धरान : औलामा गन्न सकिने नेपाली गायकहरूका गायन अहिले उनीहरूका ‘नाति पुस्ता’मा पनि कालजयी लोकप्रियता कायम रहेको पाइन्छ । नेपालको गायन क्षेत्रमा ‘नेपाली बब मार्ली ’को छवि बनाएका गङ्गा बरदान त्यस मध्ये एक हुन ।

उनका बारेमा धेरै लेखिएका छन् । त्यसले वरदानको दैनिक जीवनमा बदलाव ल्याएको छैन । आम मानिसको सादा जीवन, खुलस्त कुराकानी उनको विशेषता रहँदै आएको पाइन्छ । उनको गीतका भाका कण्ठ गरेका समकालीन देखी स्कुले विद्यार्थीसङ वरदान सहज रूपमा ‘बात मारेको’ धरान बजारमा भेटिन्छन् । 

बिन्दास जीवन शैली

प्रायः नाम सुनिएका कवि, कलाकार, गायकसँग यसरी भेट गर्न सकिन्न । बाटामा हिँड्दा हिँड्दै अडिएर, भित्तामा अडेस लगाएर, फुटपाथमा टुक्रुक्क बसेर ‘बात मार्ने’ प्रसिद्ध व्यक्तिहरू कमै छन् । त्यस मध्ये पनि गङ्गा वरदान एक हुन ।

उनको यो ‘जीवन शैली’ लाई कसैले नरुचाए पनि नेपाली बब मार्लीलाई त्यसले कुनै फरक पारेको छैन । ‘सबै आफ्नो मतलबका कुरा गर्छन्, म आफ्नै धुनमा हुन्छु’ गएको शुक्रवार छाता चौक मैनाली पुस्तक पसलको बल्याँसीमा बसिरहेको बेला भेट भएका वरदानले भने ।

उमेरले डाँडा काटे पनि सदाबहार विन्दास छविका उनी गीतकै ‘धुन’मा हुन्छन् । वरदानले प्रायः आफैले रचना गरेका गीतहरू मात्र गाएका छन् । उनलाई गायनमा गीतको पृष्ठभूमिले प्रेरणा दिन्छ । हिजोआज समीक्षकहरूले ‘रचना गर्भ’ भन्ने गरेको उत्प्रेरक पृष्ठभूमिले लोकलय सिर्जना गर्न मद्दत गर्ने वरदानले बताए ।

छप्प पैसा टक्क बियर...

उनी केही छानिएका आफ्ना गीतहरूलाई छुट्टै एल्बम बनाउने ‘धुन’ रहेछन् । त्यस मध्ये मनाङको रमणीयताबाट प्रभावित भएर रचना गरेको गीतका बारेमा उनले बताए । २०६८ सालमा पहिलो पटक मनाङ पुग्दा त्यहाँको प्रकृतिबाट आह्लादित भएका उनले त्यसलाई गीतमा प्रकट गरेका छन् ।

वरदानले भने ‘काठमान्डु बस्दा चिनेका साथीभाइहरूले मनाङ घुम्न जाऊँ भने, त्यहाँ पुगेपछि गीत फुयो नलेखी मनै मानेन ।’ लेखेको गीत नगाई एउटा गायकका लागि नजन्मिएको छोरो जस्तै हुनु अस्वाभाविक होइन ।  काठमान्डुमै म्युजिक कम्पोज गराई गाएको ‘मनै छुने मनाङ रैछ, हिमाल वरिपरि’ बोलको त्यो गीत उनका लागि अवस्मरणिय बनको छ ।

‘छप्प पैसा, टक्क बियर’ पोखराको पर्यटकीय रमाइलो जीवन शैलीमा उनले रचेका र गाएको गीत अको अवस्मरणिय रहेका वरदानले बताए । फेवातालको किनारमा होटेल रेस्टुराँका झिलमिल, पर्यटकहरूका चहल पहलको दृश्यले उनको मनमा पारेका प्रभाव गीतमा प्रकट गरेका छन् । उनको भनाई छ ‘जस्तो सुकै बेरागीलाई पनि फेवातालको चहल पहले रोमाञ्चक बनाउने क्षमता देखिन्छ ।’

चटपटे कि बटर ब्रेड

वरदान जहाँ जहाँ पुगेका छन्, त्यहाँको सामाजिक, सांस्कृतिक दृश्य हरूलाई नयाँ नयाँ गीतको विषय बनाएका छन् । संगीतिक कार्यक्रममा हिँडेका वरदान मञ्चमा ठाउँ ठाउँका गीत गाउँछन् र त्यहाँबाट टिपेर ल्याएको गीत अर्को ठाउँमा गाउन पुग्छन् ।

हङकङको रात्रिकालिन जीवनलाई उनले यसरी नै टिपेर नेपालका विभिन्न ठाउँमा गएका छन् । निकै अघि उनी साङ्गीतिक कार्यक्रममा हङकङ पुगेका थिए । घुमघामका बेला उनलाई त्यहाँको खानपानले प्रभावित गर्यो । उनको मनमा गीत फुर्यो ‘चटपटे खान्छौ कि ब्रेड बटर’ २००२ मा लेखिएको वरदानको यो गीत पनि निकै लोकप्रिय बनेका उनको भनाई छ ।

धराने हावा, तोङबा र पानी...

GAnga-bardhan-dharane-hawa‘छपनीले छान छन्, डबकीले हान’ वरदानको सर्वाधिक लोकप्रिय गीत हो । उनका गीतहरूमा पाइने सामाजिक, सांस्कृतिक छविको प्रबल उपस्थितिका कारण पनि जनजिब्रोमा गीतको बो झुन्डिने गरेको छ । यस्तो सामाजिक बिम्ब उनले धेरै धरानबाट उठाएका छन् ।

त्यसैले पनि होला ‘धराने हावा तोङबा र पानी’ छोड्नै नसकिने गीत भएको उनी बताउँछन् । साङ्गीतिक कार्यक्रमहरूमा पनि श्रोताहरू माझबाट आउने फर्माइस यीनै गीत हुने गर्छन् । फमाइसै नभए पनि मञ्चमा हौसिँदै गाउने उनलाई गाऔँ गाऔँ लाग्ने गीत यो पनि हो ।

प्रविधिप्रति लापरवाह वरदान

पछिल्लो समय सामाजिक, सञ्जाल युट्युबको सवालमा भने गङ्गा वरदान लापरवाह देखिएका छन् । उनका कतिपय गीतहरू युट्युबमा सर्च गर्दा भेटिन्छन् । रेडियो, एफएममा बजेका गीतहरूको रायल्टीको कुरा चलेको बेला युट्युबबाट आउने रोयल्टी बारे भने वरदान अनभिज्ञ छन् ।

कुनै कुनै बेला युट्युबबाट लिङ्क गरिएको आफ्नै गीत सामाजिक सञ्जालमा उनी सुन्छन् । त्यो गीत कसले युट्युबमा राख्यो भन्ने कुरामा भने उनले चासो राखेको पाइन्न । उनले भने ‘कुनै कुनै बेला मेरो गीत फेसबुकमा सुन्छु ।’ तर त्यो उनी आफैले राखेका होइनन्, न औपचारिक रूपमा युट्युब रिलिज नै गरिएको हो । 

मोबाइल बोक्छन्, फेसबुक हेर्छन् तर उनको आफ्नो युट्युब आइडी छैन । न आफ्ना एल्बमका गीतहरू नै युट्युबमा अपलोड गराएका छन् । पछिल्लो युट्युब आम्दानीको राम्रो माध्यम बनेका बेला वरदानलाई पनि उनका गीतहरूले राम्रो ‘फोकट खर्च’ सक्छ भन्ने कुरामा उनी बेपर्वा देखिएका हुन ।

पेन ड्राइभमा एल्बम

उनका अनुसार युट्युबमा गीत अपलोड गर्ने कुरा सिल्भर इन्भेस्टमेन्ट सँग भएको थियो । वरदानले भने ‘मैले स्वीकृति चैँ दिएको थिएँ तर त्यस पछि के भइरहेको छ केही थाहा छैन ।’ सांगिति कार्यक्रमहरूमा पारिश्रमिकका बारेमा गुनासो गर्ने वरदान रोयल्टीका बारेमा भने अनभिज्ञ रहेको पाइयो ।

यता उनलाई मन परेका गीतहरूको छुट्टै एल्बम भने पेन डाइभमा निकाल्ने उनी बताउँछन् । त्यसको लागि लगानी गर्ने मानिसको खोजी गरिरहेको उनले बताए । पछिल्लो समय प्रविधिले गीत, सङ्गीत देखी चलचित्र सम्मलाई युट्युबमुखी बनाएको बेला वरदानका सिर्जनाहरू त्यस भन्दा बाहिर रहनु दुर्भाग्यपूर्ण छ ।

चार एल्बम बाहेक पनि गीतहरू छन्

गङ्गा वरदानका गीतहरूका ४ वटा एल्बम यस अघि सार्वजनिक भैसकेको छ । तर एल्बमहरू युट्युबमा अपलोड भएको छैन । तर उनी भन्छन् ‘कसैले युट्युबमा हाल्यो भने मलाई थाहा भएन तर, मेरो गीतमा उछृंखल शब्द, भाषा नहुने भएकाले होला रेडियो, एफएमले कमै बजाउँछन् ।’

उनको गङ्गा वरदान भाग १, २, ३, ४ यसअघि बजार आइसकेको छ । ती चार क्यासेट, सिँढी एल्बममा कुल २८ गति समेटिएका छन् । त्यस बाहेका १३ वटा फुटकर गीत वरदानले गाएका छन् । रेकर्ड भैसकेका ती गीतहरूका मास्टर कपीको खोजीमा उनी छन् । उनी भन्छन् ‘मैले धेरै गीत गाएका छुइन ।’ तर जति गाएका छन् सबै बुलन्द छन् ।

नयाँ गीतहरूप्रति असन्तुष्ट

पछिल्लो समयका नेपाली गीतका शब्द, भाषाप्रति गायक गङ्गा वरदान असन्तुष्ट छन् । वरदान भन्छन् ‘नेपाली भाषाको गीतामा नेपाली विषयवस्तु छैन, के भन्न खोजिएको हो गायकलाई थाह नभएको जस्तो गीत सुन्नु परेको छ ।’ नेपाली गीत भएपछि नेपालीपन, सामाजिक, सांस्कृतिक विषयवस्तुको सन्देश हुनुपर्छ त्यो अहिलेका गीतहरूमा पाइन्न ।’

लोकलयलाई आधुनिक पप शैलीमा प्रस्तुत गरेर चर्चामा आएका वरदान तिसको दशकमा चर्चाको शिखरमा रहे । उनको भाव, मंगिमा र कपाल, पोशक लगाईको स्टाइल अमेरिकी गायक बब मार्लीको नक्कल गरिएकाले उनी नेपाली बब मार्लीका रूपमा लोकप्रिय बने ।

मार्लीको गायनबाट प्रभावित गङ्गा वरदानले चालिसको दशकमा नेपाली मौलिक लोक भाकालाई आधुनिक पप शैलीमा प्रस्तुत गरेपछि युवाहरूमा चर्चित भए । स्थानिय विषय, भाषा, संस्कृति र स्थानहरूलाई प्रमुखता दिए रचना गरिएका उनका गीतहरूमा मौलिकपन पाइने उनको दाबी छ । उनी गाउँछन् पनि आफ्नै भाकामा आफ्नै लोकका कुरा ।

Dharane-ganga-bardan