इटहरी : केही समयअघि जनताको घरदैलोमा पुगेका इटहरीका मेयर द्धारिकलाल चौधरीले केही समयभित्रै नगर बस सञ्चालन गर्ने बताएका थिए । उनको भनाई कार्यान्वयन हुन समय लाग्दा नरभित्रका जनताहरु सार्वजनिक बसमा यात्रा गर्न निक्कै समस्या भोग्दै आएका छन् ।

इटहरी २० तरहराका पर्शुराम रेग्मी दैनिकजसो तरहरा–इटहरी, इटहरी–तरहराको बाटो यात्रा गर्छन् । तर, उनलाई सार्वजनिक बसले चढाउन मान्दैन । उनीजस्तै पीडित यहाँका सयौँ मानिसहरु बषौदेखि यसरी नै पीडित छन् । रेग्मी जस्तै राम कोइरालासँग पनि बसले चढाउन नमानको तितो अनुभव छ । ‘धरान जाने बस तरहराकै बाटो जान्छ, तर तरहरामा गाडी रोक्दैनौँ भनेर चढाउनै मान्दैन’ रेग्मीले भने, ‘पूर्वबाट आउने बस इटहरी चौकमा रोक्नै दिदैन, रोकेपनि चढ्नै पाइँदैन ।’

विशेषगरी इटहरीबाट तरहरा आउँदा विराटनगरको रुटको बसले र धरानबाट तरहरा आउँदा पूर्वको रुटको पब्लिक बसले नचढाउने उनको गुनासो छ । आफूहरु पटक–पटक बसका सहचालकहरुसँग सहमति गर्न खोज्दा पनि गाडीमा नचढाउने रेग्मीको गुनासो छ । उनी आफू त जसोतसो आउछन्, तर बृद्धबृद्धा र विद्यार्थीलाई भने ज्यादै असहज भइरहेको बताउँछन् । ‘तरहराका मानिसहरुले पनि भाडा तिरेरै चढ्ने हो, बसले नचढाए हामी सडकमै आन्दोलन गर्न पनि पछि हट्दैनौँ’ रेग्मीको आक्रोश छ । धरानबाट तरहरा आउँदा पनि गाह्रो हुने गरेको स्थानीयबासीको गुनासो छ ।

यातायात व्यवस्था विभाग कोशीका कर्मचारी समेत रहेका राम कोइराला पनि विराटनगरको बसले तरहराका मानिसलाई नचढाएको प्रति तीब्र असन्तोष व्यक्त गर्छन् । सधैँजसो बसका सहचालकहरुले तरहराका मानिसलाई हेपेर नचढाउने गरेको उनको भनाई छ । पछिल्लो समय सिटी सफारी सहरमा बढेसँगै यसले केही हदसम्म सहज बनाएपनि यसले ट्राफिक अव्यवस्था र दुर्घटना बढाएको छ । सफारीले सहजता भएपनि दुर्घटना बढाउने तथा ट्राफिक नियमको उल्लघंन गरेर चलाउने हुँदा समस्या भईरहेको सर्वसाधारणहरु बताउछन् । त्यति मात्र होइन, सफारीले मनपरी भाडा दर लिने गरेको छ । सफारीको भाडा दरमा एकरुपता कायम नभएको र बसले नचढाएका कारण तरहराबासी मात्रै नभएर इटहरी २ शान्तिनगर, भवानीपुर, ब्रम्हपुर आँपगाछीका स्थाीयबासीहरु पीडित हुनुपरेको गुनासो गर्छन् ।

विवेकसिल साझा पार्टीका सचेतक युवा ध्रुव भण्डारी तरहराका मानिसहरुलाई सार्वजनिक यातायातका साधनले नचढाउनु आपत्तिको बिषय भएको बताउँछन् । ‘धरानको मात्रै मान्छे हाल्ने गरेका छन्’ उनले भने, ‘विशेषगरी इटहरीको २०, २, १ र १९ नम्बर वडाका मानिसहरु बढी प्रभावित छन् ।’ जनतालाई परेको यो असुविधाबारे ट्राफिक प्रहरी, नगरपालिकाले बोल्नु पर्ने उनको तर्क छ । यातायातको सिण्डिकेट खारेज भएको भनिएपनि त्यो बोलीमा मात्रै सीमित भएको उनको भनाई छ । ‘सिण्डिकेट अन्त्य भएको छैन, अझै छ,’भण्डारी भन्छन् । नगरबस चलाउने मेयर चौधरीको सपना साकार हुन सके नगरबासीहरुले धेरै राहत पाउने थिए । तर, नगर बस सञ्चालनमा आउन अझै समय लाग्ने मेयर चौधरी बताउँछन् । ‘हामीले नगर बस सञ्चालन गर्ने भनेका छौ, तर केही समय लाग्छ,’ उनले भने ।