इटहरी  : नेपाली काँग्रेसको १४ महाधिवेशनको पराकम्पनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणामलाई उथलपुथल बनायो । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा महाधिवेशन र स्थानीय निर्वाचनको प्रभाव प्रष्ट देखिएको छ ।  
सुनसरी क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले टिकट पायो । प्रदेशसभा (क) तर्फ नेपाली काँग्रेसका उमेश थापा उम्मेदवार बने । प्रदेश महामन्त्री समेत रहेका थापा एमाले उम्मेदवार रमेश बस्नेत सँग पराजित भए । निर्वाचनको पुर्वसन्ध्यामा आफ्नो प्रतिस्पर्धी नै नरहेको बताउने थापाले अन्ततः पराजित हुनुपर्‍यो । 
मत परिणामको अवस्था हेर्दा गठबन्धनको असहयोग भन्दा पनि काँग्रेस भित्रको किचलो प्रमुख देखियो । एमाले भित्रको असन्तुष्टिलाई आफूतर्फ आकर्षित गरेका थापाको पराजयमा काँग्रेस अधिवेशन र स्थानीय निर्वाचनको प्रभाव प्रष्ट भएको छ । काँग्रेसको प्रभाव क्षेत्रमा पनि थापाको पक्षमा मत नदेखिनुले महाधिवेशन र स्थानीय निर्वाचनको असन्तुष्टिलाई सङ्केत गरेको छ । 
उनले खुल्ला रूपमै अन्तर्घात भएको बताएका छन् । प्रदेश (क) का क्षेत्रीय सभापति अनिल श्रेष्ठले महाधिवेशनको तुष मेटाउन काँग्रेस उम्मेदवार हराउने खेल भएको बताए । पार्टी भित्रको आन्तरिक कलह आम निर्वाचनमा देखिएको उनको भनाई छ । 
क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा सिताराम मेहता अत्यधिक मतान्तरले पराजित भए । उनको पराजयमा नयाँ उम्मेदवारको खोजी प्रमुख देखिन्छ । काँग्रेस भित्रको उदार मत राष्ट्रिय स्वतन्त्र पार्टीमा गए पनि उनको प्रभाव क्षेत्रमै उनी कमजोर बने । मेहताको प्रभाव क्षेत्र मानिएको देवानगञ्ज र इनरुवामा उनले अपेक्षित मत पाउन सकेनन् । स्थानीय निर्वाचनमा मेहताको भूमिका प्रष्ट नभएको भन्दै एकथरि कार्यकर्ता उनी सँग रुष्ट देखिए ।
२ (ख) तर्फ चुनावी प्रतिस्पर्धामा रहेका राजीव कोइरालालाई आफ्नै गृह नगर इनरुवाले धोखा दियो । काँग्रेसको प्रभाव क्षेत्रमै उनको कम मत आएपछि उनी पराजित भए । फरक समूहको असन्तुष्टिले निर्वाचन परिणाम प्रभावित भएको स्थानीय नेताहरू बताउँछन् ।  क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेस उम्मेदवार विजय कुमार गच्छदार ५ हजार बढी मतान्तरले पराजित भए । यसअघि ६ पटक सम्म निरन्तर जितेका गच्छदारले यस पटक पराजयको स्वाद चाखेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा गरेको हस्तक्षेपले पनि ठुलो भूमिका खेलेको छ । ३ नम्बरको क्षेत्रीय अधिवेशनमा उनकै कारण निर्वाचन कार्य तालीका प्रभावित भएको थियो । आफ्नो पक्षका कार्यकर्तालाई क्षेत्रीय सभापति देखी महाधिवेशन प्रतिनिधि सम्म सर्वसम्मत गराउने तयारी गरेका थिए । सहमति गराउने भन्दै रातभर घरैमा भेला राखेका उनले अन्ततः दुवै पक्षका उम्मेदवारको लिस्ट तयार पारेर निर्वाचन गराउन सहमति जनाए । 
सोही क्रममा अधिवेशन स्थलमा उनी विरुद्ध नाराबाजी समेत भयो । परिणाम स्वरूप केन्द्रीय उपसभापतिमा २ मतले पराजित भए । त्यसैको बदला लिने तयारीमा काँग्रेसकै कार्यकर्ता लागेका थिए । परिणाम स्वरूप उनी पराजित भए । 
सुनसरी क्षेत्र नम्बर ४ मा पनि सोही अवस्था दोहरिएको छ । काँग्रेसका उम्मेदवार तथा बहालवाल सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की झिनो मतान्तरले विजयी भएका छन् । यसअघि पहिलो पटक सुनसरी ४ बाट निर्वाचनमा भिडेका उनी ६ हजार बढी मतान्तरले विजयी भएका थिए । यस पटक उनले सुनसरीको आन्तरिक राजनीतिमा देखाएको चासोले कार्कीलाई समस्या बनाएको काँग्रेसकै कार्यकर्ताहरू बताउँछन् । 
१४ औँ महाधिवेशनमा आफ्नो पक्षका कार्यकर्तालाई मात्र समेटेको देखी कोइराला पक्षका उम्मेदवारलाई महाधिवेशन प्रतिनिधिमै रोक्न कार्कीले हस्तक्षेप गरेको उनीहरूको गुनासो छ। त्यससँगै स्थानीय तह निर्वाचनको टिकट वितरणमा आफ्नो पक्षका कार्यकर्ताले मात्र अवसर पाएको बुझाई कार्यकर्तामाझ प्रष्ट देखिन्छ । प्रदेशसभाको समानुपातिक सुचीमा आफू निकट व्यक्तिलाई समेटेको भन्दै संस्थापन पक्षका नेताहरू नै असन्तुष्टि व्यक्त गरिरहेका छन् । जस कारण उनको निर्वाचन परिचालन प्रभावशाली नभएको देखियो । जनतामाझ भन्दा कार्यकर्तामाझ मात्र कार्कीले प्रचार प्रचार सीमित बनाएको स्थानीय नेताहरू बताउँछन् । 
सुनसरीका ४ प्रतिनिधिसभा र ८ प्रदेशसभामा काँग्रेसले जम्मा १ प्रतिनिधि र २ प्रदेशसभामा विजय हासिल गरेको छ । यसअघि वाम गठबन्धन हुँदा पनि ३ वटा प्रतिनिधिसभा सहित २ प्रदेशसभामा काँग्रेस विजयी भएको थियो ।