धरान : ‘कोशी’ नाम खारेज गरी लिम्बुवान, किरात प्रदेश पूनःनामाङकन अहिले पहिचानवादी आन्दोलनको मुख्य एजेण्डा भएकोमा जोड दिदैं किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्लाको २७ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ ।

चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले भने ‘अहिले चुम्लुङको केन्द्र देखी तल्लो तह सम्म सबै कोशी नाम खारेजीको आन्दोलनमा होमिएको छ ।’ कोशी नामकरण आदिवासी जनजातिको भूमिलाई हिन्दुकरण गर्दै उनीहरूलाई धार्मिक, सांस्कृतिक, भाषिक, भूमि माथिको अधिकार विहीन बनाउने षडयन्त्रको रूपमा आएको उनले बताए ।

धरान-१५ चुम्लुङ हिममा भएको सभामा प्रमुख अतिथि तिगेलाले च्याब्रुङ बजाएर साधारण सभाको उद्घाटन गरेका थिए । सभामा चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले पहिचानको आन्दोलन कोशी नाम खारेज नभए सम्म बढ्दै जाने बताइन् । आदिवासी आन्दोलनको रूपमा अघि बढेको ‘कोशी’ नाम खारेजीका लागि चुम्लुङ सशक्त रूपमा अघि बढ्नु पर्नेमा उनले जोड दिइन् ।

सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले राज्यले नामेट गर्न खोजेको भाषा, धर्म र संस्कृतिलाई चुम्लुङले लिम्बु समुदायलाई एकीकृत गरी संरक्षण र विकास गर्ने कार्य गर्दै आएको बताए । आर्थिक, सामाजिक समावेशी र राजनीतिक अधिकारका लागि ‘कोशी’ नाम खारेजीको आन्दोलन निर्णायक रहेका बताए ।

सभामा केन्द्रीय सल्लाहकार ध्रुव सुब्बा, चन्द्रमाया लिम्बु, चुम्लुङ प्रदेश समिति सदस्य दिलु वनेम लिम्बु, सांस्कृतिक परिषद्का सैनध्वज लिम्बु, अग्रज चुम्लुङ सल्लाहकार हेमलाल लिम्बु, तेजबहादुर फागोचोङबाङ, चुम्लुङ राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बू लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

सभामा जिल्ला सचिव शिव इस्वोले चुम्लुङ जिल्ला समितिको सांगठानिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष स्वर्णिमहाङ फोम्बोले जिल्ला समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले प्रतिवेदनहरू छलफल सहित पारित गरेको छ ।

चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङको सभापतित्वमा भएको सभामा उपाध्यक्ष उदय कुरुम्भाङले स्वागत भाषण गरेका थिए । सभामा चुम्लुङमा लामो समय सम्म योगदान गर्दै आएका पूर्णमाया तिगेला, कविता पयाङगु र भोटेपुल केलाङ समुह-३ लाई सम्मानित गरिएको थियो ।

him chalfal 3