धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल भित्र सञ्चालित फार्मेसी पसलहरू सातौँ दिनमा आज शुक्रवार बेलुकी देखी खुलेको छ ।

फार्मेसीका ठेकेदारले तलब नदिँदा ६ दिन काम बहिष्कार गरी सबै फार्मेसी बन्द गरेका फार्मेसिष्टहरुले ३ महिनाको तलब पाएपछि ४ बुँदे माग राख्दै आज बेलुकीको सिफ्ट देखी काममा फर्किएका हुन ।

फार्मेसिष्टहरुले आज बिहान पत्रकार सम्मेलन गर्दै ठेकेदार कम्पनीले ६ महिना देखि रोकिएको तलब मध्ये ३ महिनाको तलब भुक्तान गरेको बताए । फार्मेसिष्ट स्वती श्रेष्ठले भनिन् ‘तिन महिनाको तलब दिएकाले आन्दोलनको स्वरूप परिवर्तन गरी ४ वटा फार्मेसी आज बेलुकी देखी खुला गर्नेछौँ ।’

आन्दोलनका कारण सेवाग्राही, बिरामीहरूले दुःख भोग्न नपरोस् र सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्दै ४ बुँदे माग अघि सार्दै फार्मेसी खुला गर्ने सहमति भएको नेपाल फार्मेसी प्रदेश सदस्य सङ्गीता चौधरीले बताइन ।

फार्मेसिष्टहरुको ४ बुँदे मागमा अस्पतालका फार्मेसीमा आवश्यक औषधीहरू पर्याप्त मात्रामा आपूर्ति गरिनु पर्ने पनि रहेको छ ।

औषधि नहुँदा सेवाग्राही, बिरामी र आफन्तहरूले कर्मचारीलाई दोष दिने, गालीगलौज गर्ने र अस्पताल बाहिरका मेडिकल सँग मिलेमतो रहेको आरोप लगाउने उनीहरूको भनाई छ ।

समयमा तलब पाउनु पर्ने, राज्यले फार्मेसी सहायक पाँचौँ तहमा राखेको तर ठेकेदार कम्पनी केटिएम सेक्युरिटीले न्यूनतम ज्याला १७ हजार ३०० भन्दा कम १६ हजार ७९४ मात्र दिने गरेकोले तह अनुसार तलब भुक्तान गर्नु पर्ने माग गरेका छन् ।

बिपी प्रतिष्ठानको फार्मेसीका कर्मचारीहरूलाई वैकल्पिक व्यवस्थाबाट नियुक्ति दिएकोमा नेपाल सरकारका अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा १० अनुसार स्थायी जनशक्तिको रूपमा प्रतिष्ठानकै स्थायी नियुक्ति पाउनु पर्ने माग गरेका छन् ।

प्रतिष्ठानको ४ वटा फार्मेसी डिपोमा प्रति १ डिपोलाई ८ घण्टाको सिफ्टको लागि ३ जना कर्मचारीहरू, २४ घण्टाको ३ सिफ्टको लागि १२ जना र २४ घण्टामा ४ वटै फार्मेसी डिपो सञ्चालनलाई कम्तीमा ३६ जना फार्मेसी सहायक कर्मचारीहरूको राखिनु पर्ने माग गरेका छन्।

हाल १८ जना फार्मेसी सहायकहरूले मात्र काम चलाउँदा कुनै बिदा विना तोकिएको समय भन्दा बढी काम गर्नु परेको, खाना, खाजा खान र शौचालय जान समेत समस्या रहेको उनीहरूको भनाई छ ।

बिपी प्रतिष्ठानले अस्पतालको फार्मेसी सञ्चालन गर्न केटिएम सेक्युरिटी कम्पनीलाई ठेक्का दिएको छ ।

BPKIHS-Pharmacy-2