धरान : धरानका लागि स्वतन्त्रबाट मेयरका उम्मेदवार हर्क साम्पाङले धरानमा ल्याइएको भूमिगत पानीको सुधार नभएकोले धरानमा खानेपानीको चरम समस्या भएको बताएका छन् । 

उनले आफू मेयरमा निर्वाचित भएको खण्डमा आफ्नो पहिलो प्राथमिकता खानेपानीको सुधार गर्ने रहेकोले धरानमा आइरहेको भूमिगत पानीको पाइप लिकेज भएर सुख्खायाममा झन् खानेपानी समस्या हुने भएकोले आफू लिकेज भएको पाइपको मर्मत गर्नका लागि जङ्गलमै गएर बस्ने बताए । 

धरानको भानु चौकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले भने–धरानलाई यहाँकै राजनीतिक दलहरूले गुलजार बनाएको बताए । यहाँ रहेका सरकारी कार्यालयहरू क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारिएको प्रसङ्ग झिक्दै वाणिज्य बैकको क्षेत्रीय कार्यालय, राजश्व तथा गुण नियन्त्रण कार्यालय, क्षेत्रीय अस्पताल, उच्च अदालत, सवारी लाइसेन्स वितरण गर्ने यातायात कार्यालय र नेपाल टेलिकमको कार्यालय समेत धरान बाहिर सारिनुको कारण यहाँका राजनीतिक दलहरूको कारणले भएको बताए । 

धरानका राजनीतिक दलहरू आफ्नो स्वार्थ सिद्ध गर्ने मात्रै भएको बताउँदै विभिन्न पार्टीहरूको फोहोरी राजनीतिको कारण देशनै तहस नसह भएको बताउँदै साम्पाङले भने पार्टीको झण्डा बोकेको २५ वर्ष बिते पनि म कुन पार्टीको हो भन्ने थाहा नपाउने पार्टीको नेतृत्व र कार्यकर्ताको कारण धरान सधैँ पछि परेको बताए ।

धरानमा हरेक चुनावमा पार्टीले जित्ने र धरानले हार्दै आएको बताउँदै धरानको खानेपानी समस्या समाधानका लागि कुनै पनि राजनीतिक दलले केही गर्न नसक्ने बताए । साम्पाङले ४१ वर्ष सम्म धरानेले खानेपानीको महसुल तिरेकोले त्यो महसुलबाट सरकारले धराने जनतालाई खानेपानी खुवाउनुपर्ने बताए ।

धरानमा रहेको खानेपानी समस्यालाई समाधान गर्नका लागि जमिन मुनिको पानी होइन, यहाँ आसपासको सिमसारको पानी होइन सप्तकोसीको पानी ल्याउँदा मात्रै खानेपानी समस्या समाधान हुने साम्पाङले बताए । धरान आसपासको क्षेत्र सिमसार हो यो स्थायी हुँदैन । सप्तकोसीको पानी हिमनदी भएकोले हिमाल रहे सम्म पानी आइरहने भएकोले सप्तकोसी नदीको पानी धरानको खानेपानी समस्याको दीर्घकालीन समाधान भएको उनले दाबी गरे । 

साम्पाङ धरान उपमहानगरपालिकाका लागि स्वतन्त्रबाट लौरो चुनाव चिन्ह लिएर मेयरको उम्मेदवार भएर अहिले घर दैलो कार्यक्रममा व्यस्त छन् । भानु चौकमा आज उनकै चुनावी सभा आयोजना गरिएको हो ।