धरान : अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो पटक सातै प्रदेशका जिल्लाहरूमा यु-१४ गर्ल्स र ब्वाइज अन्तर स्कुल फुटबल प्रतियोगिता सुरु गरेको छ ।
जिल्ला स्तरीय प्रतियोगितामा विजयी टिमहरू प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी हुन चयन हुनेछन् । सातै प्रदेशमा चयन भएका गर्ल्स र ब्वाइज टिमहरूको फाइनल प्रतिस्पर्धा काठमाण्डौमा हुनेछ ।
सुनसरी एन्फा अध्यक्ष नवीन राईले भने ‘नेपाली फुटबलमा एन्फाले यु–१४ को फुटबल प्रतियोगिता पहिलो पटक सुरु गरेको छ ।’ पछिल्लो समय नेपाली महिला फुटबल खेलाडीहरू अन्तर्राष्ट्रिय फुटबलमा चर्चित भइरहेको बेला यु-१४ फुटबलमा स्कुलहरूको गर्ल्स खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको उनले बताए।
एन्फाले पोहोर बाढी पहिरोमा परेर हेटौडा स्थित एन्फा एकेडेमीका ६ जना विद्यार्थीहरूको आसामयीक निधन भएको स्मृतिमा प्रतियोगिता सुरु गरेको हो । घट्नामा एकेडेमीका विद्यार्थीहरू अनुपम घलान, आदित्य बलम्पाखी, दिवस बानिया, प्रियन्स आचार्य, विकल रेग्मी र साइमन योञ्जनको असामयिक निधन भएको थियो ।
कोसी प्रदेशको सुनसरीमा आज सोमवार एकै साथ धरान स्थित एन्फा एकेडेमी गर्ल्सहरुको र इटहरीको तालतलैया र वराहक्षेत्रको भरौल विशाल चौकमा ब्वाइजहरुको प्रतियोगिता सुरु भएको छ ।
धरानमा भएको उद्घाटन खेलमा आदर्श मावि बराहक्षेत्रकी स्तुति राईले ३ गोलको ह्याट्रिक गरी पाञ्चायन माविलाई पराजित गरेको छ । यसैगरी दोस्रो खेलमा स्काई इङ्लिस स्कुलकी मनीषा लिम्बुले २ गोल गरी भरौल बाल मन्दिर विद्यालयलाई पराजित गरेको छ ।
धरानमा सुरु भएको गर्ल्स फुटबल प्रतियोगितामा १२ विद्यालय टिम सहभागी छन् । ब्वाइज प्रतियोगिता इटहरीमा १८ टिम र भरौलमा १८ टिम बिच प्रतिस्पर्धा हुने एन्फा अध्यक्ष राईले बताएका छन् ।
यसै बिच धरानमा प्रमुख अतिथि एन्फा सुनसरी सल्लाहकार मीनकुमार सुब्बाले निर्णायकलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता प्रारम्भ गरेका थिए । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ र वरिष्ठ पत्रकार हर्ष सुब्बाले प्रतियोगिताको सफलताको लागि शुभकामना प्रकट गरे ।
जिल्ला स्तरीय अन्तर विद्यालय प्रतियोगिता फाइनलमा विजेता र उपविजेता टिमलाई १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । अध्यक्ष नवीन राईका अनुसार गर्ल्स प्रतियोगिताको फाइनल धरानमा हुनेछ । ब्वाइजको २ वटा फाइनल विजेता टिम बिच धरानमा सुपर फाइनल हुनेछ ।