धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अगाडीका दुई फार्मेसी मास्क र स्यानिटाइजर बिल बिना खरिद तथा बिक्री गरेर राजश्व छली गरेको भन्दै कारबाहीमा परेका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गुनासोका आधारमा बजार अनुगमन गरी कारबाही गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए।

प्रतिष्ठान गेट अगाडी सुजिता सुनुवारले सञ्चालन गरेको सुनौलो मेडिकल हललाई सुगर टेस्टको मेसिन मंहगोमा विक्री गरेको, गत १३ गते उपभोक्ता संरक्षण कार्यालय विराटनगरले खरिद गरेको बिल मागेको तर हालसम्म नदेखाएको र बिक्री मूल्य भन्दा २७ प्रतिशत नाफा लिएको पाइएको पोखरेलले जानकारी दिए।

सुनौलो मेडिकललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ङ को दफा ५४ को उपदफा दुई बमोजिम सोही ऐनको दफा ३९ क बमोजिम २० हजार जरिवाना गरी सम्झाई बुझाई गरेको कार्यालयका प्रमुख पोखरेलले जानकारी दिए ।

Pharmeshi-Anugaman-2

सरिता साह र किशोर साहले सञ्चालन गरेको टाटा फार्मेसीले पनि बिल बीजक नराखी मास्क तथा सेनिटाईजर खरिद विक्री गरेकाले २० हजार जरिवाना गरेको पोखरेलले बताए ।

अनुगमन टोलीले बलराम अग्रवालले सञ्चालन गरेको गार्जियन फर्मामा पनि अनुगमन गरेको थियो भने जसमा खरिद बिलमा २० प्रतिशत नाफा राखेर विक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

गुनासो धेरै ठाउँमा आइरहेकाले गुनासोका आधारमा पसल अनुगमन तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी, परिमाणमुखी बनाउने पोखरेलको भनाई छ ।

उनले उपभोक्तालाई सामान किन्दा बिल पनि माग्न अनुरोध गर्दै सामान मंहगो लागेमा अनलाइनबाट पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरलाई उजुरी गर्न मिल्ने बताएका छन् ।

Pharmeshi-Anugaman-1