धरान : धरान उपमहानगरपालिको धरान-१२ स्थित चतरा लाइनमा जन्मिएका राजुकाजी शाक्यले फुटबलका माध्यमबाट देशलाई विश्व सामु चिनाउने काम गरेको छन् । उनको जन्म व्यापारी कुल घरानामा भए पनि व्यापारिक मानसिकतालाई चिर्दै उनले आफूलाई फुटबलरको रूपमा व्यक्तित्व बनाउँदै विश्वसामु पहिचान बनाई कीर्तिमान राख्न सफल भएका छन् ।
२०१७ असार २४ मा जन्मिएका शाक्य सानैदेखि फुटबलमा रुचि राख्थे । मोचा, प्लास्टिकका भकुण्डो बनाएर खेल्थे । फुटबल भनेपछि जहाँ पनि पुग्थे । उनले १७ वर्ष राष्ट्रिय टिमबाट फुटबल खेले । राष्ट्रिय टिमको क्याप्टेन पनि बने । थुप्रै राष्ट्रमा खेल्दा क्याप्टेनको भूमिका निर्वाह गरे । कोचको भूमिका निर्वाह गरे ।
उनको फुटबल जीवनको डकुमेन्ट्री निर्माण गरी प्रिमियर सो गरिएको छ । शाक्यको डकुमेन्ट्रीको प्रिमियर सो शनिबार गरिए तापनि दर्शकको थप माग बमोजिम पुन: आज बिहीबार डकुमेन्ट्री सो गरिएको उनका दाजु पूर्णकाजी शाक्यले बताए । पूर्णकाजीले राजुकाजीको बायोग्राफीको 'प्रिमियर सो'मा भने, ‘भाइले गरेको योगदानको कदर गरिएको हो। 'डकुमेन्ट्री सो' गर्नु चानचुने कुरा होइन ।’
पूर्णकाजीका अनुसार भाइ निकेतन स्कुलको ग्राउण्डमा खेल्ने गर्थे । बल किन्ने पैसा हुँदैन थियो । उनले भने, ‘दाजुभाईले बुवाको गोजीबाट १० रुपैयाँ चोरेर बल किनेको र निकेतन स्कुल दिनभर खेलको जीवनमा बिर्सन्न । यस्तो अवस्थाबाट राजु राष्ट्रियस्तरमा पुगेको थियो ।’ डकुमेन्ट्रीका निर्माता राजुकाजीका ज्वाइँ सञ्जय श्रेष्ठ हुन् ।
कार्यक्रममा बहिनी विद्या शाक्यले आफ्नो दाजुले फुटबलमार्फत मुलुकलाई विश्वमा चिनाउने काम गरेको बताइन् । उनले भनिन्, ‘दाजुले मुलुकलाई विश्वमा चिनाउनुभयो । राज्यले र समाजले योगदानको कदर गर्न सकेन ।’ राजुकाजीले धरानका क्लबदेखि सगरमाथा र कोशी अञ्चलका लागि पनि खेलेका थिए । त्यसपछि जनकपुर चुरोट कारखाना र तत्कालीन शाही नेपाल वायु सेवा निगम जस्ता टोलीको सदस्य भए । १७ वर्ष निरन्तर राष्ट्रिय टिमबाट खेले । ७ वर्ष त मुलुकको राष्ट्रिय टिमको कप्तान भए ।
उनले सातवटा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाए । ढाकामा सम्पन्न छैटौँ दक्षिण एसियाली खेलकुदमा आफ्नो कप्तानीमा मुलुकलाई स्वर्ण पदक दिलाए । दक्षिण एसियाली खेलकुदमा प्रशिक्षकका रूपमा समेत मुलुकलाई स्वर्ण पदक दिलाए । उनले विभिन्न राष्ट्रमा खेलेका छन् । मर्डेका कप मलेसिया, वर्ल्डकप क्वालीफाइङ काडमाण्डौं, मलेसिया र कोरियाबाट खेल्ने अवसरमा पाएका थिए । एसियन क्लब च्याम्पियन श्रीलङ्कामा बनेका थिए ।
साउन एसियन गेम्स ढाका बङ्गलादेश, पाकिस्तान, कोरिया, ओमान लगायतका मुलुकमा खेले । मौत्रीपुर्ण खेलमा जर्मनी, प्रि-ओलम्पिक जापान, चाइना थाइल्यान्ड, भारतलगायतका दर्जनौँ मुलुकमा खेलेका छन् । एसियन कपमा ढाकामा च्याम्पियन बनेका थिए । भिक्टोरिया क्लब बङ्गलादेशमा दुई पटक प्रोफेशन रूपमा खेलेका थिए । शाक्यले सन् १९८७ मा सोभियत सङ्घ र १९८७ मा पूर्वी जर्मनी र १९८९ मा पश्चिम जर्मनीविरुद्ध तीन वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टिमको नेतृत्व गरेका थिए । अहिले उनी राष्ट्रिय प्रशिक्षक छन् ।
उनले मस्ट भेलुएबल प्लेयर अफ द इयर स्टेटमेन्ट सोसाइटी लगायतका पृथवी पुरस्कार पनि प्राप्त गरेका छन् । कार्यक्रममा धरान उपप्रमुख अइन्द्र विक्रम बेघाले राजुकाजीलाई धरानको शान, मान र प्रतिष्ठानको रूपमा लिनुपर्ने बताए । उनले भने, ‘राष्ट्रको गहनाको डकुमेन्ट्रीले सम्मान हुँदैन । त्यो पनि परिवारले बनाएको मलाई लज्जावोध भइरहेको छ ।’
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले सरकारले खेलकुदलाई प्राथमिकता नदिएको बताए । एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले राजुकाजीले फुटबलमा जीवन समर्पण गरेको बताए । उनले भने, ‘डकुमेन्ट्री निर्माण गरेर विश्व फुटबलमा कोसेङ्गा साबित गर्नुभएको छ ।’ कार्यक्रममा जनता समाजवादीका धरान अध्यक्ष ताजुव लिम्बूले राजुकाजीले फुटबलबाट नेपालाई विश्वमा चिनाउने काम गरेको बताए ।
Rajukaji-Shakya-Football