वराहक्षेत्र : सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी स्कुलमा पढाउँदै छन् कि, नगरपालिकाकै कर्मचारी, जनप्रतिनिधि र सार्वजनिक पदमा बसेका अगुवाहरूले छोराछोरी कहाँ पढाउँदैछन ? वराहक्षेत्र स्थानिय सरकारद्वारा त्यसको निगरानी गर्न थालिएको छ।

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको टीकाटिप्पणी बढेपछि समाजका अगुवा, सरकारी सुविधा खानेहरूमा जिम्मेवारी बोध गराउन नगरपालिकाले निगरानी थालेको हो ।

वराहक्षेत्र नगरपालिकाले बुधवार सार्वजनिक जानकारीका लागि अपिल प्रकाशित गर्दै नगरपालिकाले कसले छोराछोरी कहाँ पढाउँदैछन भन्ने निगरानी थालेको जनाएको छ ।

सार्वजनिक पदमा बसेर भाषणमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको बखान गर्ने अगुवाहरू, सरकारी सुविधा खाएर गैर सरकारी स्कुलमा बालबच्चा पढाउने शिक्षक, कर्मचारी र शैक्षिक गुणस्तर बढाउन भूमिका खेल्नुपर्ने जनप्रतिनिधिहरू कति जिम्मेवार छन्न भन्ने नैतिक दबाब दिन निगरानी थालिएको बुझिएको छ ।

उनीहरूलाई छोराछोरीहरू कक्षा १० सम्म सामुदायिक विद्यालयहरूमा पढाउन अपिलमा आग्रह गरिएको छ । नगरपालिका र अन्तर्गतका कार्यरत कर्मचारीहरू, जनप्रतिनिधिहरू, नगरका सामुदायिक विद्यालयका शिक्षकहरू, कर्मचारीहरू, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई तोकेर अपिल गरेको हो ।

अपिलमा भनिएको छ ‘सामुदायिक विद्यालयहरूको खस्किँदै गएको शैक्षिक गुणस्तरलाई मध्यनजर गरी जनप्रतिनिधि तथा कर्मचारीहरूको निगरानी बढाई शैक्षिक गुणस्तर सुधार, अभिवृद्धि गर्न अपिल गर्दछौ।’

नगरपालिकाको माघ २३ गतेको बैठकले जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरूलाई आफ्नो छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अपिल गर्ने निर्णय गरे अनुसार निगरानी गर्ने अपिल जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।

सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधार अभियानको नयाँ नीति अपनाइएको नगर प्रमुख रमेश कार्कीले बताए । नियमित अनुगमन, उत्कृष्ट विद्यालयलाई पुरस्कार, कमजोर विद्यालयमा गुणस्तर बढाउन प्रोत्साहनलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

नगर प्रमुख कार्कीले भने ‘उपचारात्मक शिक्षा, योग, जीवन उपयोगी शिक्षा तथा सामुदायिक विद्यालयबाटै गुस्तरिय शिक्षा प्रदान गर्न नगरपालिका प्रतिबद्धता भएर अघि बढेको छ ।’ वराहक्षेत्रमा ५७ वटा धार्मिक तथा सामुदायिक विद्यालय छन् । त्यसमध्ये ८ वटा विद्यालयमा कक्षा १२ सम्मको पठन पाठन सञ्चालन हुन्छ ।

baraha PR education