धरान : ‘कोशी’ नाम खारेजी, पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीहरूले आज मङ्गलवार विराटनगरको गणतन्त्र चौकबाट कोशी प्रदेश सभाका सांसदहरू र राजनीतिक दलहरूले अब एक वा दुई महिने मन्त्री र मुख्यमन्त्रीको होडबाजीमा नलागी प्रदेशका जनताले अस्वीकार गरिसकेको र आन्दोलनको माग अनुसार ‘कोशी’ नाम खारेजीमा सबैले हस्ताक्षर गर्दै सर्वदलीय सरकार गठन गरी शान्ति र स्थिरताको मार्ग अपनाउन आग्रह गरेका छन् ।
संयुक्त सङ्घर्ष समितिको विराटनगर केन्द्रित वृहत् मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलका सदस्य किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले राजनीतिक दल र सांसदहरू इङ्गित गर्दै भने ‘अब प्रदेश सरकारमा एक महिने मन्त्री, मुख्यमन्त्री बन्ने होडबाजीमा नलाग्नुस्, जनताले अस्वीकार गरिसकेको कोशी नाम खारेजीमा सहमति सहित सर्वदलीय सरकार बनाउनु होस ।’
प्रदेश सभाको राजनीतिक अस्थिरताको टुङ्गो सर्वदलीय सरकारबाट मात्र लाग्ने, जनतालाई अरू नचिढ्याउन स्थिरता र शान्तिको दिशामा अग्रसर त्यो भन्दा अर्को विकल्प नरहेको उनको भनाई छ । अध्यक्ष येक्तेनले भने ‘प्रधानमन्त्री प्रचण्डले कोशी नाम भएन भनिसकेका छन् पूर्व प्रधानमन्त्रीहरुले त्यसलाई अस्वीकार गरिसकेका छन् अब एमाले र काँग्रेसले मात्र बोक्नुको औचित्य छैन, जनताले अस्वीकार गरेको कोशी कुनै पनि हालतमा टिक्दैन ।’
कोशी नाम खारेजीको आन्दोलनलाई विफल बनाउन धार्मिक विद्वेष बढाउने राजनीतिक वितण्डा पनि गर्न खोजिएकोमा त्यसलाई ‘बुद्धिमत्ता’ पूर्वक विफल बनाएको बताउँदै आदिवासी समुदाय बिच नै विभाजन ल्याउने प्रयास भएको उल्लेख गरे । भने ‘पहाडे मधेसी बिच विवाद ल्याउन जनकपुरका मधेसीलाई राई, लिम्बु मुर्दावाद सम्म भन्न लगाइएको पाइयो ।’
उनले राजनीतिक दलहरूले जातिको नाममा सङ्गठन बनाउन बन्द गर्नुपर्ने माग गर्दै दलहरूले जातीय सङ्गठन खोलेर जातिहरू बिच नै भिडन्त गराउन काम गरिरहेको आरोप लगाए । कोशी नाम खारेजीको आन्दोलनले अब संविधानमा पहिचानको अधिकारको पूर्ण ग्यारेन्टी भएपछि मात्र रोकिने बताए ।
किरात राई यायोख्याका अध्यक्ष जीवन हाथेछु राईले कोशी नाम राजा महेन्द्रले पहिलो पटक राखेको उल्लेख गर्दै प्रदेशको नाम पनि कोशी राखिनुमा महेन्द्रकालीन एक जाति, एक भाषा र भेषको नीति फेरी व्युताउने नियत रहेको बताए । रातारात षडयन्त्रपूर्वक नामकरण गरिनु पहिचानलाई प्रदेशबाटै नामेट गर्ने मुख्य उद्देश्य रहेको उनले बताए । कुनै पनि हालतमा आन्दोलनले कोशी खारेज गराएर छाड्ने उनको भनाई थियो ।
पहिचानको मुख्य शत्रु एमाले देखिएको बताउँदै धरानमा युवा सङ्घको भेलामा आएका एमालेका महेश बस्नेतले ‘प्रदेश कसैको बाउको बिर्ता होइन’ भनेको कुराप्रति आक्रोश व्यक्ति गरे । भने ‘यो प्रदेश महेश बस्नेतको बाउँको बिर्ता हो ? बिर्ता पाउन पुर्खाले दश नङ्ग्रा खियाएर अर्जेको भूमि हुनपर्छ । भक्तपुर पनि उनको बाउको बिर्ता होइन ।’
सङ्घीय लिम्बुवान मञ्चका ज्ञानुहाङ लिम्बुले आदिवासी जनजातिले नेपालमा धेरै लडाई लडे, धेरै परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरे तर जुन राजनीतिक दलमा लागेर लडाई लडे उनीहरूकै पहिचान मेटाउने काम गरेकाले अब आफ्नै लागि लड्नु पर्ने बताए ।
नागरिक उन्मुक्ति पार्टीका पदम अधिकारीले ‘कोशी’ भारतीय इशारामा राखिएको हुनाले कोशी खारेजीको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको बताए । उनले भने ‘नेपालमा समुदायको पहिचानलाई अस्वीकार गर्नेहरू अब राजनीतिक परिदृष्टबाट किनारा लाग्दै जानेछ ।’ अर्काको पहिचान स्वीकार नगर्ने हो भने आफ्नै पहिचान पनि हराउने उल्लेख गर्दै उल्ले भने ‘अरूको पहिचान नमान्ने हो भने क्षेत्री बाहुनको पहिचान पनि हराउँछ ।’
सभामा आदिवासी जनजाति महासङ्घका अध्यक्ष युवराज जिरेलले पहिचानको आन्दोलन कुनै राजनीतिक पार्टी, जाती समुदाय विरुद्ध नभएको बताए । साथै जसपा किरात मोर्चाका रमेश राई, दलित अभियन्ता नरेश विश्वकर्मा, शेर्पा सङ्घका लाक्पा शेर्पाले कोशी खारेजी आन्दोलन अब पहिचानको आन्दोलन बनेका बताउँदै आजको मोटरसाइकल र्याली रिहर्सल मात्र भएको बताए ।
र्यालीमा प्रदेशका विभिन्न जिल्लाबाट समेत कुल ६०० बढी मोटरसाइकल र्यालीमा सहभागी भई विराटनगर पुगेका थिए । संयुक्त सङ्घर्ष समितिको मोटरसाइकल र्याली सहितका विरोध कार्यक्रमबाट विराटनगरको सुरक्षा व्यवस्था प्रभावित हुने अनुमान गरी मोरङ जिल्ला प्रशासनले आइतबार असोज १ गते देखी लागु हुने गरी २ महिना लामो निषेधित क्षेत्र घोषणा गरेको छ । आजको र्याली भने निषेधित क्षेत्र तोड्ने कार्यक्रम नभएकाले शान्तिपूर्ण रूपमा भएको थियो।






































































