इटहरी : सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिगत समस्याको कारण सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी अभाव हुने गरेका छन् । सहकारी कलेजले स्नातक तहको ४ बर्से कृषि विषयमा पठन पाठन गराउँदै आएको छ । वार्षिक ५० जना विद्यार्थी पढाउने अनुमति पाए पनि विश्वविद्यालयको नीतिगत समस्याले एक जना पनि विद्यार्थी भर्ना गर्न नसकिएको कलेजका व्यवस्थापक शिव डाँगीको भनाइ छ ।

२० बिघा जग्गामा फैलिएको जीविका कलेजमा कृषि फार्म, सुविधा सम्पन्न कलेज भवन, व्यवस्थित ल्याब, पुस्तकालय छन् । कलेजमा ६ जना पूर्णकालीन सहित १५ जना प्राध्यापकहरू कार्यरत छन् ।

विश्वविद्यालयले ८ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेजबाट कृषि तथा वन विज्ञानको स्नातक तहमा विद्यार्थी पढाउँदै आएको छ । एक शैक्षिक सत्रमा ८ सय ५० जना विद्यार्थी आवश्यक पर्ने भए पनि ६ सय हाराहारी मात्र प्रवेश परीक्षा उत्तीर्ण हुने गरेका छन् । 

नीतिगत परिवर्तन आवश्यक

विश्वविद्यालयले प्रवेश परीक्षा मार्फत विद्यार्थी भर्ना गराउने नीतिले कलेजहरू सङ्कटमा पर्दै गएका छन् । मुख्यतः सम्बन्धन प्राप्त कलेजको हकमा विद्यार्थी अभावले गम्भीर असर पुर्‍याइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयका वन विज्ञानका प्रोफेसर प्राध्यापक डाक्टर सन्तोष रायमाझी प्रवेश परीक्षा खुल्ला गर्नुपर्ने बताउँछन् । एकातिर विद्यार्थीको आकर्षण घटिरहेको बेला प्रवेश परीक्षा कडा गरेपछि भर्ना दर स्वतः कम हुने उनले बताए ।

उदारताका साथ विश्वविद्यालयले विद्यार्थी भर्नालाई अगाडी बढाउनुपर्ने उनको भनाइ छ । विद्यालय स्तरमा विज्ञान मात्र हैन अर्थशास्त्र विषय पढेका विद्यार्थीको लागि पनि कृषि तथा वन वातावरणमा भर्ना खुल्ला गर्नुपर्ने डाक्टर रायमाझीको धारणा छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्य प्रसाद रेग्मी कृषि तथा वनमा मात्र हैन अन्य सङ्कायमा पनि विद्यार्थीको सङ्ख्या कम भएको बताउँछन् । नमुना प्रवेश परीक्षाको रूपमा निष्पक्ष तरिकाले सञ्चालन गर्दै आएको उनको दाबी छ । कलेजमा विद्यार्थीको अभाव रहेको विषयमा सम्बन्धित कलेजको सेवा सुविधा अनुसार विद्यार्थीले कलेज छनौट गर्ने उनको तर्क छ ।

‘विद्यार्थी भर्नामा भएका झन्झटिला प्रक्रियाको विषयमा समीक्षा गर्न सकिन्छ । प्रवेश परीक्षामा अनुत्तीर्ण भएको विद्यार्थी कोर्समा अब्बल हुन सक्छ । कतिपय नीतिगत समस्या भएका भए त्यसलाई समयानुसार परिमार्जन गर्न सकिन्छ,’ उनले भने ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर तथा कलेज अफ इन्भारोमेन्ट एण्ड फरेस्टीका प्रमुख नवीन भट्टराई विद्यार्थी सङ्ख्या घट्दै गएको बताउँछन् । विद्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागि विदेश जाने क्रम बढेसँगै नेपालका प्राविधिक कलेजहरूको आकर्षण कम भएको उनको भनाइ छ ।

उनले भने ‘नेपालमा सम्बन्धन पाएका खुलेका विदेशी विश्वविद्यालयले ३ बर्से कोर्स पढाउने गरेका छन् । हामीले ४ बर्से कोर्स पढाउँछौ । नेपालका विश्वविद्यालयमा अनावश्यक राजनैतिक हस्तक्षेपले धेरै असर पुर्‍याएको छ । हाम्रो कलेजमा पनि कोटाको ५० प्रतिशत मात्र विद्यार्थीले अध्ययन गरिरहेका छन् । मुख्यतः कृषिमा राम्रै भए पनि वनमा आकर्षण देखिएको छैन । वन विज्ञानमा अवसरको अभावले विद्यार्थीहरू आकर्षित हुन सकेका छैनन् ।’

Jibika-college-2