धरान : इटहरी स्थित नरबहादुर कर्माचार्य बहुप्राबिधिक शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सिटिइभीटिबाट डिप्लोमा ईन फार्मेसी यसै शैक्षिक शत्र देखि पढाइ गर्न स्वीकृति प्रदान गरेको छ ।

शिक्षालयका अध्यक्ष निर्मल बरालका अनुसार पठनपाठनको स्वीकृति प्राप्त भएकोले चालू शैक्षिक सत्र २०८० बाटै शिक्षालयले डिप्लोमा ईन फार्मेसीको कक्षा सुरु गर्न भर्ना प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य कार्यक्रम तर्फ स्वास्थ्य शिक्षा अध्ययन गर्न चाहनेहरूका लागि फारम भर्न चाहने विद्यार्थीहरूलाई फारम खुला गरिएको उनले बताए ।

स्वास्थ्य कार्यक्रम अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएकाहरू मध्येबाट वेटिङ लिष्टमा रहेका विद्यार्थीहरूले असोज २९ गते भित्र आवेदन दिन शिक्षालयले सूचना प्रकाशित गरेको छ ।

डिप्लोमा ईन फार्मेसी अध्ययनका लागि कोशी प्रदेश भरबाट ४० जना विद्यार्थीको कोटा शिक्षालयले प्राप्त गरेको अध्यक्ष बरालले बताए ।

सुनसरीमा फार्मेसी विषय विद्यार्थीहरूको सर्वाधिक रोजाइको विषय रहेकोले डिप्लोमा इन फार्मेसी शिक्षा सञ्चालनमा ल्याइएको उनको भनाई छ ।