धरान : राजा पृथ्वीनारायण शाह, उनका बुबा नरभुपाल शाहको सल्लाहकार भनिएका बिसे नगर्चीको विषयमा गहिरो खोजमूलक इतिहास पुस्तकको रूपमा प्रकाशित भएको छ ।
'बिसे नगर्ची' नामक पुस्तक मोरङ पथरी शनिश्चरे-१ का खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले प्रकाशित गरेका हुन ।
बिसेका सन्तानलाई भेटेर लेखिएको पुस्तक
बिसे नगर्चीको जन्मस्थल गोरखा पुगेर उनलाई उनको सन्तान, छोरालाई दिएको सनदपत्र, लालमोहर, बिसेका सन्तानलाई भेटेर प्रामाणिक अध्ययन सहित पुस्तक लेखिएको लेखक तिम्सिनाले बताएका छन् ।
नेपालका पुराना इतिहासकार सँग पनि सोधखोज गरिएको र विभिन्न समयमा इतिहासकारहरूले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि अध्ययन गरिएको उनले बताए । नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई बिसेले सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहासमा उल्लेख पाइन्छ ।
सही सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । इतिहासमा बिसे नगर्ची यसको उदाहरण बनेका छन् । अहिलेका शासकहरूले नातेदारलाई सल्लाहकार राखेका छन् । उनीहरू विज्ञताको आधारमा नभई आफन्तको आधारमा छन् ।
स्वकीय सचिव, लगायतका अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति बढेको बेला सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाहबाट पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्र झैँ बनेको उदाहरण अहिलेको सन्दर्भमा प्रासङ्गिक भएको लेखक तिम्सिनाको भनाई छ ।
पृथ्वीनारायण आफै बिसेका घरमा
पुस्तकमा पृथ्वी नारायण नुवाकोटमा हारेपछि हतियार किन्न चाहन्थे । तर राज्य कोषमा पैसा थिएन । युद्ध जित्न योद्धा कुशल भएर मात्र हुँदैन हतियार चाहिन्छ । एकाबिहानै उठेर दरबारमा चिन्तित बनेका पृथ्वीनारायणसँग आमा कौशल्यवतीको प्रसङ्ग पनि उल्लेख छ ।
आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनेकी र सोही अनुसार भोलिपल्ट बिहानै राजा पृथ्वी नारायण शाह स्वयं बिसेको बिसेको घरमा पुगेको उदाहरण हिजोआजका नेताहरूका लागि मननयोग्य भएको लेखक तिम्सिनाले बताए ।
बिसेको सामरिक महत्वको सल्लाह
राजा नै घरमा आएको देखेर बिसे आश्चर्यचकित भएका थिए । राजाले नुवाकोट हारपछि फेरी लडाई गर्न हात हतियार चाहिएको बारेमा उचित सल्लाह मागेको कुरा पुस्तकमा छ ।
बिसेले ‘म जस्तोले के सल्लाह दिन सक्छु र’ भन्दा राजा पृथ्वीनारायणले भनेको ‘सल्लाह भनेको मान्छे सानो ठुलो पढेको नपढेको भन्ने हुँदैन’ कुरा पुस्तकमा छ ।
राजा पृथ्वीनारायणले लडाइका लागि १२ हजार दाम चाहिएको कुरा राखेपछि बिसेले खुदरा जम्मा पैसाहरू जम्मा गरेर एक मोहर बनाई राजाको हातमा चढाउँदै गोरखाको प्रत्येक घरधुरी बाट १/१ मोह उठाउन सल्लाह दिए अनुसार नेपाल एकीकरण सफल भएको जनश्रुति पुस्तकमा उद्धृत गरिएको छ ।
युद्धमा बिसेको सहभागिता
पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्ध सहित बिसे तेस्रो पटकको नुवाकोट युद्धमा पनि सामेल थिए । नुवाकोटको युद्धमा तिरधारे मोर्चाबाट पृथ्वीनारायण सँगै सहभागी भएको कुरा गोरखामा बिसेको सालिक सँगै राखिएको शिलालेखमा उल्लेख छ ।
स्याङ्जाको वहाबकोटमा बिसे नगर्चि चोक छ । यो चोकको नाम बिसेको लडाइमा सहभागिता रहेको स्मृतिमा राखिएको शिलालेख छ । शिलालेख अनुसार बिसेको जन्म वि.सं १७४६ र मृत्यु १८२८ मा भएको थियो । उनी ८२ वर्ष बाँचेका थिए ।
बिसे गोरखाको सिरान चोकको युद्धमा पनि सहभागी थिए । त्यहाँको युद्धमा लमजुङहरूलाई हराएका थिए । बिसेलाई बिम्बमा प्रयोग गरी २०६२/०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले लेखेको कविता निकै चर्चा पाएको थियो ।
लेखक तिम्सिनाको अन्य कृति
‘बिसे नगर्ची’ पुस्तक प्रकाशक लीला निरौला तिम्सिना छन् । पुस्तक १५६ पेजको छ । ४९ शीर्षकमा लेखिएको पुस्तक तिम्सिनाको १२ औ कृति हो । यस अघि तिम्सिनाले टेलिफोन डायरी २०६८ मोरङको सामुदायिकको चिनारी २०६९ मोरङको क्षेत्र २ चिनारी २०७० पथरी शनिश्चरे नगरपालिका चिनारी २०७७ जेसीज दस्ताबेज २०७७, २०७८ छन् ।
यस्तै धिमाल जातिको इतिहास २०७८ इतिहासमा पथरी शनिश्चरे २०७८ मोरङका जनप्रतिनिधि २०७९ माई खोलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास २०८० लगायतका दर्जन पुस्तकहरू प्रकाशित छन् ।