इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) वर्तमान समयका चर्चित अनुहार हुन् । उनको फेसबुक पेजमा मात्रै ५ लाख ११ हजार फलोअर्स छन् । जुन प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा झन्डै दोब्बर र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को भन्दा आधा कम हो । फेसबुकमा फलो नगर्ने उनका शुभेच्छुक त्यति नै मात्रमा छन् ।  बालेनको १२ लाख फलोअर्स हुँदा देउवाको २ लाख ५६ हजार मात्र छन् । 

फेसबुक फलोअर्सकै हिसाबमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (कमरेड प्रचण्ड) र नेपाली काँग्रेसका महामन्त्री गगन थापा भन्दा लोकप्रिय छन् साम्पाङ । ओलीको ४ लाख १२ हजार प्रचण्डको ४ लाख ८९ हजार र थापाको ५ लाख ६ हजार फलोअर्स छन् । 

सामाजिक सञ्जालकै बलमा निर्वाचित साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा आसीन छन् । प्राय सबै फलोअर्स उनका समर्थक छन् । उनीहरूको हौसला र उक्साहटमा टिकेका छन् साम्पाङ । त्यसैले साम्पाङ विरुद्ध चाहेर पनि कसैले प्रश्न गर्न सकेको छैन । प्रश्न गर्ने काठमाण्डौका ठुला मिडियामा काम गर्ने पत्रकारहरू समेत उनका फ्यान छन् । 

सडकको बलमा राज्य सत्तामा पुगेका साम्पाङ सामाजिक सञ्जालको शक्तिले शक्तिशाली बनेका छन् । उनको आड भरोसा र आलोचकलाई तह लगाउने हतियार बनेको छ फेसबुक । कसैले चाहेर पनि हटाउन नसक्ने मेयर पदमा आसीन छन् उनी । उनको पक्षमा कार्यपालिका सदस्य नभए पनि सामाजिक सञ्जाल र सडकको शक्ति छ । जसले उनलाई सबैलाई गाली गर्ने शक्ति प्रदान गरेको छ । विदेशमा रहेका नेपालीले देखाएको सदाशयताले झनै हौसिएका छन् साम्पाङ । 

हिजो र आज पनि आफू आन्दोलनकै पक्षमा रहेको प्रस्ट पारेका छन् । उनको फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ (हर्क साम्पाङ एक क्रान्ती) नै छ । आफ्नो बारेमा गरिएको तारिफ, गीत र चित्रको बारेमा भिडियो बनाएर देखाइरहन्छन् उनी । जसले उनी प्रशंसाको भोका हुन भन्ने प्रस्ट पार्छ ।  

राजनैतिक पार्टी प्रति रुष्ट देखिएका साम्पाङ हरेक प्रश्नकर्तालाई दलीय ट्याग लगाउँछन् । अन्तरवार्ता लिन पुगेका पत्रकारलाई समेत ‘कुन पार्टीको पत्रकार हो’ भन्दै सोध्ने गरेका छन् । चोर, फटाहा, गधाहरू लगायत तल्लो स्तरको गालीका अभिव्यक्ति उनको फेसबुक पोस्टमा देखिन्छ । यसबिचमा उनले गरेका ‘केही ख्यास्दैन्, गफ नदे’ जस्ता कमेन्ट भाइरल भएका छन् । आलोचकलाई विकाश विरोधीको संज्ञा दिन्छन् । खोला खन्न नदिएको र भ्रष्टाचारीको विरोध गरेकाले आफू अल्पमतमा परेको भ्रम छर्न सिपालु छन् उनी ।  

केही दिन अगाडी मात्र दलित समुदायमा असर हुने गरी उनले उल्लेख गरेको पोस्टले विवाद भएको थियो । लामो समय आफू नझुक्ने बताएका मेयर साम्पाङले अन्ततः माफी माग्नुपर्‍यो । यो शिर काटिन्छ बरु,तर कदापि झुक्दैन किनकि सच्चा नेपाली हुँ । दलित आयोग प्रति बारम्बार आक्रोश व्यक्त गरेका उनी अहिले दलित कोही नभएको बताउँदै आएका छन् । 

साबुनमा आत्मनिर्भर हुने भन्दै सामुदायिक वनको जग्गामा उद्योग खोल्ने तयारीमा थिए साम्पाङ । वन विभागको अनुमति विना शिलान्यास गरेका उनलाई अदालतले अन्तरिम आदेश दिएको छ । वनको जग्गामा सम्बन्धित निकायको अनुमति विना कुनै पनि कार्य नगर्न नगराउन आदेश दिएको हो । जसको विरोधमा उनले नेपालका कानुनहरू विकाश विरोधी भएको टिप्पणी गरेका छन् । 

धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोज कुमार मेन्याङबो साम्पाङको नेतृत्व गन्तव्यहीन भएको तर्क गर्छन् । विकाश निर्माणमा ठोस अवधारणा नभएको कारण श्रम संस्कृतिको नाममा जनता अलमल्याउने काम भएको उनको टिप्पणी छ । ‘लोकतान्त्रिक संस्कार नभएकाले विरोधको आवाज सुन्न सक्ने क्षमता देखिएन । मेयर भनेको स्वयंसेवक मात्र हैन । सहरको संरचना कस्तो बनाउने र भविष्यमा कस्तो विकाश मोडेल तयार पार्ने भनेर देखाउने भिजनरी पद हो ।, उनले भने, यस्तै अवस्था कायम रह्यो भने धरान धेरै पछाडि पर्छ । अहिल्यै भन्न हतार भए पनि उपनिर्वाचन नहोला भन्न सकिन्न ।’

लामो समय देखी कार्यपालिका सदस्य र मेयर बिचको टकराब कायम छ । जसले गर्दा कार्यपालिका बैठकमै भनाभन हुने गरेको छ । मेयर साम्पाङले वडाध्यक्ष हरूलाई तह लगाउने सम्मको चेतावनी दिँदै आएका छन् । मेयर देखी कार्यपालिका सदस्य सबैले व्यक्तिगत इगोको कारण यस्ता घटना हुने गरेको मेन्याङबो बताउँछन् । 

पार्टीले असहयोग गरेको भनेर अस्पष्ट कुरा गरेर जनतालाई भावुक बनाउने काम राम्रो नभएको उनले बताए । ‘के कुरामा असहयोग भयो । कुन मुद्दामा सहमति भएन भन्ने ठोस कुरा आउँदा मात्र समस्या समाधान हुन्छ । हैन भने नेतृत्वमा बस्ने व्यक्तिले अरूले गर्न दिएन भन्दै पन्छिन मिल्दैन । औपचारिक अनौपचारिक संवादबाट समस्या समाधान गर्नुपर्छ ।’ उनले थपे,  ‘खानेपानी बोर्डको अध्यक्ष मेयर आफै हो । अहिलेसम्म बैठक बस्न सकेको छैन । हिउँदमा कसरी पानी खुवाउने र खानेपानीको समस्या कसरी समाधान गर्ने भन्नेमा के योजना छ ?’  

धरानका एक स्थानीयले आफ्नो नाम उल्लेख गर्दा मेयरले रिसइवी साध्ने बताउँदै अहिलेको अवस्थामा सत्य कुरा लेख्न र बोल्न समेत डराउनुपर्ने बताए । मेन्याङ्बोको जस्तो मिल्दो तर्क गरेका उनले साम्पाङले मेयरको पदीय जिम्मेवारी र क्षेत्राधिकार थाहा नपाएको उल्लेख गरे । ‘अभिभावक भए पनि अभिभावकत्व निर्वाह गर्न नसक्नु वहाँको कमजोरी हो । भावनामा बगेर वा आक्रोशित भएर हुँदैन । संयम अपनाउँदै संवादको वातावरण सृजना गर्ने हो भने सबै समस्या समाधान हुन्छ ।, उनले भने, फूल रोप्ने र ढुङ्गा बोक्ने मात्र हैन । व्यापार व्यवसाय प्रवर्धन र पर्यटन, संस्कार संस्कृतिको विकाश गर्नु अहिलेको आवश्यकता हो । मेयर साप क्लबको अध्यक्ष वा अभियन्ता मात्र हैन ।’

तथापि मेयर साम्पाङले फेसबुक मार्फत आफ्नो प्रभाव कायम राखेका छन् । आफ्ना समर्थक र शुभेच्छुकका अगाडी भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका छन् । कार्यपालिका सदस्यलाई कमिसन खान नपाएको देखी खोला बेच्न नदिने सम्मको अभिव्यक्तिले उनी चर्चामा छन् । 

वडा नम्बर ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई पनि मेयरको गतिविधि प्रति सन्तुष्ट छैनन् । स्वतन्त्र उम्मेदवार भएर विजयी भएका भट्टराई समेत मेयर प्रति सन्तुष्ट छैनन् । केही लचिलो बनेर अभिभावकत्व निर्वाह गर्नुपर्ने भए पनि मेयरले आफ्नो जिम्मेवारी बिर्सिएको उनको भनाई छ । लामो समय धरान बन्धक बनिरहेको अवस्थामा स्थानीय जनता, नागरिक समाज र उद्योगी व्यवसायीले खबरदारी गर्नुपर्ने उनको धारणा छ। सामाजिक सञ्जालमा भन्दा पनि कार्य योजनामा सक्रिय हुनुपर्ने सुझाव दिन्छन् उनी ।

दलका कार्यकर्ता र दलीय प्रतिनिधि विरुद्ध उनी विकाश विरोधी र भ्रष्टाचारीको आरोप लगाउनु गलत भएको पूर्व उपमेयर मञ्जु भण्डारी बताउँछिन् । स्थानीय तहमा दलको उम्मेदवार भए पनि निर्वाचित भएपछि उसले सम्पूर्ण जनताको प्रतिनिधिको हिसाबमा काम गर्ने तर्क गर्छीन भण्डारी । साम्पाङ सँगै नेकपा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेकी भण्डारीले जनप्रतिनिधिले संयम गुमाउँदा जनताले अवसर गुमाउने बताइन् ।

पछिल्लो समय कार्यपालिका बैठक देखी अनौपचारिक रूपमा पनि मेयर साम्पाङले आफ्नो शासकीय चरित्र प्रस्तुत गरेको उनको टिप्पणी छ । जनप्रतिनिधि शासक बन्न खोज्दा त्यसको परिणाम राम्रो नआउने उनको बुझाई । तत्कालीन मेयर तारा सुब्बाको निधन पछि कार्यबहाक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले ऐन, नियम र कानुन अनुसार सबैले चल्नुपर्ने धारणा राखिन् ।