धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बन्द अवस्थामा रहेको फार्मेसी सञ्चालनमा आएको छ ।

उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको एक महिनामा फार्मेसी सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागी समिति गठन गरी कार्यहरू अगाडी बढाइएको हो ।

हाल डा. दिलीप ठाकुरको संयोजकत्वमा समितिले फार्मेसी सञ्चालन, व्यवस्थापन तथा अनुगमनका कार्यहरू गरी रहेका छन् । समिति गठन भए लगत्तै सबै विभागहरू सँग औषधि आवश्यकताको वार्षिक माग गरिएको डा. ठाकुरले जानकारी गराए ।

’समिति सुरु भए पछि सबै विभागहरूसँग औषधि आवश्यकताका वार्षिक माग गरेका छौ । यसबाट कुन विभागमा वर्षमा कुन कुन औषधि आवश्यक पर्ने खाका तयार हुनेछ ।’ उनले भने, ’यस्तै हाल हामीले इमरजेन्सी र गाइनो तथा बच्चा इमरजेन्सीमा रहेको फार्मेसीलाई फोकस गरेका छौ ।’ त्यहाँ बिरामीको चाप बढीरहेकोले गर्दा औषधि खपत पनि बढी हुने भएकाले सुरुवातमा त्यस क्षेत्रमा फोकस गरेको उनले बताए ।

पहिलेको तुलनामा औषधिको दैनिक बिक्री बढेको डा. ठाकुरले बताए । ’समितिले फार्मेसीमा रहेको औषधिहरूको जाँच गरी मिति पुगेको वा पुग्न लागेको औषधिलाई टेन्डर कम्पनीलाई नै फिर्ता गरी नयाँ औषधि ल्याएर बिक्री गरेका छौ ।

’ उनले भने, ’औषधि खरिदका लागी प्रक्रिया थालनी भइसेको छ । अबको केही दिनमा प्रतिष्ठानको विभागहरूमा आउने ८० प्रतिशत बिरामीहरूको लागी चाहिने औषधि प्रतिष्ठानको फार्मेसीमा नै उपलब्ध गराउनेछौ ।’

प्रतिष्ठानको फार्मेसीमा चाहिने सबै प्रकारको औषधि उपलब्धताको लागी भने डेढ महिना जति लाग्ने डा. ठाकुरले बताए । यसको लागी औषधि खरिदको ठुलो टेन्डर चाँडै लाग्ने उनले बताए । ’प्रतिष्ठानको फार्मेसी चुस्त दुरुस्त रूपमा सेवा प्रदान गर्नका लागी समिति गठन भएको हो ।

सेवा सहितको नाफामूलक फार्मेसी सञ्चालन हाम्रो प्रमुख लक्ष्य हुनेछ’, डा. ठाकुरको भनाई छ । फार्मेसी पूर्ण रूपमा सञ्चालनमा आएपछि बिरामीले उचित मूल्यमा औषधि प्राप्त गर्ने र ठगिनबाट जोगिनेछ साथमा प्रतिष्ठानको आर्थिक अवस्थामा समेत टेवा पुग्ने उनले बताए ।

उता प्रतिष्ठानको बन्दै गरेको फार्मेसी भवनको ६५ प्रतिशत काम सम्पन्न भएको प्रतिष्ठानका सिभिल ईन्जनियरीङ शाखा प्रमुख इन्जिनियर विकास बस्यालले बताएका छन् । भवन १२ करोड ३७ लाखमा श्याम सुन्दर निर्माण सेवाले निर्माण गरिरहेको छ ।

BP-Farmasi-1