँको पशुपतिनाथका, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, आर्यघाटको तट, श्लेष्मान्तक बन लगायत झापाको अर्जुनधारा, धरानको पिण्डेश्वर, जलेश्वरधाम जस्ता तिर्थघाटहरुमा सतबीज छर्ने प्रचलन रहिआएको छ।
सतबीजका रूपमा अन्नहरूमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाइएको सप्तधाना युक्त शतवीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ । शतवीज छर्ने विषयमा ठाउँअनुसार फरक फरक चलनहरू रहेकाले केही स्थानमा चना, तिल, मकै पनि राखेर पनि शतवीज छर्ने चलन रहेको वराहक्षेत्रका प्रसिद्ध पण्डित योगेश भण्डारीले बताए।
पण्डित भण्डारीका अनुसार यसरी शतवीज छर्नका लागि चतुर्दशी भन्दा एक दिन अगाडि नै अर्थात् त्रयोदशीकै दिन चोखोनितो भएर अन्नलाई भिजाएर, दीप प्रज्वलन गर्दै तथा भजन कीर्तन गर्दै भोलिपल्ट बिहानै नुहाई धुवाई चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ । यसरी पृथ्वी लोकमा छरिएको शतवीज पितृहरूको लोकमा गएर अकुंरण हुने र यिनै बीजका कारणले पितृहरू कहिल्यै भोकै बस्न नपर्ने मान्यता हिन्दु धर्ममा उल्लेख गरिएको छ।
यस पटक प्रसिद्ध तीर्थ वराहक्षेत्र धाममा वाल चतुर्दशीको पूर्व सन्ध्यामा पितृहरूको नाममा आरती समेत सम्पन्न भएको थियो। वराहक्षेत्र संरक्षण मञ्चको आयोजनामा वाला चतुर्दशीको पूर्व सन्ध्यामा बिहीबार साँझ साढे ४ बजे उक्त आरती कार्यक्रम आयोजना भएको थियो । आरतीमा हजारौँ भक्तजनहरूको सहभागिता रहेको थियो ।आरतीमा पितृहरूको नाममा सहभागीहरूले माटोकै पाला दियो, ५ सुते बात्ती ५ बटा, तेल, चन्दन, अक्षता, फुल, जौ, तिल र कुश, एक लोटा जल लिएर आरती समेत गरिएको  वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।