इटहरी : इटहरी उपमहानगरपालिकाले ६ करोड ३६ लाख ८६ हजार ८ सयमा चारवटा विद्युतीय नगरबस खरिद गरेको छ । सिनोट्रक मातहतको ट्रेडिङ कम्पनी 'नेसनल फायर सेफ प्राली' मार्फत खरिद गरेको चाइनिज बस सोमबार इटहरी भित्रिएको हो ।

स्थानीयलाई सार्वजनिक यातायातको सुविधा बढाउनको लागि विद्युतीय सवारी खरिद गरेको उपमहानगरपालिका प्रशासनले जनाएको छ । पेट्रोलियम सवारीमा दैनिक सञ्चालन खर्च बढी आउने भएपछि विद्युतीय गाडी खरिद गरिएको हो ।

उपमहानगरपालिकाको टोलीले गाडी उत्पादन भएको क्षेत्रमा अवलोकन गरेपछि मात्र इटहरीमा बस ल्याउने फाइनल भएको थियो । लामो समयको तयारीमा इटहरी आएको विद्युतीय गाडीको बारेमा अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । इटहरी र इटहरी बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताले विद्युतीय गाडीको चर्चा र प्रशंसा गरिरहेका छन् ।

उपमहानगरपालिकाले भने चार्जीङ स्टेसनको तयारी गरिरहेको छ । गाडी गुडाउने रुट तयार पार्न एक समिति नै गठन गरेको उपमहानगरपालिकाले  असोज १ गते देखी नगरबस चलाउने भएको हो ।

उता स्थानीय नागरिकले भने सामाजिक सञ्जालमा चर्चामा आएजस्तो मतलब गरेका छैनन् । इटहरीमा चिया पसल सञ्चालन गर्दै आएकी कमला गेलाल नगरबस आउनु राम्रो भएको बताउँछिन् । नगरबसको कारण बजार क्षेत्रमा हुने सफारीको जाम हट्ने र नागरिकले सुविधा पाउने उनको बुझाइ छ । तर कहिलेसम्म चल्छ भन्ने कुराले यसको प्रभावकारीमा निर्भर गर्ने बताउँदै उनले संशय व्यक्त गरेकी छिन् ।

विकास भनेको गाडी र सडक मात्र नभएको बताउँदै मुन्ना सरदारले दलित, मधेसी, मुस्लिम, मुसहर, थारु लगायत पछाडि परेका जनताको पक्षमा काम गर्नुपर्ने बताए । सार्वजनिक सवारीको रूपमा आएको नगरबसले जनतालाई फाइदा पुर्‍याउने विश्वास लिएका सरदारले सडक जाम कम भए धेरै जनता लाभान्वित हुने उल्लेख गरे । रोजगारी र शिक्षाको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताएका उनले सुकुम्वासी र दलितलाई विशेष प्राथमिकता दिन आग्रह गरे ।

मुख्य चोकमा कपडा सिलाउने गीता परियारलाई नगरबस आएको भन्नेबारे जानकारी नै छैन । सार्वजनिक यातायात राम्रो र भाडा कम हुनुपर्ने उनी बताउँछिन् । नगरबस कस्तो के हो भन्नेबारे अनभिज्ञ रहेकी उनले अझै विश्वास गरेकी छैनन् ।

इटहरीमा ५ वर्षदेखि सफारी चलाउँदै आएका विजय ऋषिले नगरबस खरिदमा आशङ्का व्यक्त गरे । नेताहरूले आफ्नो इच्छा अनुसार किनेको बताउँदै उनी जनताले सेवा पाए त्यही ठुलो कुरा हुने तर्क गर्छन् । इटहरी–१६ बालग्रामका उनी जनतालाई सुविधा दिनु राम्रो भएको बताउँछन् ।

लामो समय देखी स्पाइनलकर्ड इन्जुरीका बिरामी रहेका राम कार्कीले अपाङ्गमैत्री बस हुनुपर्ने धारणा राखे । काठमाण्डौमा साझाले केही सुरुवात गरे पनि अपाङ्गको लागि सार्वजनिक यातायात भरपर्दो नभएको उनको गुनासो छ । इटहरीको विद्युतीय बसले अपाङ्ग अटाउन सक्छ कि सक्दैन हेर्न बाँकी रहेको उनको भनाइ छ ।