इटहरी : इटहरी विद्युतीय सवारी विक्रीको हबको रूपमा विकसित हुँदै गएको छ । विद्युतीय कार तथा भ्यानहरू विक्रीको अनुपात अन्य सहरका तुलनामा बढी छ । तर इटहरीमा भरपर्दो चार्जीङ स्टेसन नहुँदा सवारी धनीहरू मारमा परेका छन् ।

इटहरीका व्यवसायी नेत्र गिरी चार्जीङ स्टेसन बिग्रिएको कारण खुलेर काम गर्ने अवस्था नभएको बताउँछन् । कतै जानुपर्ने भयो भने अपर्झट हिँड्न सक्ने अवस्था नभएको उनको गुनासो छ । घरमा चार्ज गर्दा रातभरिमा २० प्रतिशत मात्र चार्ज हुने बताउँदै उनले व्यवसायीक हिसाबमा पनि यसले असर पुर्‍याएको बताए ।

बाहिर चार्जीङ स्टेसनका चार्ज गर्न नपाएपछि गाडी घरैमा राखेर चार्ज बचत गर्नुपर्ने अवस्था आएको बताउँछन् उत्तम पोखरेल । लामो समय चार्जीङ स्टेसन बिग्रिँदा समेत मर्मत नभएपछि आफूहरू दिक्दार भएको उनको भनाइ छ । ‘चार्जीङ स्टेसन नहुँदा कतै जानुपर्ने भयो भने सोच्नुपर्ने अवस्था आएको छ ।,’ उनले भने, ‘एक पटक चार्ज गर्नको लागि लामो समय कुर्नुपर्छ । कहिलेकाहीँ त ५ घण्टा पर्खिँदा पनि पालो आउँदैन । भरपर्दो स्टेसन नहुँदा झन्झट भएको छ ।’

इटहरीको विराटनगर लाइनमा रहेको चार्जीङ स्टेसनमा भएका दुई वटा गन मध्ये एउटा बिग्रिएको ४ महिना भन्दा बढी भएको छ । अर्को गन बिग्रिएको पनि १५ दिन पुरा भइसकेको छ । तर हालसम्म मर्मतको लागि कुनै प्रक्रिया अगाडी बढेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले राखेको इटहरीको विराटनगर लाइन, पूर्व लाइन र धरान लाइनका कुनै पनि स्टेसन सुचारु छैनन् । विराटनगर लाइनको बाहेक अन्य स्टेसनमा गाडी चार्ज हुने अवस्था पनि भएको उपभोक्ताको गुनासो छ । इटहरी पश्चिम लाइनमा नेटा कम्पनीले स्टेसन राखेको छ तर आफ्नो कम्पनीको बाहेक गाडी चार्ज गर्न नदिएपछि अन्य कम्पनीका उपभोक्ता मारमा परेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भने दिगो ग्रुप अफ कम्पनीलाई चार्जीङ स्टेसनको ठेक्का लगाएको छ । एक वर्ष भित्र कम्पनीलाई हस्तान्तरण गर्नेगरि प्राधिकरणले स्टेसन निर्माण गरेको थियो । नयाँ आर्थिक वर्षदेखि प्राधिकरणले हस्तान्तरण गर्ने र त्यसपछि यथाशीघ्र समस्या समाधान हुने बताउँछन् कम्पनीका इन्जिनियर नरेश कलौनी ।

उनका अनुसार प्राधिकरणले हस्तान्तरण नगरेको र उसैले मर्मत गर्दै आएको कारण यो समस्या आएको हो । कम्पनीले सबै स्टेसनमा भएको समस्या अध्ययन गरिरहेको र हरेक स्टेसनमा चाहीने आवश्यक उपकरण तयार पारेको उनले बताए । दुई महिना पछि देशैभरका स्टेसनहरूमा चार्जीङ समस्या समाधान हुने उनले आश्वासन दिएका छन् ।