धरान : नेपाली फुटबलमा पछिल्लो पुस्तामा नयाँ मिथक बनेका पूर्वका तारा राजुकाजी शाक्यको फुटबल जीवनमा आधारित वृत्तचित्र धरानमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

‘राजुकाजी शाक्य बायोग्राफी डकुमेन्ट्री’ प्रदर्शनको तयारीमा धरान फुटबल क्लब लागेको हो । क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार डकुमेन्ट्री धरान फुटबल क्लबको संयोजनमा उनका परिवार सञ्जय श्रेष्ठ र सानुदेवी श्रेष्ठले निर्माण गरेका हुन ।

एन्फा प्रशिक्षकका रूपमा अहिले पनि क्रियाशील रहेको राजुकाजी शाक्यको उपस्थितिमा भदौ २९ गते वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए । कोशी प्रदेश फुटबल सङ्घ, सुनसरी जिल्ला फुटबल सङ्घको सहयोगमा वृत्तचित्र धरान-८ स्थित फ्रेण्डस् सिनेमा हलमा सशुल्क प्रदर्शन गरिने तामाङले जानकारी दिए ।

नेपाली फुटबलको पछिल्लो इतिहासमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने मुख्य भूमिका निभाएको राजुकाजी शाक्यको पहिचान स्थापित छ ।

धरान फुटबल क्लबद्वारा प्रेस विज्ञप्तिमा जारी गर्दै ‘नेपालमा फुटबल खेला जगतमा वहाँले गर्नुभएको योगदान तुलनात्मक रूपमा सबैभन्दा उच्च रहको छ’ भनी उल्लेख गरेको छ ।

राजुकाजी शाक्यले अन्तर्राष्ट्रिय क्लबहरू बङ्गलादेशको भिक्टोरिया र इस्ष्टर्न इण्ड क्लबबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए ।

प्रशिक्षकका रूपमा शाक्यले नेपाली राष्ट्रिय टिम, विभिन्न उमेर समूहका नेपाली राष्ट्रिय टिम, ए डिभिजन क्लबहरू त्रिभुवन आर्मी, एनआरटी, एपिएफ महिला टिम, मच्छिन्द्र क्लब, सङ्कटा, थी स्टार, एमएमसी लगायतका क्लबहरू भूमिका निभाएका छन् ।