सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्की ३० हजार ४८३ मत सहित विजयी भएका छन् । 
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।
११२ झिनो मतान्तरले काङ्ग्रेस उम्मेदवार कार्की विजयी  भएका हुन् ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगातार दोस्रो पटक  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।  कार्कीले २०७४ सालको निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
बिहीबार बिहान सम्पन्न भएको मतगणना अनुसार ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै कार्की विजयी भएका हुन । १ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी क्षेत्र नं. ४  प्रतिनिधि सभामा ८१ हजार २ सय ३३ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 
सुनसरी-४ मा वराहक्षेत्र नगरपालिकाको ६ देखि ११ वडाहरू,  रामधुनी नगरपालिको ४ नम्बर वडा, कोसी गाउँपालिका, हरिनगर गाउँपालिकाको १ देखि ७ सम्मका वडाहरू, भोक्राहा गाउँपालिका, इनरुवा नगरपालिकाको ३, ४ र ८ नम्बर वडाहरू पर्दछन् ।
सुनसरी ४ लाई विशेष निर्वाचन क्षेत्रको रूपमा लिने गरिन्छ । २०१५ सालको आम निर्वाचनमा बिपी कोइराला सुनसरी ४ बाटै विजयी बनेर देशको पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०४८ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी ४ वाटै विजयी बनेर गिरिजा प्रसाद कोइराला देशको प्रधानमन्त्री बनेका थिए ।