विराटनगर:  विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ । 

महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको थियो । कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन्  । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने मेयर कोइरालाले जानकारी दिए ।

बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । पूर्ण रूपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरूमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन हुनेछ ।

महानगरले मिलन चोक, ढाट, इक्राही, केशलिया लगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो ।

प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको उनले बताए । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ । रुट परीक्षणमा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, प्रशासन प्रमुख अर्जुन थपलिया, सरसफाइ शाखा प्रमुख पुनम  दाहाल, महानगर प्रहरी प्रमुख राजन पौडेल, मेयरका सचिवालयका सदस्यका साथै गाडी कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसअघि फागुन १८ गते पनि उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।

City-Bus-BRT