• अनुषा थापा

अहिले निर्माण व्यवसायीहरू भनिरहेका छन् ‘हामीले काम गरे बापतको ६० अर्ब रकम सरकारले दिएको छैन ।’ कोरोना महामारीको समयमा स्वास्थ्य बिमा गराएका अस्पतालहरू पनि ११ अर्ब भुक्तानी नपाएको गुनासो गर्छन् । दुग्ध कृषकहरू पनि सरकारले सात अर्ब भुक्तानी नदिएको बताउँछन् । उखु किसानहरू भन्छन्, ‘हाम्रो पनि अर्ब भुक्तानी दिएको छैन सरकारले ।’

सरकारले जताततै भुक्तानी दिएको छैन । हरेक क्षेत्रमा बक्यौता तिर्न बाँकी नै छ । त्यो पनि लाख, करोड नभई अर्बौँ । सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसकेको छ । हामी सर्वसाधारणबाट पनि वार्षिक खर्बौँ राजस्व उठाइन्छ । यता, विदेशमा रगत पसिना बगाई कमाएर नेपाली युवाहरू यहाँ पैसा (रेमिट्यान्स) पठाउँछन् ।

अनि यी सबै पैसा कहाँ गयो ? अहिले जनप्रतिनिधि मात्र ३६ हजार छन् । यसमा वडाध्यक्ष, मेयर, उपमेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति सबै पर्दछन् । एउटै जनप्रतिनिधिले मासिक ५० हजारदेखि चार लाखसम्म तलब र सेवा सुविधा उपभोग गर्छन् । हरेकलाई सरकारी गाडी दिइएको हुन्छ । उनीहरूले चढ्ने सवारीसाधन पाँच लाखदेखि २५ करोड मूल्यसम्मको छ ।

उता, सरकारी कर्मचारीहरूको सङ्ख्या पनि उत्तिकै छ । अहिले करार, ज्यालादारी र स्थायी सेवा गरी लाखौँ कर्मचारी कार्यरत छन् । एउटै कर्मचारीले महिनाको ३५ हजारदेखि दुई लाखसम्म तलब खान्छन् । उनीहरूलाई पनि जनप्रतिनिधिलाई जस्तै महँगो सरकारी गाडी दिइएको हुन्छ । सुरक्षाकर्मीहरू लाखौँको सङ्ख्यामा छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा लाखौँ कर्मचारी कार्यरत छन् । उनीहरूले पनि मासिक २५ हजारदेखि लाखौँ रुपैयाँसम्म तलब बुझ्छन् । सेवा सुविधा अलग्गै हुन्छ । सरकारले सेवा निवृत्त भएपछि कर्मचारीहरूलाई पेन्सन दिँदै आएको छ । अहिले पेन्सन खाने कर्मचारीको सङ्ख्या मात्र लाखमाथि छ । उनीहरूलाई पेन्सन दिँदा मात्र राज्यको मासिक करोडौँ सकिने गरेको छ । 

यहाँ ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गताको सङ्ख्या ४० लाख छ । उनीहरूले मासिक एक हजारदेखि पाँच हजारसम्म भत्ता थाप्छन् । हाम्रो देशमा उद्योग, कलकारखाना छैन । आम्दानीको स्रोत कहीँ कतै छैन । जनता महँगी, बेरोजगारीका कारण मारमा परेका छन् । उनीहरू राज्यलाई राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसक्यो । यसको ब्याज मात्र मासिक अर्बौँ तिर्नुपर्छ । मुलुकको अधिकांश भूभाग त भारत र चीनले कब्जा गर्‍यो नै अब विदेशीसँग लिएको यो ऋण तिर्न नसके नेपाल नै नरहने अवस्था निम्तिएको छ । विदेशीले हामीलाई यत्तिकै यत्रो ऋण दिएको होइन ।

हाम्रो भूभाग राम्रो देखेर दिएको हो । केही गरी ऋण तिर्न नसके देशमाथि नै कब्जा जमाउने उनीहरूको दाउ छ । अहिले सरकार एउटाबाट ऋण ल्याएर अर्कोको साँबाब्याज तिरिरहेको छ । अर्कोबाट ऋण लिएर कर्मचारीलाई तलब खुवाउँछ । यसले विदेशी ऋण झन् झन् बढ्ने छ । २७ खर्ब रहेको विदेशी ऋण केही समयअघि ५२ खर्ब पुग्ने छ ।

अनि यो ऋण कहाँबाट पैसा ल्याएर तिर्छ सरकारले । नेपाल हजारौँ वर्षअघिको देश हो । यो हाम्रो स्वतन्त्र राष्ट्र हो । कहिले कसैको अगाडि नझुकेको देश हो, नेपाल । विगतमा विभिन्न देशमाथि कब्जा हुँदा नेपालमाथि हुन सकेनन् । यसको मतलब कसैले प्रयास नगरेको भने बिल्कुल होइन । हाम्रो मुलुकमाथि कब्जा जमाउन कयौँ पटक प्रयास भए ।

यद्यपि, सफल हुन सकेन । किनकि नेपालीहरू आफ्नो ज्यान जोखिममा राखेर देशको लागि लडे । त्यसैले, अहिले विश्वसामु नेपाल वीर गोर्खालीको राष्ट्र भनेर पनि चिनिन्छ । त्यहीँ वीर गोर्खाली देश आज विदेशीसँग आफ्नो मुलुक चलाउन ऋण माग्नुपर्ने अवस्थामा पुगेको छ । जुन समग्र नेपालीको लागि दुर्भाग्यको कुरा हो ।

राजनीतिक दलका नेताहरूले राष्ट्र र जनताको अवस्थामा परिवर्तन ल्याउने भन्दै देश नै बर्बाद पारिदिए । आज ऋणको बोझका कारण देशै विदेशीको हुने परिस्थिति सिर्जना भएको छ । पहिला पहिला मानिसहरूको एउटा घर र गोठ हुन्थ्यो । घर कच्ची माटोको हुन्थ्यो । घरमा मान्छे बस्थे भने गोठमा गाई, भैँसी, दाउरा राखिन्थ्यो ।

प्रत्येक मानिसको घरमा ३०/३५ मुरी खाद्यान्न हुन्थ्यो । कसैको घरमा त्यसको दोब्बर हुन्थ्यो । वर्ष भरी पुग्ने मकै, धान, गहुँ, तोरी, भटमासलगायत खाद्यान्न घरमै हुन्थ्यो । त्यति बेला केही पनि बाहिरबाट किन्नु पर्दैनथ्यो । नुन र कपडा मात्र किनिन्थ्यो । अरू सबै आफ्नै खेतबारीमा उब्जनी गरी खाइन्थ्यो । घर जस्तोसुकै भए पनि त्यति बेला मानिसहरू धनी थिए ।

तर, पछिल्लो समय गाउँदेखि सहरसम्म सिमेन्टका घर बनेका छन् । घरमा सिसै सिसा हालिएको हुन्छ । यद्यपि, त्यो रकम मानिसको नाममा हुँदैन । बैङ्क, वित्तीय संस्थाको नाममा हुन्छ । अर्कोतर्फ, अहिले गुन्द्रुकसम्म किनेर खाइन्छ । मानिसको घर त छ तर खेतबारी छैन । खेतबारी भए पनि गाउँमा बाझो छोडिएको छ । यसले उनीहरू खाद्यान्न किनेर खान्छन् । फेरि त्यो खाद्यान्न नेपालभित्रै उब्जनी भएको भए त ठिक्कै पनि थियो तर हामीले अहिले उपभोग गर्ने हरेक वस्तु तथा सेवा विदेशीबाट ल्याइएको हो ।

हामीले हाम्रो खेत बाँझो मात्र छोडिरहेका छैनौँ । विदेशीलाई धनी पनि बनाइदिएका छौँ । उनीहरूले जति भन्यो, त्यतिमै सामान किनेर खाइरहेका छन् । नेपालको धेरै भूभाग घर र बाटोले मासिएको छ । बाँकी अधिकांश जमिन पनि बाँझै रहँदा उब्जनी दिनप्रति दिन घट्दो छ । सरकोरवालाहरु जमिनमा घर बनाउनभन्दा पनि खेतीपाती गर्नमा जोड दिँदैनन् ।

यसले एकातिर देशमा व्यापार घाटा बढ्दो छ भने अर्कोतिर भोकमरीको सङ्केत देखिएको छ । यदि भविष्यमा विदेशीले खाद्यान्न निर्यातमा रोक लगाइदिए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउने छ । केही वर्षयता मानवीय स्वास्थ्यमा विभिन्न खालका रोग देखिन थालेका छन् । सुगर, प्रेसर, माटोपन जटिल समस्या बन्दै गएको छ ।

जबकि तीन/चार दशकअघि सुगर कसैमा देखिदैँन्थ्यो । न त माटोपन नै हुन्थ्यो । किनकि त्यति बेला मानिसहरू काम गर्थे । बिहानै पानी लिन घण्टौँको बाटो हिँडेर धारा पुग्थे । त्यति नै बाटो हिँडेर खेतबारी जानुपर्थ्यो । त्यो पनि मलको बारी बोकेर । त्यस बेला मानिसहरू भातभन्दा पनि ढिँडो खान्थे । तर, अहिले भात मात्र खाइन्छ ।

अर्कोतर्फ, खेतबारी कसैको छैन । पानी पनि घरमै आउँछ । अहिले मानिस बिहान ढिलोसम्म सुत्छन् अनि जथाभाबी खाना खान्छन् । काम चाहिँ केही गर्दैनन् । यसले पनि मानवीय स्वाथ्यमा विभिन्न खालका रोग देखिन थालेको हो । कोही पनि रोग देखिएपछि बिहान दौडिन्छन् । पहिला काम गरेर जीउ स्वस्थ राखिन्थ्यो भने अहिले शरीर स्वस्थ राख्न मर्निङ वार्कमा हिँडिन्छ ।

यता, दलाली, भूमाफियाहरुले जग्गाको मूल्य एकाएक बढाए । र, सबै मानिस घरजग्गा किन्न वा बनाउनतर्फ मात्र लागे । यसले उद्योग, कलकारखानामा लगानी गर्ने घटेसँगै मुलुकमा रोजगारीको अवसर पनि सिर्जना हुन नसकेको हो । दलालीहरूकै कारण आज रोजगारीको खोजीमा नेपालीहरू बिदेसिनु परिरहेको छ ।

२०३२ सालसम्म नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गर्दथ्र्यो । अहिले विदेशीले एक हप्ता मात्र खाद्यान्न नपठाए हामी भोकभोकै मर्नुपर्छ । नेताहरूले देश विकास गरे । तर, देशै विदेशीलाई बेचेर । योभन्दा ठुलो विकास के हुन सक्छ । राजनीतिक दलहरूले अब देशका लागि के चाहिँ गर्न बाँकी छ ? नेताहरूले देश मात्र बेचेका छैनन् । जनता पनि विदेशीलाई बेचेका छन् । नेपालीलाई रोजगारीको नाममा भेडा बाख्राझैँ विदेशमा बेचिएको छ । अब जनता र सञ्चारकर्मी दुवैको आँखा खोलिनुपर्छ । सञ्चारकर्मीहरूले देश र जनताको लागि कलम चलाउनुपर्‍यो ।