धरान : आइतबार बेलबारीबाट धरानतर्फ आउदै गर्दा बसका कर्मचारीहरुबाट बसभित्रै कुटिएका गायक गंगा वरदानले कानुनी कारबाहीको लागि प्रहरीले उजुरी दिएका छन् ।

गायक वरदानले सोमबार बिहान इलाका प्रहरी कार्यालय बेलबारीमा कुटपिट गर्ने ना ५ ख २८९४ नम्बरको बसका चालक, कण्डक्टर र सहचालक(खलासी)विरुद्ध उजुरी दिएका हुन् । प्रहरी निरीक्षक रामकुमार राईका अनुसार तिनैजना विरुद्ध अभद्र व्यावहार गरेको उजुरी दर्ता भएर म्याद थप गर्न जिल्ला अदालतमा पठाइसकिएको छ । ‘उहाँले अभद्र व्यवहार गरेको बिषयमा उजुरी दिनुभएको छ, म्याद थप गर्न पठाइसकेको छुँ,’उनले भने ।

गाडीको मालिकसमेत रहेका चालक निरन घिमिरे र सहचालक सुजन श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् भने गायक वरदानलाई कुटपिट गर्ने मुख्य आरोपित एवं बसका कण्डक्टर रोशन श्रेष्ठ भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक राईले बताए ।

गायक वरदानले कपुरी न्यूजसँग मोवाइल सम्पर्कमा आफुलाई केही नचाहिएको तर कुट्ने मुख्य व्यक्ति (कण्डक्टर) को हात किच्याउने इच्छा भएको प्रतिक्रिया दिए । आफुलाई विना कारण कुटेको बताउदै उनले भने,‘फटाहा मान्छे रहेछ । मलाई केही चाहिएन, कडा कानुनी कारबाही होस्, नत्र मलाई त्यसको हात किच्चाउन मन छ ।’ आफुले प्रहरीमा उजुरी दिइसकेको पनि उनले खुलाए ।

के भएको थियो बसभित्र ?

गायक वरदान मोरङको इटहरास्थित ठुली दिदीको घरमा भाइटिका लगाउन गएका थिए । उनीसँगै श्रीमति प्रिक्मा र नातिनी नाता पर्ने पनि इटहरा गएकी थिइन् । नातिनीको घर मोरङको लक्ष्मीमार्गमा पर्छ । उनी पत्नीसहित शनिबार नातिनीको घर लक्ष्मीमार्गमा बसे । आइतबार धरान फर्कन लक्ष्मीमार्गबाट सफारीमा बेलबारीसम्म गएर बसमा चढेका थिए ।

बसमा चढेपछि कण्डक्टर श्रेष्ठले कहाँ जाने भनेर सोधेका थिए । गायक वरदानले ‘धरान जाने हो, सिट नभएपनि चढी हाले’ भनेर जवाफ फर्काएका थिए । ‘मैले त केही भनेकै थिइनँ, उसैले कस्तो कस्तो मान्छे चढ्छ यार, भन्यो,’गायक वरदानले कपुरी न्यूजसँग भने,‘अनि, मैले नि कस्तो लाग्यो भाई, के भनेको भने । उसले त चिनी खाने, जाँड खाने पो भन्न थाल्यो ।’ त्यसपछि, आफुले पनि यस्तो के भनेको भनेर आपत्ति जनाउदा एक्कासी मुक्का हानेको गायक वरदानले बताए । ‘के भनेको भाई मात्र भनेको थिए, ब्याङ्ग हानिहाल्यो, मेरो चल्नी मास्तिर लाग्यो, रगत नै आयो । चल्नीमा लागेको भए त के हुन्थ्यो के,’उनले भने ।

गायक वरदानका अनुसार देब्रे निधारमाथि टुटुल्को उठेको छ । कण्डक्रले अन्य यात्रुहरुलाई थर्काउदै भाडा उठाउने गर्ने गरेको उनले बताए । अहिले आफ्नो अवस्था सामान्य रहेको पनि गायक वरदानले खुलाए । ‘यात्रु चढेपछि त राम्रो बोली, व्यवहार पो गर्नुपर्छ त । ड्राइभरले पनि गाडीबाट फाल्दे पो भन्यो,’ उनले थपे ।