• अनुसा थापा

कानुनले जुवातास खेल्नलाई प्रतिबन्ध लगाएको छ । जुवातास खेल्ने क्रममा प्रहरीले समातेमा जरिवाना पनि तिर्नुपर्छ, कैद सजाय पनि भोग्नुपर्छ । तर, जुवातास खेल्ने क्रम रोकिएको छैन । कतिपयले जुवातास खेलेर आफ्नो सम्पूर्ण सम्पत्ति सकाएका छन् त कतिपयले सम्पत्ति सकाएपछि आत्महत्याको बाटो रोजेको घटना छ ।

जुवातास खेल्नेमध्ये एक जनाले मार्छ, हार्ने सुकुम्वासी बन्छ । शेयर पनि जुवातासजस्तै हो । मुलुकका ५५ जना शेयर खेलाडीले ६० लाख सर्वसाधारणलाई ‘उल्लु’ बनाइराखेका छन् । बैङ्कले प्रतिकित्ता एक सय रुपैयाँमा निकासा गरेको शेयर चार हजार रुपैयाँ पुर्‍याउने उनीहरू नै हुन् ।

त्यही शेयरलाई तीन सय रुपैयाँमा झार्नमा पनि यिनकै हात छ । ५५ जनाले ६० लाख सर्वसाधारणलाई सुकुम्वासी बनाएका छन्, उनीहरूसँग भएको पैसा थुतेर खाएका छन् । चार हजार कित्तामा शेयर किन्नेहरू डुबेर तनावमा छन् । केहीले आत्महत्या गरे त कतिपयले आफ्नो होसहवास गुमाएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले शेयर जुवा हो भनेका थिए । शेयरमा लगानी गर्दा होसियार हुनु भनेर उनले केही वर्षअघि खबरदारी गरेका थिए । शेयर दलालहरूले बजार उचाल्ने र पछार्ने गर्दै सर्वसाधारणलाई फसाए । दलालहरू आफू जोगिहालें, फसे सीधासाधी सर्वसाधारण ।

अहिले बजारमा आर्थिक मन्दी आउनुको तीन कारण छ । पहिलो: घरजग्गा, दोस्रो: शेयर, तेस्रो: गाडी । लहैलहैमा लाग्दा यी तीन क्षेत्रले सर्वसाधारणलाई नराम्ररी डुबाएको छ । यता, बैङ्क तथा वित्तीय संस्थाको पैसा पनि यतै फ्रिज भएको छ । तीन वर्षअघि घरजग्गा, शेयर र गाडीको मूल्य ह्वारह्वारती बढ्यो ।

अहिले कारोबार नै ठप्प छ । जसका कारण मूल्य स्वाटै घटेको छ । वर्तमान अर्थमन्त्री डा. प्रकाश शरण महतले केही दिनअघि एक कार्यक्रममा अर्थतन्त्र ठीकठाक रहेको बताए । आफू आएपछि अर्थतन्त्र सुध्रिएको उनको दाबी छ । सर्वसाधारणलाई उल्लु बनाउने पनि हद हुन्छ नि ।

मालपोतमा गएर हेर्नुपर्‍यो, घरजग्गाको कारोबार कति फस्टाएको छ ? शेयर बजार र अटो बजार पनि पहिलेको अवस्थामा आइसकेको उनको भनाइ छ । उनलाई कहाँ गएर वित्तीय संस्था र सर्वसाधारणको पैसा फ्रिज भयो भन्ने नै थाहा छैन । हावादारीको भरमा बोलिरहेका छन् ।

सहकारी र लघुवित्त डुब्नु तथा बैङ्क तथा वित्तीय संस्था टाँट पल्टिनुको प्रमुख कारण घरजग्गा, शेयर र गाडी हो । नाफा चौब्बर हुने भएपछि बैङ्क तथा वित्तीय संस्था र सहकारीले आँखा चिम्लेर लगानी गरे । सहकारीहरू आफ्नो कर्जा लगानी उठाउन नसक्दा डुबिहालेँ। व्यापार व्यवसाय ठप्प छ । बजार आर्थिक मन्दीले छपक्कै छोपेको छ । हिजो बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनपछाडि एक जना व्यक्ति एउटा एक हजार रुपैयाँको नोट साट्नका लागि २० वटा पसल धाए । तैपनि सटही हुन सकेन् । व्यापारीहरू ‘बोनी’ नभएको भन्दै हजारको नोट साट्न मानिरहेका थिएनन् ।

बिहानदेखि पसल खोल्दासमेत दिउँसोसम्म बोनी हुन नसकेको भन्दै उनीहरू गुनासो पोखिरहेका थिए । जति बेला पनि मान्छेको भीड हुने अन्तर्राष्ट्रिय भवन पछाडिको हालत त यस्तो छ भने अरू स्थानमा के होला ? बजारमा यस्तो मन्दी छ तर मुलुकका अर्थमन्त्री शेयर र घरजग्गाको अर्थतन्त्र चलायमान बनाइसकेको बताउँछन् ।

सर्वसाधारण कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने उनलाई थाहा छैन । बस् आफ्नो कुर्सी टिकाउनु छ उनलाई । मुलुकमा बेरोजगारीको दर बढिरहेको छ । काम नपाउँदा सर्वसाधारणहरूलाई छाक कसरी टार्ने ? भन्ने समस्याले पिरोलेको छ । बजारमा पाँच सय र हजारको नोटको हाहाकार छ ।

भएकाहरूले घरमा लुकाएका छन् । बजारमा त्यो पैसा निस्किन पाएको छैन । पैसा बजारमा ननिस्किन अर्थतन्त्र कसरी चलायमान हुन्छ ? घरमा पैसा लुकाएकाहरूले मिटर ब्याजमा कर्जा लगानी गरिराखेका छन् । तराई-मधेसमा मौलाएको मिटर ब्याजको रोग अहिले काठमाडौँ उपत्यका र अन्य जिल्लामा सरेको छ ।

एक करोड रुपैयाँको घरजग्गा मीटरब्याजीहरुले २५ देखि ३० लाखमा पास गरेर लगिरहेका छन् । ६ महिनादेखि एक वर्षको समयावधि दिने, तिर्न सकेन् भने खाइदिन्छन् । अब उपत्यकालगायत अन्य जिल्लामा सुकुम्वासीहरूको दर बढ्ने निश्चित छ । यता, नामसारीको राजश्व पनि कर्जा लिनेबाटै उठाउँछन् ।

सरकारले साँच्नै नै अर्थतन्त्र ट्र्याकमा ल्याउने हो भने पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । मन्त्रिपरिषद्ले त्यो निर्णय गर्न ढिलाइ भइसकेको छ । सरकारले यो निर्णय गर्ने हो भने व्यक्तिहरूले घरमा लुकाएको पैसा बैङ्कमा आउँछ । राज्यलाई टाँट पल्टाउने अनि आफू सम्पत्ति जोड्ने प्रवृत्ति नेपालमा मौलायो ।

भ्रष्टाचार गरेको पैसा पनि घरमै थुपारेका छन् । राजश्व छलेको, मिटर ब्याजमा लगानी गरेको पैसा घरमा लुकाइएको छ । सहकारीले पैसा खाइदिएपछि सर्वसाधारणले बैङ्कमा पनि पैसा राख्न छोडे । सबैले पैसा घरमै राख्न थालेँ । नेपाल राष्ट्र बैङ्कले बजारमा पैसा पठाइरहेको छ तर त्यो कहाँ छ ? थाहा छैन ।

बजारमा पैसा घुमिरहेको छ कि छैन ? राष्ट्र बैङ्कलाई मतलब छैन । आधाभन्दा बढी त घरमा थुप्रिरहेको छ अनि बजार कसरी चलायमान हुन्छ ? बैङ्कले एकैचोटि सबै बचत दिइराखेको छैन । पैसा एकमुष्ट नदिएपछि निक्षेपकर्ताहरुले थरीथरीका अड्कलबाजी लगाउन थालेका छन् ।

लघुवित्त र सहकारीबाट सर्वसाधारणले चेतिसकेका छन् । ब्याजको लोभ देखाए पनि राख्दैनन्, आफ्नै आफन्त भए पनि विश्वास गर्दैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न प्रयास गरिराखेका छन् । उनी एक्सनमा जानुपर्छ भनिरहेका छन् । तर, अर्थमन्त्री महत र गभर्नर महाप्रसाद अधिकारीले उनलाई झुलाउने कार्य गरिरहेका छन् ।

जग्गाको कित्ताकाट खोल्दा पनि घरजग्गा कारोबार बढेको छैन । अर्कोतिर, सरकारले शेयरमा भएको १२ करोडको सीमा हटाएको छ । तैपनि, कुनै प्रभाव परेको छैन । प्रत्येक दिन सटर, कोठा र फ्ल्याट खाली भइरहेको छ । व्यवसायीहरूले धमाधम व्यवसाय छोडिरहेका छन् । काम गर्ने ठाउँमा तलब नदिएर कामदारहरू भोकभोकै परेका छन् ।

एकातिर काम पाउँदैनन् अर्कोतिर काम गरेको पनि तलब पाउन सकिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुक छोड्नेको भीड छ । लक्ष्यअनुरुप राजश्व सङ्कलन हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले यी कुरामा ख्याल गर्नुपर्छ । प्रधानमन्त्री माओवादी, अर्थमन्त्री काँग्रेस र गभर्नर एमालेका छन् ।

काँग्रेस र एमालेले आउने चुनावमा माओवादीलाई सकाउनुपर्छ भन्ने दाउ खेलिरहेका छन् । प्रधानमन्त्रीलाई असफल बनाउन उनीहरू लागेका छन् । उनीहरूले जसरी हुन्छ, प्रधानमन्त्रीलाई अल्माउने र काम गर्न नदिने षड्यन्त्र रचेका छन् । प्रधानमन्त्रीले यसबारे ख्याल गर्न जरुरी छ ।

प्रधानमन्त्री प्रचण्डले कि अर्थमन्त्री र गर्भनरलाई हटाउनुपर्‍यो कि पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्‍यो । होइन भने आफूले काम गर्न नसकेको भनी राजीनामा दिनुपर्‍यो । जो आए पनि अर्थतन्त्र ट्र्याकमा ल्याउन गाह्रो छ । किन कि मुलुक विदेशी ऋणमा फसिसकेको छ ।

जनताले तिरेको करले सरकारी खर्च धान्न सक्दैन, ऋण कहाँबाट तिर्नु ? नेपालमा भएका उद्योग, कलकारखाना सबै बन्द भइसक्यो । बैङ्कहरू डुबेर मर्ज भएका छन् । बैङ्कले शेयर होल्डरहरूलाई बोनस दिन सकेको छैन । बैङ्कको शेयर बेच्ने यत्तिकै छन्, किन्ने कोही छैन । अर्थमन्त्रीले अझै पनि मुलुकको अर्थतन्त्र ठीकठाक छ भन्नु जनतालाई भ्रम छर्नु हो ।

र, सञ्चारमाध्यमलाई ढाँट्नु हो । अझै पनि सर्वसाधारण ‘अनपढ’ छन् भन्ने यिनीहरूले सोचेका छन् । अर्थमन्त्री र गर्भनरका कारणले मुलुकको अर्थतन्त्र श्रीलङ्काको जस्तै हुने भो । अब प्रधानमन्त्री एक्सनमा जानुपर्छ । 

भक्तपुर