चतरा : वराहक्षेत्र-१ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र धाममा पितृहरूको सम्झनामा दिव्य गङ्गा आरती सम्पन्न भएको छ। वराहक्षेत्र संरक्षण मञ्चको आयोजनामा वाल चतुर्दशीको पुर्वसन्ध्यामा सोमवार साँझ आरती गरिएको हो ।
१८ पुराणमा वर्णन गरिएको वराहक्षेत्र स्थित पावन भूमिमा पितृ उद्धारको सङ्कल्प प्रधान आरती गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताए । पितृहरूको नाममा शतवीज छर्ने दिनको अघिल्लो साँझ हुने आरतीका लागि तिर्थालुहरुले माटोकै पाला, ५ सुते बात्ती ५ थान, तेल, चन्दन, अक्षता, फुल, जौ, तिल र कुश, एक लोटा जल चढाएर पितृको सम्झना गरिएको थियो । मसिंर महिनाको कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीको दिन वराहक्षेत्र सहित देशभरका शक्तिपिठहरुमा पितृको नाममा शतवीज छर्ने गरिएको छ । यस दिनलाई मृत्युवरण गरेका पितृहरूको मोक्ष यात्राका लागि तिर्थघाटहरुमा सत बीज छर्ने परम्परा रही आएको छ ।
सतबीजका रूपमा छरिने अन्नहरूमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधाना युक्त शतवीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ। शतवीज छर्ने विषयमा ठाउँ अनुसार फरक फरक चलनहरू रहेकाले केही स्थानमा चना, तिल, मकैहरू पनि राखेर पनि शतवीज छर्ने चलन रहेको वराहक्षेत्रका प्रसिद्ध पण्डित योगेश वराहक्षेत्रले बताए । पण्डित योगेश भण्डारीका अनुसार यसरी शतवीज छर्नका लागि चतुर्दशी भन्दा एक दिन अगाडि नै अर्थात् त्रयोदशीकै दिन चोखोनितो भएर अन्नलाई भिजाएर, दीप प्रज्वलन गर्दै तथा भजन कीर्तन गर्दै भोलिपल्ट बिहानै नुहाई धुवाई चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ। पृथ्वी लोकमा छरिएको शतवीज पितृहरूको लोकमा गएर अकुंरण हुने र यिनै बीजका कारणले पितृहरू कहिल्यै भोकै बस्न नपर्ने मान्यता हिन्दु धर्ममा उल्लेख गरिएको छ।
शत भन्नले सय र बीज भन्नाले बिउ भन्ने अर्थ लाग्ने भएकाले सय अन्नको बिउलाई नै शत बीज भनिएको हो। बाल चतुर्दशीमा विशेषतः शिवजीको उपासना हुने गर्दछ। भगवान् शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बाला चतुर्दशीको दिन शत बीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि रहेको छ ।
baraha-kshetra-ganga-aarati
aarati-baraha-kshetra