धरान : साहित्य, कला, सङ्गीत, सिनेमा लगायत विशिष्ट अतिथिको सम्मानमा आयोजना गरिने अन्तर्राष्ट्रिय प्रचलन ‘रेड कार्पेट’ समारोह धरानमा पहिलो पटक आयोजना हुँदैछ ।

चार भाषामा बनेको अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रिमियर शोको अवसरमा रेड कार्पेट समारोह हुन लागेको हो । यसअघि ‘गोर्खा वरियर’को रेड कार्पेट प्रिमियर सो लण्डनमा भएको थियो ।

चलचित्रका बारेमा जानकारी दिन मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले भने ‘रेड कार्पेट समारोह नेपालमै पहिलो पटक धरानमा हुँदैछ ।’ फागुन ५ गते धरानमा आयोजना हुने रेड कार्पेट समारोह बिच ‘गोर्खा वारियर’ प्रदर्शन हुने भएको हो ।

चलचित्र बेलायती गोर्खा सेनाले लडेको मलाया युद्धको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ । पत्रकार सम्मेलनमा नेपाल चलचित्र महासघ प्रदेश अध्यक्ष अरुण प्रधानले भने ‘अहिले सम्म कुनै पनि फिल्मको  रेड कार्पेट प्रीमियर सो धरानमा भएको छैन ।’ चलचित्र निर्माण पक्षको धरानप्रति माया ममता कति छ भन्ने कुरा यसबाट झल्कने उनले बताए ।

मलाया युद्ध सन् १९४८ देखी १९६० सम्म भएको थियो । उक्त ऐतिहासिक युद्ध कथालाई गिरिराज घिमिरेको सहकार्यमा निर्देशक मिलन चाम्सबाट निर्देशन तथा निर्माण भएको बताइएको छ ।

मलाया युद्ध लडेका हुमबहादुर थापाबारे बेलायतका पूर्व रक्षामन्त्री जोन नटले आफ्नो पुस्तक ‘मेमोरेबल इन्काउन्टरर्स’मा उल्लेख गरेका छन् ।

पुस्तकमा भनेका छन् ‘हामी मलायन आतङ्कवादीको खोजीमा दिनहुँ जङ्गल डुल्थ्यौँ, ती मलायन आतङ्कवादी कम्युनिस्टहरू थिए, जो मलायालाई बेलायतबाट स्वतन्त्र पार्न खोजिरहेका थिए ।’ उनले पुस्तकमा हुमबहादुर थापालाई पहिलो पटक सन् १९५४ मा मलायाको जङ्गलमा भेटेको उल्लेख गरेका छन् ।

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरे पनि अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता, निर्देशक यस्ता विषयमा जाँदैनन् । तर पूर्व गोर्खा सैनिक निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार गरिएको पारेको बताए ।

नेपालमा प्रदर्शन हुनुअघि लण्डन स्थित आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रिमियर सो भएपछि चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाएको बताइएको छ । चलचित्र निर्माणमा तीन वर्ष लागेको निर्देशक चाम्सले बताए ।

उनले भने ‘चलचित्रमा देखाइने काल्पनिक युद्ध भन्दा वास्तविक रूपमा युद्धलाई मैले देखाएको छु ।’ सन १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन, यसका लागि छायाङ्कनमा ३ वर्षको समय लागेको उनको भनाई छ ।

उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर चलचित्रमा प्रयोग गरिएको उनले जानकारी दिए । ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड बाफ्टामा पहिलो चरणमा छनोट भएको बताउँदै उनले भने ‘यो नेपाली चलचित्रका लागि गौरवको विषय हो ।’

चलचित्रका मुख्य भूमिकामा नायक रहेका अभिनेता रितेश चाम्स पूर्व गोर्खा सैनिक हुन । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनय सम्बन्धी शिक्षा लिएका छन् । नायक चाम्सले भने ‘मैले युद्धका क्रममा भोगेका भोगाईलाई अभिनयबाट उतारेको छु ।’

‘गोर्खा वारियर’बाट पुनः सैनिक जीवनमा फर्कने मौका पाएको बताउँदै उनले सेनामा काम गरेको अनुभवले अभिनय गर्दा झनै उत्साहित भएको उल्लेख गरे । अभिनेता चाम्सले लण्डनको प्रदर्शन पछि चलचित्र हेरेका गोर्खा सैनिकहरूबाट पाएको प्रतिक्रियाले झनै उत्साहित भएको बताए ।

अभिनेता चाम्सको जन्म खोटाङ, दिक्तेल रुपाकोट मझुवागढि–२ डाँडा गाउँमा भएको हो । उनी खोटाङमा माध्यमिक शिक्षा पछि बेलायती लाहुरे बने । लाहुरे पाइलट सगरमाथा आरोही हुँदै चलचित्रका नायक बनेका हुन । चलचित्रको छायाङ्कन नेपाल, भारत मलेसियामा भएको छ ।

चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई लगायत कलाकारले अभिनय गरेका छन् ।