- अनुसा थापा
विश्वव्यापी कोरोना महामारीले थलिएको व्यापार-व्यवसाय हाल आर्थिक मन्दीको चपेटामा परेको छ । आर्थिक मन्दीका कारण हरेक व्यवसाय चौपट भइरहेको अवस्था छ । अहिले मङ्सिरको महिना छ । मङ्सिरमा सबैभन्दा धेरै विवाह हुन्छ । तर, पार्टी प्यालेस सञ्चालकहरूको अनुहारमा रौनक भने छैन । पार्टी प्यालेसमा भोज दिने क्रम स्वात्तै घटेको उनीहरू बताउँछन् ।
विगतमा पार्टी प्यालेसमा भोज गर्नलाई एक महिना अगावै बुकिङ गर्नुपर्थ्यो । अत्यधिक बुकिङका कारण पार्टी प्यालेसहरूलाई धपेडी हुने गरेको थियो । कतिपयलाई त नभ्याएर टार्नुपर्ने अवस्था थियो । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ । मङ्सिर महिनामा समेत पार्टी प्यालेसहरू चकमन्न छ । पार्टी प्यालेसको अवस्थाले नै देशको आर्थिक मन्दी छर्लङ्ग पारेको छ ।
यसअघि विवाहका लागि बुवा आमाले जग्गा बेच्थेँ । शेयर र गाडी बेचेर छोराछोरीको विवाह गर्दथेँ । अहिले यी क्षेत्रमा पूरै मन्दी छाएको छ । घरजग्गा कारोबार ठप्प झैँ छ । यता, शेयर र गाडीको मूल्यमा पनि व्यापक गिरावट आएको छ । तैपनि यति बेला सस्तोमा बेच्छु भन्दा पनि खरिदकर्ता भेट्न मुस्किल छ । घरमा विवाह गर्नुपर्ने छोराछोरी छन् तर बुवा आमासँग पैसा नभएको अवस्था छ ।
यता, सहकारीहरूले पहिले पहिले पार्टी प्यालेसमै साधारण सभा गर्थेंं । हजारौँ सहकारीले साधारण सभा गर्दा पार्टी प्यालेसको राम्रो धन्दा चलेको थियो । यद्यपि, अहिले साधारण सभा गर्न सहकारी नै छैनन् । सहकारीहरू धमाधम भागिरहेका छन्, डुबिरहेका छन् । जसको मर्का पार्टी प्यालेसलाई पनि पर्यो । सहकारीबाट भइरहेको आम्दानी पार्टी प्यालेसहरूले गुमाउनु पर्यो ।
म्युजिक भिडियो सुटिङ गर्नेहरूको पनि लोकप्रिय स्थल थियो, पार्टी प्यालेस । पार्टी प्यालेसमा ठाउँ ठुलो हुने भएकाले त्यही नाचगान गरेर सुटिङ गरिन्थ्यो । दोहोरी साँझहरूले पनि पार्टी प्यालेसमै कार्यक्रम गर्दथेँ । अहिले म्युजिक भिडियो बनाउने क्रम पहिलेभन्दा घटेको छ । जसको मर्कामा पार्टी प्यालेस परेको छ । विभिन्न सङ्घसंस्था, राजनीतिक दलका कार्यक्रम पनि पार्टी प्यालेसमै आयोजना गरिन्थ्यो ।
पछिल्लो समय राजनीतिक दलहरूले निकै न्यून मात्र कार्यक्रम गरिराखेका छन् । त्यो पनि पार्टी प्यालेसमा हुँदैन । बाहिर साधारण रूपमा कार्यक्रम गरिन्छ । उद्योग व्यवसायी, यातायात व्यवसायी, निर्माण व्यवसायीलाई पनि आर्थिक मन्दीले छोएको देखिन्छ । उनीहरूले पनि आर्थिक मन्दीका कारण कार्यक्रम गर्न छाडे । केही समययता पार्टी प्यालेस खुल्ने क्रम ह्वात्तै बढेको छ ।
भव्य नाफा हुने भएकाले अधिकांशले पार्टी प्यालेसमा लगानी गरेका छन् । काठमाडौँ उपत्यका होस् या बाहिरी जिल्ला, पार्टी प्यालेस सबैतिर खुलेका छन् । दुई-तीन घरको बिचमा पार्टी प्यालेस भेटिन्छ । पार्टी प्यालेस पछिल्लो समय किराना पसलझैँ भएको छ । ६ आनादेखि तीन रोपनीसम्म जग्गामा पार्टी प्यालेस सञ्चालन भएका छन् । घना बस्ती र बाटाको छेउमा पार्टी प्यालेस छन् ।
पार्टी प्यालेसले खाना अनुसार प्लेटको १३ सयदेखि ३५ सय रुपैयाँसम्म लिँदै आएका थिए । तीन वर्षअघि पार्टी प्यालेसलाई भोज गरेर भ्याइन भ्याइ हुन्थ्यो । एक दिनमै दुई तीन वटासम्म कार्यक्रम हुन्थेँ । जसका कारण पार्टी प्यालेस खोल्नेको लर्को लाग्यो । बैङ्कहरूले त्यही नाफा देखेर आँखा चिम्लेर पार्टी प्यालेसमा लगानी गर्यो । पार्टी प्यालेसमा क्यासको व्यापार हुन्छ ।
एउटै पार्टी प्यालेसले दिनको १० लाखदेखि करोडसम्म आम्दानी गर्दै आएका थिए । जसका कारण बैङ्कहरूको आँखा त्यतातिर गयो । अहिले पार्टी प्यालेस सञ्चालकहरूलाई बैङ्कको कर्जा कसरी तिर्ने ? भन्ने चिन्ताले पिरोलेको छ । उनीहरू पार्टी प्यालेस छोडेर भाग्नुपर्ने स्थितिमा पुगेका छन् । पार्टी प्यालेस सञ्चालकले ऋण तिर्न नसकेपछि बैङ्कहरूसँग पनि लिलामी बाहेकको विकल्प छैन ।
तलब दिन नसकेपछि पार्टी प्यालेस सञ्चालकहरूले कामदारहरूलाई धमाधम कामबाट निकालिरहेको छ । पार्टी प्यालेसले गर्दा धेरैले रोजगारी गुमाएका छन् । पार्टी प्यालेसमा भोज हुँदा भाडा माझ्नेदेखि लिएर कुकसम्मले जागिर पाएका थिए । मासिक १० हजारदेखि लिएर ३५ हजारसम्म तलब खाने थिए । हाल जागिर गएपछि उनीहरू पनि तनाव छन् । उनीहरू के गर्ने ? भनेर समस्यामा छन् ।
पार्टी प्यालेसमा विवाह, व्रतबन्ध र भोज गर्न सहज भए पनि पैसाबाट निकै महँगो थियो । सबैले खाएको शुल्कको रेट एउटै थियो । चाहे त्यो बच्चा होस् या बुढा । बच्चाले प्लेट समात्यो भने पनि त्यही पैसा, बुढाले समात्यो भने पनि त्यही पैसा । बच्चा र बुढाले कतिचाहिँ खान्छन् र ? पार्टी प्यालेसका खानाको गुणस्तरलाई लिएर पटक पटक प्रश्न उठिसकेको छ । सरसफाइहीन र गुणस्तरहीन खाना पार्टी प्यालेसले बेच्दै आएको छ ।
पार्टी प्यालेसको खानाले बिरामी भएका घटनाहरू पनि सार्वजनिक भएका छन् । यी सबै विषयलाई साइडमा राखेर सर्वसाधारणले भोज गर्दै आएका थिए । तर, आर्थिक मन्दीले च्यापेपछि भोज गर्ने क्रम रोकिएको छ । एक समय फिल्म हल, गलैँचा, गार्मेन्ट पार्टी प्यालेसझैँ खुलेको थियो । नचलेपछि बिस्तारै बन्द भए । अहिले पार्टी प्यालेस पनि त्यही अवस्थामा छ ।
आम्दानी नभएपछि पार्टी प्यालेस बन्द गरेर हिँड्नुपर्ने अवस्था बनेको छ । बिहे गर्नेहरूले पनि साटुकसुटुक मन्दिरमा गरिरहेका छन् । अधिकांश कार्यक्रम घरमै गरिँदै छ । महँगी बढेको छ । रोजगारी छैन । त्यसैले पनि सर्वसाधारणले खर्च कटौती गर्न थालेका छन् । बैङ्कहरूले धितो राखेर कर्जा दिन्छ । ऋणीहरूले ऋण तिर्न सकेनन् भने धितो लिलाम गर्ने हो । कानुन पनि त्यही हो, व्यवहारमा पनि त्यही छ ।
बैङ्कहरूले धितो त लिलाम गर्ला तर कसलाई लगेर भिडाउने । घरजग्गा त्यत्तिकै छन्, अब पार्टी प्यालेस पनि । आर्थिक मन्दीले त बैङ्कलाई पनि रुवाएको छ । बैङ्कहरूले लिलामीमा राख्दा पनि किन्ने कोही छैनन् । बैङ्क तथा वित्तीय संस्थाले छिटो नाफा कमाउन खोजे । जसका कारण आँखा चिम्लेर लगानी गरियो । बैङ्कहरूले कर्जा दिने भएपछि व्यक्तिले धमाधम ऋण ल्याउँदै त्यही लगानी गरे ।
व्यापार व्यवसाय त डुबिहाले, बैङ्कलाई पनि सकस पर्यो । पहिले पहिले सम्पूर्ण कार्यक्रमहरू घरमै हुन्थ्यो । बिहे, व्रतबन्ध, काजकिरिया पनि घरमै गरिन्थ्यो । पछिल्लो तीन दशकदेखि नेपालीको बानी बिग्रियो । हुनेखानेहरूले पार्टी प्यालेसबाट भोज लगाउँथेँ । अरूमा पनि त्यसकै प्रभाव पर्यो । देखासिकीले गर्दा सबैले बिहे, व्रतबन्ध पार्टी प्यालेसबाट गर्न थालेँ । जायजेथो बेच्ने, ऋण लिने अनि भोज दिने ।
आर्थिक मन्दीले सबैलाई पुरानै स्थितिमा पुर्याएको छ । बिहे, व्रतबन्ध, मृत्यु अनिवार्य संस्कार हो । यसलाई नै व्यापार गरेर कमाउने माध्यम बनाए, पार्टी प्यालेस सञ्चालकहरूले । पार्टी प्यालेस सञ्चालकका कारणले नेपालीहरूको संस्कार नै सङ्कटमा परिसकेको छ । संस्कार गर्नलाई लाखौँ, करोडौँ रुपैयाँ खर्च गर्नुपर्ने भन्ने छैन । सामान्य रूपमा थोरै खर्च गरेर पनि संस्कार हुन्छ ।
अहिले त संस्कारमाथि देखासिकी हाबी भएको छ । देखासिकीका कारणले आर्थिक अवस्था कमजोर भएकाहरूले संस्कार गर्नै नसक्ने अवस्था आयो । बाहुनहरू पनि निकै धर्मात्मा थिए । अहिले त बाहुन पनि कमाउनतिर लागेका छन् । धर्म, कर्म सबैले बिर्सिए, सबै कमाउनतर्फ मात्र केन्द्रित छन् । विगतमा सबै जना घरमा भेला हुन्थेँ । मिलीजुली संस्कार गर्थेँ । रमाइलो हुन्थ्यो ।
पार्टी प्यालेसले गर्दा बेतिथि निम्तियो । नेपाली संस्कार पनि सङ्कटमा पर्यो । ठगी र बेतिथि निम्त्याएको पार्टी प्यालेस आफैँ टिक्न सकेन् । बन्द हुने अवस्थामा पुग्यो ।
भक्तपुर