धरान : वाम्बुले राई समाजको २६ औँ स्थापना दिवसको अवसरमा आयोजित वाम्बुले राई मातृभाषी  कविता प्रतियोगितामा धरान-५ की रेनुका राईले प्रथम स्थान हासिल गरेकी छन् । उनले नगद पुरस्कार १० हजार रुपैयाँ सहित सम्मान-पत्र प्राप्त गरिन् ।

प्रतियोगितामा मानेभञ्जाङका कमल किराँतीले दोस्रो र मानेभञ्जाङका श्याम वाम्बुले राईले तेस्रो स्थान प्राप्त गरे । उनीहरूलाई नगद पुरस्कार ६ हजार र ४ हजार प्रदान गरियो ।

प्रतियोगितामा विराटनगरकी शुभकुमारी राई र धरान-५ का जगतधन राईले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा वाम्बुले मातृभाषामा लेखिएका १२ वटा कविता कवि, कवयत्रीले वाचन गरेका थिए । मातृभाषाका १० वटा अप्रतियोगी कविता वाचन गरिएको थियो।

प्रतियोगितामा अमृत वाम्बुले राई, जगत राई, शुक्रराज राई, अस्मिता राई, दिलम वाम्बुले राई, तिर्था राई, जीवनकला राईले कविता वाचन गरेका थिए । यसैगरी विदेशमा रहेकाहरू समेतबाट प्राप्त शुभचन्द्र राई, शुभराज राई, गणेश वाम्बुले राई, कविर राई, दिनेश वाम्बुले राई, एमी थुलुङ, चेतन धमला, गगन राई, रिबल राईका अप्रतियोगी कविताका रूपमा वाचन गरिएका थिए ।

पुरस्कृत मातृभाषि कविहरूलाई प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने र वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष टेलिभिजन पत्रकार गजुरधन राईले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए । प्रतियोगी कविताहरूको निर्णायकमा शुभराज काजी राई संयोजक तथा सदस्यहरू रामकुमार राई र दिनेश राई थिए ।