धरान : आदिवासी जनजाति भाषा, संस्कृतिका अध्येता भाषा विज्ञ प्राडा टङ्कप्रसाद न्यौपानेले पहिचानको राजनीतिलाई अघि बढाए जसरी नै आदिवासी जनजातिले आफ्नो मातृभाषालाई समृद्ध बनाउने बाटोमा पनि अग्रसर हुन जरुरी भएको बताएका छन् ।

वाम्बुले राई समाजको २६औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित २४ औँ वाम्बुले राई मातृभाषा कविता प्रतियोगितामा प्रमुख अतिथि प्रा.डा. न्यौपानेले भने जातिको समृद्धि उसको भाषा र संस्कृतिमा निहित हुने बताए ।

उनले भने ‘मातृभाषालाई समृद्ध बनाउन साहित्यको रचना, मातृभाषा बोल्ने वक्ता सङ्ख्या महत्त्वपूर्ण हुन्छ ।’ कविता लेखेर मात्र हुँदैन, साहित्यका विधाहरू कथा, उपन्यास, निबन्ध, नाटक लगायतको रचनाले वाम्बुले मातृभाषा समृद्ध बनाउन जरुरी भएको उनको भनाई थियो ।'

प्रा.डा. न्यौपानेले राई जातिको भाषिक समूहमा बान्तवा र चाम्लिङ मातृभाषाका निकै अघि रहेको बताउँदै भाषाको मुख्य प्राज्ञिक पक्ष व्याकरण भएको बताउँदै वाम्बुले मातृभाषाको व्याकरण तयार गर्न जरुरी भएको बताए ।

मुलुकमा सङ्घीयता आएपछि जनजातिले पहिचान खोज्नु स्वाभाविक भएको बताउँदै उनले भने ‘प्रदेश १ संरचना किरात प्रदेशकै रूपमा गरिएको हो, तर राई र लिम्बुको विवादले नामकरणमा पहिचान स्थापित भएन ।’

उनले आफू प्रदेशको नाम किरात नै हुनुपर्ने पक्षमा रहेको बताउँदै भने ‘लिम्बुहरूले लिम्बुवान किरातको प्रस्ताव ल्याएर अझै अन्योल बनाएको छ, लिम्बुहरू किरातमा सहमत भए प्रदेशका नामकरण किरात राख्न सहज हुन्छ ।’

किरात राई यायोख्खाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राईले राजनीतिक दलहरूले संविधान निर्माण र प्रदेशका संरचना गर्दा देखी नै पहिचान दिने भनी आदिवासी जनजातिलाई भन्दै आएको तर अन्तमा छलकपटपूर्ण तरिकाले कोशी नामकरण गरेको बताए ।

उनले भने ‘कुनै पनि हालमा कोशी नाम खारेज गराएर छाड्न सुरु भएको आन्दोलन अझ सशक्त बनाउन जरुरी छ ।’ राजनीतिक दलहरूले आदिवासी जनजातिसँग छलकपट गरेको हुनाले सामाजिक, सांस्कृतिक, भाषिक क्षेत्रमा काम गर्न बनेको संस्था सङ्गठनहरू आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए ।

वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले पहिचानको आन्दोलनलाई सामाजिक, सांस्कृतिक, भाषिक अधिकारको आन्दोलनबाट पनि बलियो बनाउनु पर्नेमा जोड दिदैं भने ‘यसपालीको कविता प्रतियोगीतालाई प्रदेशका नामकरण किरातमा बल पुर्‍याउन किरात प्रदेश थिममा आयोजना गरेका हौँ ।’

उक्त अवसरमा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले पहिचानको आन्दोलनलाई बल पुर्‍याउन भाषिक, सांस्कृतिक तथा संस्कारका कुराहरूमा पनि जोड दिएर अघि बढ्नु पर्ने बताए ।

पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राईले नामकरणको आन्दोलनलाई मिडियाको क्षेत्रबाट सहयोग पुर्‍याउन सञ्चारकर्मीहरूलाई आग्रह गरे । वरिष्ठ पत्रकार हर्ष सुब्बाले वाम्बुले राई समाजको वार्षिकोत्सव तथा कविता प्रतियोगिताले पहिचानको आन्दोलनलाई बल पुर्‍याउने बताउँदै शुभकामना प्रकट गरे ।

कार्यक्रममा फोनिज सुनसरीका कार्यवाहक अध्यक्ष सुनिल चोैधरीले शुभकामना प्रकट गर्दै आदिवासी जनजाति बिच एकता नहुँदा पहिचानको आन्दोलन प्रभावकारी नभएको बताए । कार्यक्रम सञ्चालन रामकर राईले गरेका थिए ।