धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल भित्रै सञ्चालित फार्मेसीका ठेकेदारले तलब नदिँदा फार्मेसिष्टहरुले आइतबार देखी काम बहिस्कार गर्दा सबै फार्मेसी बन्द भएका छन् ।

वीपी अस्पतालमा सञ्चालित ४ वटा फार्मेसी बन्द हुँदा इमर्जेन्सी लगायतका बिरामीहरूका लागि रातविरात औषधि खरिद गर्न कठिनाइ भएको छ ।

सहायक फार्मेशिष्ट स्वस्ति श्रेष्ठका अनुसार फार्मेसीमा कार्यरत १८ जना सहायक फार्मेसिस्टहरूले सेवा बहिष्कार गरेपछि सबै फार्मेसी बन्द भएको हो । फर्मेसिष्टहरुले ६ महिना देखीको तलब नपाएको बताएका छन् ।

वीपी प्रतिष्ठानले अस्पतालको फार्मेसी सञ्चालन गर्न केटिएम सेक्युरिटी कम्पनीलाई ठेक्का दिएको छ। ठेकेदार कम्पनीले त्यहाँ कार्यरत फार्मेसिष्ट कर्मचारीले कार्तिक देखि तलब भत्ता दिएको छैन ।

तलब भत्ता नपाएकोले काम बहिस्कार गरेका फामेसिष्टहरुले अस्पताल भित्र वीपी प्रतिष्ठान आफैले सञ्चालन गर्न माग गरेका छन् । अस्पताल फार्मेसी निर्देशिका २०७२ अनुसार फार्मेसिस्टहरु राख्नु पर्ने व्यवस्था भएको बताएका छन् ।

सहायक फार्मेशिष्ट श्रेष्ठले उक्त विषयमा ठेकेदार सेक्युरिटी कम्पनी र प्रतिष्ठान प्रशासनलाई पटक पटक अनुरोध गर्दा पनि सुनवाइ नभएकाले सेवा बहिष्कार गरेको बताइन् । ठेक्कामा सञ्चालन भएकोले फार्मेसिस्टहरुले प्रचलित नियम अनुसार तलब भत्ता र बिदा समेत पाएका छैनन् ।

केटिएम सेक्युरिटी कम्पनीका सञ्चालक रामेश्वर साहले भने प्रतिष्ठानले समयमा तबल भत्ताको रकम निकासा नगर्दा कर्मचारीलाई भुक्तानी गर्न नसकेको बताए । उनले भने, ‘प्रतिष्ठानले कात्तिक देखि रकम निकासा गरेको छैन, तर पनि तलब पठाउने तयारी भइरहेको छ ।’

बिपीसँग ३ वर्षको सम्झौता अनुसार तलब भुक्तानी गर्न पनि समस्या भइरहेको उनको भनाई छ। प्रतिष्ठानले टेण्डर आह्वान गरे पनि निर्णय नगर्दा कर्मचारीलाई तलब खुवाउन बाध्य भएको बताए ।

फार्मेसिष्टहरुले उनीहरूलाई ठेकेदारले हेल्परको रूपमा काम लगाउँदै आएको बताएका छन् । तर, सेक्युरिटीका सञ्चालक साहले भने उनीहरूलाई सहायक फार्मेसिष्टकै पदमा नै राखेको बताए । उनका अनुसार महिनामा २६ दिन काम गर्नु पर्ने बढी काम गरेमा थप सुविधा दिइएको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा.अरुणकुमार सिंहले फार्मेसीमा कार्यरत फार्मेसिस्टहरु प्रतिष्ठानसँग सम्बन्धित नभएको बताए । उनले केटिएम सेक्युरिटीले फार्मेसिष्टहरुको तलब भुक्तानी गर्नुपर्ने बताए ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्य प्रसाद सङ्ग्रौलाले तलब रकम भुक्तानी गर्ने तयारी भइरहेको बताए । उनका अनुसार अस्पताल प्रशासनसँग फार्मेसीको व्यवस्थापनका लागि राय मागिएको छ । औषधि व्यवस्थापन समितिसँग पनि राय मागिएको उनको भनाई छ ।

तलब नपाएको भन्दै काम बहिस्कार गरेका फार्मेसिष्टहरुले सोमवार तलबका लागि पहल गरिदिन धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघालाई अनुरोध गरेका छन् ।

उपमहानगरपालिका पुगेका १८ जना फार्मेसिष्टहरुलाई उपमेयर बेघाले सम्बन्धित पक्षसँग समन्वय गरेर पहल गरिदिने वचन दिएका छन् । फार्मेसिष्टहरुलाई बिपीको मातहत ल्याउन बिपीसँगै छुट्टै पहल गर्नुपर्ने आवश्यकता रहेको उपमेयरले बताए ।

प्रतिष्ठानका फार्मेसिस्ट स्वस्ति श्रेष्ठ, यमुना मगर, शिल्पा राई, दिपा राई, शारदा राई, आश्मा श्रेष्ठ, कुसुम राना मगर, मनिता राई, निर्मला राई, सलिम मुद्दिम अन्सारी, विवेक चौधरी, दिपिका राई, पुक्कल राई, अनु राई, निर्मला कटबाल, राधा पौडेल र शर्मिला राईले उपप्रमुख बेघासँग भेट गरी समस्या अवगत गराएका हुन ।

BPKIHS-Pharmacy

BPKIHS-Pharmacy-3