धरान : मलाया युद्धको ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’ले बेलायतपछि रेड कार्पेट प्रिमियर शो धरानमा गर्ने भएको छ । लण्डनपछि दोस्रो पटक चलचित्रको धरानमा रेड कार्पेट शो हुने भएको हो ।

धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक मिलन चाम्स र कार्यकारी निर्माता ज्योतिराज राईले उक्त जानकारी दिएका हुन । पूर्वका चलचित्रकर्मीहरूको उपस्थिति रहेको छलफलमा निर्देशक चाम्सले ‘गोर्खा वारीयर’ किन हेर्ने के महत्त्व छ भन्ने बारे बताएका थिए ।

उनले नेपाली चलचित्र इतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको, टप टप हलिवुड चलचित्रहरू मात्र प्रिमियर हुने लण्डनको लेस्टर स्क्वाएरमा प्रिमियर गरिएको, आइम्याक्स फम्र्याटमा निर्माण भएको, बेलायतका हाइ प्रोफाइलहरूको उपस्थिति, बेलायतका प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र भएको बताए ।

कोरियन कम्पनीले ७ वर्षको लागी वल्र्डवाइड सेलिङ राइटस् लिएको अमेरिकन कम्पनीले वल्डवाइड वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएको उल्लेख गरे ।

कार्यकारी निर्माता ज्योतिराज राईले गोर्खाली कसरी गोर्खाली भए भन्ने बारे निकै गहिरो अध्ययन गरेर फिल्म निर्माण गरिएको बताए । फिल्म दोस्रो विश्वयुद्ध पछि मलायमा भएको घटनाको कथामा आधारित रहेको उनको भनाई छ । धरान सहित दमक, हेटौँडा, पोखरा लगायतमा प्रिमियर शो गरिने जनाकारी दिए ।

उक्त अवसरमा चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बो, अनाम नाट्य समूहका पदाधिकारीहरू, कलाकार दिनेश कोइराला, रितेशजंग खत्री उपस्थित थिए ।

महासङ्घका अध्यक्ष प्रधानले चलचित्र सफल भइसकेकाले दर्शकहरूलाई हलसम्म तान्न सबैले सघाउने प्रतिबद्धता जनाए । सङ्घका अध्यक्ष नवीन मेन्याङवोले ऐतिहासिक चलचित्रको प्रदर्शन पनि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे । फिल्म फागुन ११ गते देखी देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन हुनेछ ।

gorkha-wariyar